एकल साँझका लागि विमल नेपाल आउँदै

Bimal-Dangiकाठमाडौं : डेढ वर्षदेखि अमेरिका बस्दै आएका एक समयका चर्चित लोकगायक विमल डाँगी सांगीतिक प्रस्तुतिका लागि नेपाल आउने भएका छन् । विन्ध्यवासिनी म्युजिक प्रालिले गत वर्षबाट आयोजना गर्न थालेको एकल साँझ कार्यक्रममा आफ्नो प्रस्तुति दिन डाँगी नेपाल आउन लागेका हुन् । महिला तथा बालबालिकाको सहयोगार्थ ‘विमल डाँगी एकल साँझ २०७०’ आयोजना गर्न लागिएको विन्ध्यवासिनी म्युजिक प्रालिले जनाएको छ ।
अघिल्लो वर्ष विन्ध्यवासिनी म्युजिक प्रालिले भक्तराज आचार्य संगीत प्रतिष्ठानको सहयोगार्थ सत्यस्वरूप साँझ आयोजना गरेको थियो । कार्यक्रम आयोजनाको खर्च कटाएर करिब दश लाख रुपियाँ कम्पनीले प्रतिष्ठानलाई प्रदान गरेको थियो । प्रत्येक वर्ष विभिन्न समाजिक क्षेत्रमा सहयोग पुर्‍याउने हेतुले आयोजना गर्दै आएको एकल साँझमा यस वर्ष महिला तथा बालबालिकाको सहयोगार्थ विमल डाँगी एकल साँझ गर्न लागेको विन्ध्यवासिनी म्युजिकका प्रबन्ध निर्देशक सुवास रेग्मीले बताए । रेग्मीले एकल साँझ कार्यक्रमबाट संकलन भएको रकम विन्ध्यवासिनी कल्याणकारी कोष स्थापना गरी त्यसमा जम्मा गरिने बताए । उनले भने, ‘कोषमा संकलन भएको रकम महिला तथा बालबालिकाको क्षेत्रमा सहयोग गर्ने छौँ ।’
यस्तै, कार्यक्रमबाट प्राप्त मुनाफाले अनाथ आश्रममा आश्रित विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्ने योजना रहेको विन्ध्यवासिनीले जनाएको छ । तीन घन्टासम्म लगातार चल्ने विमल डाँगी एकल साँझ चार चरणमा सम्पन्न हुनेछ । गीतसंगीत प्रस्तुतिको यो साँझमा संगीतकर्मी सम्मान र पत्रकार सम्मानको कार्यक्रम पनि रहनेछ । कार्यक्रमका लागि स्वदेश तथा प्रवासमा बस्ने संगीतकर्मी र संगीतकर्मी नेपालीहरूले आथिर्क सहयोग उपलब्ध गराइरहेको आयोजक म्युजिक कम्पनीले जनाएको छ ।
यो साँझमा संगीत साधक भक्तराज आचार्यलाई पशुपति म्युजिक प्रालिको प्रायोजनमा नगद ५० हजार एक रुपियाँसहित संगीतकर्मी सम्मान प्रदान गरिँदैछ भने विभिन्न सञ्चारमाध्यममा आबद्ध सञ्चारकर्मीलाई हाइलाइट्स नेपालको प्रायोजनमा नगद राशीका साथ गीतसंगीत पत्रकारिता सम्मान प्रदान गरिँदै छ । अपरान्ह ४ बजेदेखि एनटिभी प्लसले प्रत्यक्ष प्रसारण तथा अमेरिकाको ह्वाइट हिमाल टिभीले समेत प्रसारण गर्ने एकल साँझमा लोकगायक डाँगीले आफ्ना झण्डै डेढ दर्जन लोकप्रिय गीत गाउने छन् । (सौस)

प्रतिक्रिया