एमालेका स्थानीय नेतासहित कार्यकर्ता कांग्रेसमा

Sun-Umlदोलखा, ९ असोज । नेकपा एमालेमा झण्डै २३ वर्षदेखि सक्रिय नेता प्रवीण खड्कासहित पाँच सय कार्यकर्ता नेपाली कांग्रसमा प्रवेश गरेका छन् ।

खड्का खासगरी दोलखाको उत्तर–पश्चिमका गाविसहरूमा लोकप्रिय मानिन्छन् । २०५४ सालको स्थानीय चुनावमा चिलंखा गाविसको अध्यक्ष निर्वाचित भएका उनी दुईपटक जिल्ला कमिटी सदस्य बनिसकेका छन् । उत्तर–पश्चिमका गाउँहरूमा प्रभावशाली मानिएका खड्का चिलंखा, खोपाचागु, विगु, आलम्पु, कालिञ्चोक, बाबरे, लादुकलगायतका गाउँहरूमा उनी लोकप्रिय छन् ।
कांग्रस प्रवेशपछि खड्काले एमाले गलत बाटोमा लागेर मुलुकलाई अस्तव्यस्त बनाएका कारण आफूले एमाले परित्याग गरेको बताए । ‘कम्युनिष्टहरूका कारण संविधान बनेन,’ उनले भने, ‘प्रजातन्त्रको पुरानो हिमायती पार्टी कांग्रेसको बहुमत आएमा मात्र संविधान बन्ने निष्कर्ष निकालेकोले कांग्रेस प्रवेश गरेको हुँ ।’ उनले दोलखाको उत्तरी क्षेत्रमा कांगेसलाई बहुमत दिलाएर पहिलो पार्टी बनाउने घोषणासमेत गरे ।
कार्यक्रममा खड्कासहित पाँच सय जना एमालेका कार्यकर्ता र २५ जना एकीकृत माओवादीका कार्यकर्ता कांग्रेस प्रवेश गरेका थिए । प्रवेश गर्ने अन्यमा युवा संघकी जिल्ला सदस्य सोफिया खड्का, अनेम संघकी जिल्ला कमिटी सदस्य धुाम्मावती जिसी, २०५४ सालका वडाध्यक्ष एवं एमालेका सक्रिय स्थानीय कार्यकर्ताहरू सोनाम लामा, सोनाम शेर्पा, विरे तमाङ छन् । यस्तै, गाउँका सक्रिय एमाले कार्यकर्ताहरू भैरवा जोशी, इन्द्रबहादुर खड्का, मिनबहादुर श्रेष्ठ, हरिमायाँ गुरुङ, देवकुमारी गुरुङ, निरमाया थामी, सीताराम श्रेष्ठसहितका दर्जनौँ कार्यकर्ताले एमालेको संगठित सदस्यता त्यागेको घोषणा गर्दै कांग्रेसमा प्रवेश गरेका छन् ।
यस्तै, एमालेको प्रभाव ठानिएका नौवटै वडाका अधिकांश बस्तीमा एमालेको संगठन भत्किएको एक स्थानीयले बताए । नौवटै वडाका सबै जसो बस्तीहरूबाट कार्यकर्ता कांग्रेसमा प्रवेश गरेको जिल्ला सभापति ताराबहादुर कोइरालाले बताए । ‘प्रवेश गर्नेको संख्या अझै बढी थियो,’ उनले भने ‘५० का दरका १० वटा सदस्यता प्याड मात्र बोकेर गएका थियौँ ।’ उनले चिलंखामा पुन: पार्टी प्रवेश कार्यक्रम छिट्टै राखिने बताए ।
कार्यक्रममा कांग्रेसका नेता जिपछिरिङ लामा, जिल्ला सभापति ताराबहादुर कोइराला, जिल्ला नेता ईश्वर मानन्धर, सचिव केशवराज चौलागार्इं, सन्तोष रिमाल, क्षेत्रीय सभापतिहरू राजु उप्रेती र दावादोर्जे लामा, तरुण दलका जिल्ला अध्यक्ष जयराम श्रेष्ठ, विद्यार्थी नेता सन्तोष पाण्डे, जिल्ला सदस्य आङनिमा शेर्पा, लोकराज पाठक, कांग्रेसका स्थानीय नेताहरू मधुकर गुरुङ, सरोज खड्कालगायतले बोलेका थिए । कार्यक्रममा १५ सय बढी स्थानीयको उपस्थिति थियो ।
कालिञ्चोक गाविसका पूर्वगाविस अध्यक्ष धनवीर थामीसमेत कांग्रेस प्रवेश गरेका छन् । कालिञ्चोक गाविसमा एमालेबाट निर्वाचित पूर्वगाविस अध्यक्ष थामीसमेत त्यस क्षेत्रमा लोकप्रिय हुन् । उनलाई आइतबार सदरमुकाम चरिकोटस्थित कांग्रेसको जिल्ला कार्यालयमा जिल्ला सभापति कोइरालाले टिकोटालो गराएका थिए । थामीले कालिञ्चोक गाविसलाई समेत कांग्रेस मय बनाउने उद्घोष गरे । यसअघि कालिञ्चोक गाविसमा आयोजित कार्यक्रममा उनकै पहलमा कालिञ्चोक गाविसका एमालेका पाँच दर्जन कार्यकर्ता कांग्रेस प्रवेश गरेका थिए ।
दोलखा/डेढ महिनाअघि मार्वु गाउँमा गएको पहिरोबाट घरबार गुमाएकाहरूलाई यहाँस्थित एक सामुदायिक रेडियोले राहत संकलन गरी बुधबार स्थानीय प्रशासनमार्फत हस्तान्तरण गर्‍यो । डेढ महिनाअघि मार्वु गाँमा पहिरोले स्थानीय पाले थामीको घर पुग्दा उनीसहित पाँच जनाको परिवार गुमेको थियो ।
चरिकोटबाट प्रशारण हुँदै आएको कालिञ्चोक एफएमले उनको परिवारका सदस्यहरूलाई डेढ महिना लगाएर संकलन गरेको ७० हजार राहत बुधबार बाँडेको हो । घटना लगत्तै रेडियोले आफ्नो फेसबुक पेज र अनलाइन साथै रेडियोमार्फत राहत संकलन गरेको थियो ।
पहिरोमा पुरिएर ८४ वर्षे पाले उनकी श्रीमती शिवलक्ष्मी, छोरी जमुना, नाती विनोद र नातिनी सञ्जुले गत ७ साउनमा ज्यान गुमाएका थिए । पालेका चार छोरीमध्ये जमुनाकी छोरी निर्मली विद्यालयमा बसेकी कारण घटनामा बचेकी थिइन् । आमा गुमाएकी उनलाई रेडियोले उच्चशिक्षा अध्ययनका लागि ३० हजार राहत दिएको छ । यस्तै, मावलमा हजुरबा र हजुरआमासँग बसेका छोरा विनोद गुमाएकी कसाइनी थामीलाई २० हजार र पालेकी अर्की छोरी भद्रमया र लालकुमारीलाई १०/१० हजार रुपियाँ सहयोग गरिएको रेडियोका स्टेसन म्यानेजर जीवन लामाले जानकारी दिए ।
राहत रकम पीडित परिवारलाई बुधबार प्रमुख जिल्ला अधिकारी प्रल्हाद पोखरेलले पीडित परिवारलाई हस्तान्तरण गरेका थिए । राहत वितरण गर्दै सिडिओ पोखरेलले सामुदायिक रेडियोले आफ्नो सामाजिक दायित्व पूरा गरेकोप्रति आभारी प्रकट गरे ।
रेडियोले सामाजिक सञ्जाल र अनलाइनमार्फत सुरु गरेको अभियानमा विदेशमा रहेका दोलखावासी र नेपालीहरूले बढी सहयोग गरेका थिए । यसअघिसमेत रेडियोले गत वर्ष बजेट अभावमा समस्यामा परेको चरिकोटको अनाथ आश्रमलाई यसैगरी सहयोग संकलन गरी राहत वितरण गरेको स्टेसन म्यानेजर लामाले जानकारी दिए । यसरी अफ्टेरामा परेकाहरूका लागि सहयोग गर्न भन्दै रेडियोले कालिञ्चोक इमर्जेन्सी फन्ड सञ्चालनमा ल्याएको रेडियोका अध्यक्ष दीपक बस्नेतले बताए । एफएमले सुरु गरेको अभियानका लागि इजरायलमा बसोबास गर्ने दोलखावासीहरूले हालै ५० हजार संकलन गरी पठाएका छन् । त्यसैगरी, अन्य विदेश र जिल्ला रहेकाहरूबाट २० हजार एक सय ३५ रुपियाँ संकलन भएको थियो । असल शासन समन्वय समितिद्वारा सञ्चालित उक्त रेडियो जिल्लाको पहिलो सामुदायिक एफएम हो । दोलखामा हाल एक निजी र चार सामुदायिक गरी पाँचवटा रेडियो सञ्चालनमा छन् ।

प्रतिक्रिया