कांग्रेसको छनोटमा विकटबाट टिकट

Nepali Congressकाठमाडौं, ९ असोज । कांग्रेसको संसदीय समितिले टिकट वितरणका लागि कार्यविधि र उम्मेदवार छनोटको प्रक्रिया सुरु गरेको छ । कांग्रेसले त्यसका लागि छलफल चलाएको छ । राजधानीमा मंगलबार बसेको समितिको पहिलो बैठकले उम्मेदवारी दिने व्यक्तिको छनोटको कार्यविधि र मापदण्डका विषयमा छलफल गरेको हो । सोही कार्यविधिका आधारमा समितिले क्षेत्र र जिल्लाबाट सिफारिस भएका उम्मेदवारको नाम टुंगो लगाउने सदस्य विमलेन्द्र निधिले जानकारी दिए ।

कार्यविधि तयार भएपछि कांग्रेसले दुर्गम क्षेत्रका १९ जिल्लाका उम्मेदवारको पहिला छनोट गर्ने जनाएको छ । कांग्रेसले क्षेत्रीय समितिको सिफारिस, उम्मेदवारको जनप्रियता, योग्यता, क्षमता, प्रभावकारिता र निरन्तरतालाई आधार बनाएर टिकट दिनेछ । ‘कुनै व्यक्ति विशेषभन्दा पनि राष्ट्रिय जीवनमा योगदान दिएकालाई टिकट दिनु पर्छ,’ एक नेताले जानकारी दिए, ‘सबैलाई कसरी समेटेर प्रतिनिधित्वको सुनिश्चितता दिन सकिन्छ भन्नेबारेमा पनि छलफल भएको छ ।’ कांग्रेसले सबै क्षेत्रबाट प्रतिनिधित्व हुने गरेर उम्मेदवार बनाउने बताउँदै आएको छ ।
यसअघि सोमबार मात्रै कांग्रेसले समिति गठन गरेको थियो । समितिमा सभापति सुशील कोइराला, शेरबहादुर देउवा, उपसभापति रामचन्द्र पौडेल, महामन्त्रीद्वय प्रकाशमान सिंह र कृष्णप्रसाद सिटौला, कोषाध्यक्ष चित्रलेखा यादव, सह–महामन्त्री पूर्णबहादुर खड्का, केन्द्रीय सदस्यहर रामशरण महत, अजुर्ननरसिंह केसी, गोपालमान श्रेष्ठ, विमलेन्द्र निधि, सुजाता कोइराला, आनन्दप्रसाद ढुंगाना र फर्मुल्लाह मन्सुर छन् ।

प्रतिक्रिया