काठमाडौं, ८ असोज । पूर्वप्रधानमन्त्री एवं राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष सूर्यबहादुर थापाले नेकपा माओवादी सहभागी नहुने चुनावलाई ‘ग्रहण’ लागेको खण्डित संविधान सभाको संज्ञा दिएका छन् ।
काठमाडौंको मालीगाउँस्थित आफ्नै निवासमा सोमबार पत्रकार सम्मेलन गरेर थापाले नेकपा माओवादीलाई चुनावमा सहभागी गराउनै पर्ने बताए । ठूला राजनीतिक शक्ति र सरकारले गम्भीर भएर नेकपा माओवादीसँग वार्ता नै नगरेको आरोप लगाए ।
‘नेकपा माओवादी सहभागी नहुने चुनाव भोलि गएर ठूलो प्रश्न उठनेछ,’ उनले भने, ‘सूर्यग्रहण लागे जस्तै बैद्य माओवादी सहभागी नहुँदासम्म संविधानसभामा ‘ग्रहण’ लाग्छ ।’
‘सूर्यग्रहण लाग्दैमा सूर्य उदाउँदैन भन्ने होइन,’ थापाले भने, ‘ग्रहण लाग्दा गरिने धार्मिक कार्य गरेजस्तै वार्तामार्फत चुनावमा उनीहरूलाई सहभागी गराउनुपर्छ ।’ उनले नेकपा माओवादीसँगको वार्ता र संवाद सही रूपमा हुनै नसकेको बताए ।
मागलाई सम्बोधन गर्ने विषयमा गम्भीर छलफल र बहस हुनुपर्नेमा सो कार्य हुन नसकेको अध्यक्ष थापाको आरोप छ । ‘माग राख्ने अधिकार जसको पनि हुन्छ,’ उनले भने, ‘गम्भीर बहस र छलफल गर्ने हो भने लेनदेनका आधारमा सहमति भइहाल्छ ।’
एमाओवादी, कांग्रेस, एमाले र मधेसी मोर्चासहितका चार राजनीतिक शक्तिले नेकपा–माओवादीलाई चुनावमा सहभागी गराउन गम्भीर बहस र छलफल चलाउनुपर्ने उनको भनाइ छ । अध्यक्ष थापाले नेकपा माओवादी बेगरको चुनावले दीर्घकालमा पुगेर मुलुकलाई ठूलो असर पर्ने चेतावनी पनि दिए ।
नेकपा माओवादीलाई सबैले शक्तिका रूपमा स्वीकार गरिसकेपछि दोस्रो संविधानसभा चुनावमा ल्याउन पहल नगर्नु भनेको समस्या समाधान गर्न नचाहनु नै रहेको थापाले बताए । ‘संसद्को चुनाव भएको भए नेकपा (माओवादी)लाई बाहिर राख्दा पनि केही हुने थिएन,’ उनले भने, ‘संविधानसभा र नयाँ संविधान बनाउने कार्यमा एउटा शक्तिलाई बाहिर राख्दा इतिहासमा रेकर्ड रहिरहनेछ ।’
मंसिर चार गतेको चुनावमा राप्रपा चुनावी प्रक्रियामा भाग लिन तयार भएर बसेको भए पनि उनले आफू प्रत्यक्षतर्फ उम्मेदवारी नदिने बताए । ‘धनकुटाको भौगोलिक विकटताका कारण मैले प्रत्यक्षमा उठ्न नचाहेको हुँ,’ उनले भने, ‘८६ वर्षको भइसकेँ । प्रत्यक्षमा उठ्दिनँ भनेको हुँ, राजनीति छाड्छु भनेको होइन ।’
संविधानसभाको चुनावलाई लिएर विभिन्न अड्कलबाजी र टीकाटिप्पणी भइरहेका बेला पूर्वप्रधानमन्त्री थापाले नेकपा माओवादीलाई जसरी पनि सहभागी गराउनुपर्ने विचार व्यक्त गरेका हुन् ।
प्रतिक्रिया