सक्छौ भने सेना परिचालन गरेर देखाऊ : गजुरेल

CP-Gajurel-Souryadailyपोखरा ८ असोज । नेकपा–माओवादीका उपाध्यक्ष सिपी गजुरेलले ४ मंसिरामा हुने भनिएको दोस्रो संविधानसभाको निर्वाचनमा सेना परिचालन गरेर देखाउन सरकारलाई चुनौती दिएका छन् ।

सरकारले अन्तरिम संविधानको धारा १४५ ­(५) को व्यवस्था बाधा अड्काउफुकाउको आदेशमार्फत संशोधनका लागि गृहकार्य सुरु गरिरहेको समाचारबाहिर आइरहेका बेला
गजुरेलले यस्तो चेतावनी दिएका हुन् ।
सोमबार पोखरामा माओवादी नेतृत्वको ३३ दलीय मोर्चाले आयोजना गरेको विरोधसभालाई सम्बोधन गर्दै गजुरेलले आफूहरूले जनयुद्ध थालेको पाँच वर्षसम्म सेना परिचालन नभएको स्मरण गर्दै अहिले युद्ध नभएका बेला केका लागि सेना परिचालन गर्ने भन्ने प्रश्न गरे । उनले सेना परिचालनको विश्वव्यापी मान्यता भनेको राष्ट्रमा कुनै बाह्य सुरक्षा खतरा रहेको अवस्थामा मात्र सेना परिचालन हुन सक्ने औँल्याउँदै उनले भने, ‘अहिले नेपाललाई कुनै बाह्य सुरक्षाको खतरा छैन र विगतमा युद्ध सुरु भएको पाँच वर्षसम्म सेना परिचालन गरिएको थिएन ।’ उनले थपे, ‘अहिले सेना परिचालन गर्नुभनेको निर्दोश जनतालाई गोली ठोक्न र सैनिक शासन लगाउन मात्र हो ।’ उनले सेना परिचालन गरिएको अवस्थामा आन्दोलनको स्वरूप फेरिने र सेनालाई अगाडि सारेर राष्ट्रपति शासन लागु गरेको भनेर आन्दोलन त्यतातर्फ केन्द्रित गर्ने आशय भएको बताए । त्यतिबेला निर्वाचनको कुरा पर सारिने उनको भनाइ थियो ।
पहिलो संविधानसभा देशमा राजतन्त्र फालेर गणतन्त्र ल्याउनका लागि भएको भए पनि त्यसको विघटन गरेपछि संविधानसभाको औचित्य समाप्त पारिएको उनको धारणा छ । उनले भने, ‘दोस्रो संविधानसभा भनेको नेपाललाई फिजीकरण र सिक्किमीकरण गर्ने योजनाका साथ रचिएको प्रपञ्च हो ।’ उनले यो निर्वाचनमा भाग लिनेभन्दा बहिस्कार गर्ने जनता धेरै हुने बताए । उनले अब आफ्नो पार्टी जंगल पनि नजाने र हतियार पनि नउठाउने प्रष्ट पारे । जनताकै बीचबाट जनआन्दोलनमार्फत सत्ता परिवर्तन गर्ने अवस्थामा आएको बताउँदै अब चार दल र भारतीय दलालहरू जंगल जाने बेला आएको उनको प्रतिक्रिया थियो ।
निर्वाचन तालिकामा कुनै पनि फेरबदल गर्न मिल्दैन भन्ने निर्वाचन आयोगले ९ र १० असोजमा मनोनयन दर्ताको कार्यतालिका सार्नुका मुख्य उद्देश्य मुख्य दलहरूका बीचमा उमेद्वार छनोटमा देखिएको विवाद र आफूहरूले गरेको नेपाल बन्दको आह्वान कारक भएको उनको दाबी छ । यदि ९/१० गतेका लागि तोकिएको समयमा मनोनयन दर्ता गराउने प्रयास गरिएको भए राजधानी काडमाडांै र पोखरा जस्ता सहरमा बाहेक अन्त कतै पनि मनोनयन दर्ता गर्न दलहरू सक्षम नहुने उनको दाबी थियो । निर्वाचन मनोनयनको त सुरक्षा गर्न नसकेर मनोनयन दसँैको घटस्थापना पुर्‍याउने सरकारले निर्वाचनको सुरक्षा गर्ने कुरा कल्पनाबाहिरको भएको उनले टिप्पणी गरे । नेता गजुरेलले अब मनोनयनका बेला घटस्थापना परेकाले बन्दको कार्यक्रम नगरी सम्भावित उमेद्वार र उनका परिवारलाई पनि भेटघाट कार्यक्रम गर्ने उनले बताए ।

प्रतिक्रिया