६० वर्षमा कक्षा ८

Sushma-Baidhyaकाठमाडौं, ८ असोज । नेकपा–माओवादी अध्यक्ष मोहन वैद्यकी पत्नी सुषमा ६० वर्ष पुग्न लागिन् । तर, सुषमा आफ्ना छोराछोरीभन्दा कम उमेरका सहपाठीका साथ पढ्न हरेक दिन झोलामा किताब–कापी बोकेर स्कुल धाउँछिन् । यसरी नै स्कुल धाएर उनी यस वर्ष ८ कक्षामा पुगेकी छन् ।

सुषमा, एमाओवादी नेता पोष्टबहादुर बोगटीकी पत्नी राममाया, कृष्णबहादुर महराकी पत्नीका साथ गोंगबुस्थित चेतना माध्यमिक विद्यालयमा भर्ना भएकी थिइन् । महरापत्नीले स्वास्थ्य समस्याका कारण ५/६ महिनामै स्कुल छाडिन् भने राममायाले सुषमासँगै अध्ययनलाई निरन्तरता दिइरहेकी छन् । राममाया कक्षा ६ मा पुगेकी छन् । तर, राममाया नियमित नभए पनि सुषमाले भने स्कुल नछुटाउने गरेको विद्यालयले जनाएको छ ।
नेताकी श्रीमती भए पनि सुषमामा त्यस्तो प्रकारको घमण्ड नपाइएको विद्यालयकी प्रिन्सिपल कृष्णदेवी श्रेष्ठ बताउँछिन् । ‘उहाँमा नेताकी श्रीमती हँु भन्ने घमण्ड मैले कैले देखेकी छैनँ,’ श्रेष्ठले सौर्यसँग भनिन्, ‘अरू त कुरै नगरौँ । विद्यालयभित्र छिरेपछि उहाँले राजनीतिलाई पनि शिक्षासँगै जोड्नुहुन्छ ।’
नैतिक शिक्षा पढाउने शिक्षिका शान्ता पण्डित पनि सुषमाको पढाइप्रतिको लगाव देखेर दंग छिन् । ‘उहाँजति मिहिनेती यो स्कुलमा अहिलेसम्म कसैलाई देखेकी थिइनँ,’ पण्डितले सौर्यसँग भनिन्, ‘उहाँ कक्षाकोठामा बसेपछि यताउती पनि नगरी पढिरहनुहुन्छ ।’
शिक्षिकाहरूका अनुसार उनी पढाइमा मात्र ध्यान केन्द्रित गर्छिन् । सिक्न र जान्न उत्तिकै चासो राख्छिन् । उनको ‘हेन्ड्राइटिङ स्पिड’ भने अलि कम छ ।
सुषमाको अनुभवमा पढाइ तथा लेखाइमा धेरै सुधार भएको छ । पारिवारिक कामका कारण लेखपढमा समस्या आउँदा भने उनलाई दु:ख लाग्दोरहेछ । निरन्तर पढ्न नपाएका कारण उनी परीक्षामा फेलसमेत भएकी रहिछिन् । ‘केही काम गर्दा पास र फेल त भइहालिन्छ नि †’ उनी भन्छिन् ‘पढ्न गाह्रो पनि रहेछ, कहिलेकाहीँ पढ्न नपाएर फेल हुँदा निद्रा नै लाग्दैन ।
घर बस्दा नेता तथा कार्यकर्ता आइरहने हुँदा उनी होमवर्क गर्नका लागि साथी सरस्वती पाठकको निवाससमेत जाने गर्छिन् । सुषमासँगै पढाइ थाले पनि स्वास्थ्यका कारण आफूले निरन्तरता दिन नपाएको सरस्वतीको भनाइ छ । ‘उहाँ त पढाइ मात्र होइन, अतिरिक्त क्रियाकलापमा भागसमेत लिनुहुन्छ,’ सरस्वतीले सुनाइन्, ‘तिजको अवसरमा आयोजित कार्यक्रममा उहाँ सुरुदेखि अन्तिमसम्म नाच्नुभयो ।’
सुषमा विद्यालय आएपछि ‘क्रान्ति नै भएको’ विद्यालय प्रशासनले जनाएको छ । ‘पाँच शिक्षिका र दुई विद्यार्थीका साथमा स्कुल खोलेका थियौँ,’ प्रिन्सिपल श्रेष्ठ भन्छिन्, ‘अहिले त ३ सयभन्दा बढी विद्यार्थी छन् ।’ पढ्नलाई उमेरले छेक्दैन भन्ने सुषमाको देन नै विद्यालयको प्रगतिमा प्रमुख कारक रहेको श्रेष्ठको भनाइ छ ।
विद्यालयका अनुसार कक्षा सातमा उनी १ सय ७६ दिन स्कुल गएकी थिइन् । भ्याउँदासम्म आफूलाई विद्यालय छुटाउन मन नलाग्ने बताउने उनलाई साइन्स गाह्रो विषय रहेछ । ‘मलाई साइन्स अलि गाह्रो लाग्छ । म्याथ पनि ठिकठिकै मात्र छ,’ उनी भन्छिन्, ‘हामी के–के भन्छौँ नि त्यही इंग्लिस पो मलाई सजिलो लाग्छ ।’ कक्षा सातमा अंग्रेजीमा उनले सबैभन्दा बढी ५० नम्बर ल्याएकी रहिछिन् ।
जीवनमा धेरै कुराको अनुभव भए पनि शिक्षाको अनुभव नभएकाले आफूले विद्यालय धाएको उनको भनाइ छ । ‘बेलामै आमाबुबाले पढाइदिएको भए यति बेला आफूले देशको कुनै जिम्मेवारी लिन्थेँ जस्तो लाग्छ,’ सुषमा भन्छिन्, ‘बेलामै नपढेकाले धेरै पछुतो लागेको छ । अहिले भने सुषमा कखरा मात्रै होइन, कम्प्युटरमा नेपाली र अंग्रेजी दुवै भाषा लख्नपढ्न सक्ने भएकी छन् ।
ढिलै भए पनि विद्यालय जानाले धेरै कुरा बुझेको उनले सुनाइन् । राजनीति पहिले नबुझ्दा राम्रो लागे पनि अहिले घिनलाग्दो लागेको उनी बताउँछिन् । ‘विश्वास गरेकाहरूले पनि घात गर्दा रहेछन्, सोच्नै नसक्ने काम गरिरहेका छन्,’ उनको बुझाइ छ, ‘पढ्दै बुझ्दै जाँदा त घिनलाग्दो रहेछ राजनीति ।’
पढ्न मन भए पनि अरूले के भन्छन् कि भनेर विद्यालय नजानु भनेको पछि पर्ने काम हो भन्छिन् उनी । काम गर्नेलाई उमेरले नछेक्ने उनको ठम्याइ छ । ‘म ६० पुग्न लागेँ तर मलाई सिक्न कुनै सरम छैन,’ उनी भन्छिन्, ‘पढ्न लाग्दा भने उमेर नै बिर्संदोरहेछु, १४/१५ की केटीजस्तै लाग्छ आफूलाई ।’

प्रतिक्रिया