मधेस भन्ने मात्रै, भर पहाडकै

nc n maoकाठमाडौं, ८ असोज । राजनीतिक दलका शीर्षनेताहरूले संविधानसभाको दोस्रो चुनावमा तराई–मधेसलाई दोस्रो प्राथमिकतामा मात्र राखेको देखिन्छ । एमाओवादी, कांग्रेस, एमालेलगायत दलका शीर्षनेताले मधेसबाट चुनाव लड्ने बताउँदै आए पनि उनीहरूलाई भरथेग भने पहाडी क्षेत्रकै लागेको छ ।

पछिल्लो समय मधेससँग आफ्नो ‘लभ’ परेको बताउँदै आएका एमाओवादी अध्यक्ष पुष्पकमल दाहालको पहिलो रोजाइमा काठमाडौं क्षेत्र नम्बर १० छ । दाहाल अघिल्लो चुनावमा उक्त क्षेत्रबाट २३ हजार २ सय ७७ मत ल्याएर विजयी भएका थिए । रोल्पा २ बाट पनि उनी ३४ हजार २ सय २० मत ल्याएर पहिलो संविधानसभामा पुगेका थिए । यसपटक उनी रोल्पा छाडेर धनुषा–६ अथवा सिराहा–५ मध्ये एक क्षेत्रबाट उठ्ने तयारीमा छन् ।
कांग्रेस सभापति सुशील कोइराला अघिल्लो चुनावमा गृहजिल्ला बाँके–३ बाट उम्मेदवार बनेका थिए । मधेसी जनअधिकार फोरम नेपालका सर्वदेव ओझाले १४ हजार ९ सय मत ल्याएर कोइरालालाई हराएका थिए । कोइराला भने ५ हजार ९ सय ६९ मत ल्याएर तेस्रो स्थानमा सीमित भएका थिए । उनी यसपटक पनि त्यही क्षेत्रबाट उम्मेदवारी दिने तयारीमा छन् । उनलाई काठमाडौंको कुनै पनि क्षेत्रबाट उठ्न पार्टीले दबाब दिइरहेको छ ।
एमाले अध्यक्ष झलनाथ खनाल इलाम–१ बाट उम्मेदवारी दिने तयारीमा छन् । अघिल्लो चुनावमा उनले उक्त क्षेत्रबाट १७ हजार ६ सय ५५ मत ल्याएर चुनाव जितेका थिए । उनी आगामी चुनावमा काठमाडौं क्षेत्र नम्बर ९ र सर्लाहीमध्ये एक ठाउँबाट पनि उम्मेदवारी दिने तयारीमा छन् ।
अघिल्लो चुनावमा गोरखा क्षेत्र नम्बर २ बाट ४६ हजार २ सय ७२ मत ल्याएर विजयी एमाओवादी नेता डा. बाबुराम भट्टराई आगामी चुनावमा गोरखा–१ बाट उठ्ने तयारीमा छन् । उनको दोस्रो रोजाइमा भक्तपुर वा रूपन्देही परेको छ ।
एमाले वरिष्ठ नेता माधवकुमार नेपालको पहिलो रोजाइमा पहाडी क्षेत्र नै परेको छ । काठमाडौं क्षेत्र नम्बर २ बाट चुनाव लड्ने तयारीमा छन् नेपाल । उनले अघिल्लो चुनावमा एमाओवादीका झक्कुप्रसाद सुवेदीसँग चुनाव हारेका थिए । झक्कुले १३ हजार ८ सय ८५ ल्याएर चुनाव जितेका थिए । नेपालको दोस्रो रोजाइमा आफ्नो गृहजिल्ला रौतहटको १ र २ नम्बर क्षेत्र परेको छ । उनले अघिल्लो चुनावमा रौतहटको ६ बाट पनि चुनाव हारेका थिए । उक्त क्षेत्रबाट १० हजार १ सय ३३ मत पाएर एमाओवादीका देवेन्द्रसिंह पटेल विजयी भएका थिए । नेपालले ८ हजार ९ सय ८६ मत ल्याएका थिए ।
कांग्रेस वरिष्ठ नेता शेरबहादुर देउवाको पहिलो रोजाइमा पनि पहाड नै छ । उनी गृहजिल्ला डडेलधुराको क्षेत्र नम्बर १ र कैलाली–३ बाट चुनाव लड्ने तयारीमा छन् । उनले अघिल्लो चुनावमा डडेलधुरा–१ बाट २० हजार ५ सय २९ मत ल्याएर चुनाव जितेका थिए । त्यस्तै, उनले कञ्चनपुर–४ बाट पनि १२ हजार ८ सय २४ मत ल्याएर चुनाव जितेका थिए ।
अघिल्लो चुनावमा झापा क्षेत्र नम्बर ७ बाट एमाओवादीका विश्वदीप लिङ्देनसँग चुनाव हारेका एमाले नेता केपी शर्मा ओली फेरि त्यही क्षेत्रबाट उठ्ने तयारीमा छन् । ओलीले त्यस बेला १४ हजार ९ सय ५९ र लिङ्देनले १६ हजार ९९ मत ल्याएका थिए । उनको नाम भक्तपुरबाट पनि सिफारिसमा परेको छ ।
कांग्रेस उपसभापति रामचन्द्र पौडेल फेरि तनहुँ–२ बाट उठ्ने तयारीमा छन् । उनी अघिल्लो चुनावमा पौडेल २८ हजार ९ सय ७० मत ल्याएर विजयी भएका थिए । पौडेलले भने मधेसका कुनै पनि क्षेत्रबाट उम्मेदवारी नदिने भएका छन् ।
अघिल्लो चुनावमा समानुपातिकबाट संविधानसभा सदस्य बनेका एमाओवादी नेता नारायणकाजी क्षेत्र गोरखा–२ बाट उठ्ने भएका छन् । भक्तपुर र रूपन्देही श्रेष्ठको दोस्रो रोजाइका क्षेत्र हुन्् ।
यसैगरी, पूर्वप्रधानमन्त्री सूर्यबहादुर थापा र लोकेन्द्रबहादुर चन्द चुनावी दौडबाट पछि हटेका छन् । उनीहरू दुवै जना समानुपातिक उम्मेदवार बन्ने भएका छन् । थापा अघिल्लो चुनावमा धनकुटा २ मा एमाओवादीका हरिबहादुर लिम्बुसँग चुनाव हारेका थिए ।
मधेसी दलका नेताहरूले भने अघिल्लो चुनावमा जस्तै मधेसमै उम्मेदवारी दिने तयारी गरेका छन् । यसअघि सुनसरी क्षेत्र नम्बर ३ बाट विजयी भएका मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारले सोही क्षेत्रबाट उठ्ने तयारीमा छन् । सुनसरी–५ बाट विजयी मधेसी जनअधिकार फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव पनि त्यही क्षेत्रबाट उठ्ने संकेत देखिन्छ ।
मधेस राजनीतिका विश्लेषक चन्द्रकिशोर झा मधेसको नाम लिएर पहाडी क्षेत्रमै भर पर्नुलाई मधेसी आन्दोलनप्रति व्यंग्यको संज्ञा दिन्छन् । ‘मधेसले खोजेको परिवर्तनलाई आत्मसात् नगर्ने चालबाजी हो यो,’ उनी भन्छन्, ‘लोकतन्त्रमा जहाँबाट चुनाव लड्न पाउने भए पनि अहिले मधेसलाई रणनीति बनाएर पहाडमा भर पर्ने मनोविज्ञान स्थानीय अनुहार चाहियो भन्ने नै हो ।’ मधेसलाई माया नै गर्ने हो भने मधेसी समुदायका व्यक्तिहरूले पनि पहाडमा योगदान गरेको उल्लेख गर्दै उनले त्यस्ता व्यक्तिलाई पहाडबाटै उठाउन सक्नुपर्ने बताए ।

प्रतिक्रिया