चितवन, ७ असोज । एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहालले गोलमेच सम्मेलनमा भारतले कुनै हस्तक्षेप नगरेको प्रतिक्रिया दिएका छन् ।
क्रान्तीकारी पत्रकार संघले आज (सोमबार) चितवनको भरतपुर विमानस्थलमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा दाहालले गोलमेच सम्मेलन नेकपा माओवादीकै कारण हुन नसकेको बताए । उनले गोलमेच सम्मेलनमा भारतले हस्तक्षेप गरेको भन्ने आरोप असत्य रहेको बताए ।
‘गोलमेच सम्मेलन भारतका कारण नभई नेकपा माओवादीहरुकै अडानले तुहिएको हो,’ उनले भने ।
एनले नेकपा माओवादी चुनावमा नआए पनि दोस्रो संविधानसभाको चुनाव हुने दोहराए । ‘अब नेकपा माओवादी नआए पनि चुनाव हुन्छ,’ उनले भने, ‘लचकताका साथ वार्तामा बस्दा पनि बैद्यजीहरु मान्नु हुंदैन ।’
दाहालले चुनावमा नआउने नेकपा माओवादीलाई केही गर्न नसकिने बताए ।
‘हामीहरु हदैसम्मको लचकता अपनाएर वार्तामा आउन पुन: अपील गरेका छौं,’ उनले भने, ‘चुनावमा आउन उहांहरु गम्भीर हुनुहुन्न ।’
यसैबीच, एमाओवादी अध्यक्ष दाहालले सेना समायोजन भईसकेकाले शान्ति प्रक्रिया टुङ्गिएको बताए । ‘वैद्यजीले शान्ति प्रक्रिया नटुङ्गिएको भनेर दिने अभिव्यक्तिको कुनै तकु छैन,’ उनले भने ।
‘यो कुरा नबुझ्नु उहांहरुकै गल्ती हो,’ दाहालले भने, ‘शान्ति प्रक्रिया उहिल्यै टुङ्गिएको छ ।’
प्रतिक्रिया