कार्की काठमाडौंदेखि दोलखासम्म दौडने

Ramsunder-Karkiकाठमाडौं, २८ भदौ । लामो दूरीका धावक रामसुन्दर कार्की काठमाडौंबाट दोलखासम्म दौडिने भएका छन् ।
‘बालबालिकाको कुरा सुनौँ, बाल दुव्र्यवहार अन्त्य गरौँ’ भन्ने  नेपाल बाल संगठनको प्रमुख नारा बोकेर कार्की दौडन लागेका हुन् । विश्वशान्तिको कामना आफ्नो दौडको अर्को लक्ष्य रहेको कार्कीले बताए । ललितपुरको गोदामचौर गाविस–४, गोदावरी निवासी कार्कीले भदौ २९ गते, चुच्चेपाटीस्थित केएल टावरबाट दौडको सुरुआत गर्नेछन्  ।
दौड सुरु भएपछि कार्की चुच्चेपाटीबाट जावलाखेलस्थित बाल मन्दिर जानेछन् । त्यहाँबाट कोटेश्वर, भक्तपुर, काभ्रे, पाँचखाल, सिन्धुपाल्चोक हुँदै खाडीचौरमा पुगेर कार्कीले पहिलो दिनको दौड टुंग्याउने कार्यक्रम छ ।
दोस्रो तथा अन्तिम दिन भदौ ३० मा खाडीचौरबाट दौड प्रारम्भ गरी मुडे, खरिढुंगा, मकैवारी, चरिकोट, भीमसेन मन्दिरमा पुजा अर्चना गरी पुन: चरिकोट बजारमा आएर दौड टुंग्याउने कार्कीले बताए । उनका अनुसार दौडको कुल दूरी करिब १ सय ४५ किलोमिटर रहेको छ ।
चुच्चेपाटीस्थित केएल टावरले कार्कीको दौडमा मुख्य प्रायोजन गरेको छ । अन्य सहयोगीमा राष्ट्रिय खेलकुद परिषद्, ललितपुर बाल संगठन, अल्का अस्पताल, नमस्ते नेपाल बहुउद्देश्यीय सहकारी संस्था, ललितपुर जिल्ला विकास समिति तथा डब्लुडब्लुडब्लु डट न्युहोप नेपाल डट कम रहेका छन् ।
कार्कीले हालसम्म करिब १२ देखि १५ हजार किलोमिटर दौड पूरा गरिसकेका छन् । ‘नेपालको ७५ वटै जिल्ला, भारत र भुटानका केही भाग गरी करिब १२ देखि १५ हजार किलोमिटर दौडिसके होला ।’ ४० वर्षीय कार्की भने, ‘मेरो अन्तिम ढोको भनेको लामो दूरीको धावकका रूपमा गिनिज बुक अफ वल्र्ड रेकर्डमा आफ्नो नाम लेखाउनु हो । त्यसका लागि प्रयासरत छु ।’

प्रतिक्रिया