पहिलेजस्तो हुँदैन फाइनल

saffकाठमाडौ, २६ भदौ । समूह चरणका खेलको नतिजा हेर्दा लाग्थ्यो, नेपाल र माल्दिभ्स फाइनलका प्रमुख प्रत्यासी हुन् । डिफेन्डिङ च्याम्पियन भारतविरुद्ध दमदार जित हात पारेको नेपाललाई अफगानिस्तानले घरेलु दर्शकबीच हराउने विश्वास कमैलाई थियो तर दुईपटक पेनाल्टी जोगाउँदै गोलकिपर मन्सुर फकिरयारले अफगानलाई प्रतियोगिताको फाइनलमा पुर्‍याए । २४ घन्टापछि फेरि दशरथ रंगशालामा अर्को शक्तिशाली टिमले घुँडा टेक्यो, समूह चरणका सुरुआती दुई खेलमा १८ गोल गरेको माल्दिभ्सलाई कप्तान सुनील क्षत्रीकै अनुपस्थितिमा भारतले हरायो ।
सन् २०११ को फाइनलमा पनि अफगानिस्तान र भारत नै भिडेका थिए, त्यतिबेला  पनि सेमिफाइनलमा भारतले माल्दिभ्सलाई र अफगानिस्तानले नेपाललाई नै हराएका थिए । त्यसैले हरेक ढंगबाट हेर्दा प्रतियोगिताको फाइनल गत संस्करणकै रिम्याचजस्तो देखिएको छ ।  केचाहिँ पक्का हो भने गत संस्करणको फाइनल ४–० ले जितेको  भारतका लागि यसपटकको फाइनल सहज भने छैन । भारतीय कप्तान सुनील क्षेत्रीकै बुझाइमा यसपटक फाइनल कठिन हुनेछ ।   उनी भन्छन्, ‘घरबाहिर खेल्दै छाँै, त्यसैले सजिलो छैन, फेरि उपाधि रक्षा गर्नुपर्ने दबाब छ ।’ समूह चरणमा यसपटक भारतले आºनो वास्तविक प्रदर्शन देखाउनै सकेन । कठिन मानिएको समुहको सुरुआती खेलमा पाकिस्तानले भारतलाई अधिकांश समय दबाबमा राखेको थियो । आत्मघाती गोलको साहरामा  पाकिस्तानसँग तीन अंक जोडेको भारत दोस्रो खेलमा सम्हालिने अनुमान लगाइएको थियो । बंगलादेशसँग भएको समूहको दोस्रो खेलमा पनि सुनील क्षत्रीले इन्जुरी समयमा फ्रिकिकमार्फत असाधारण  गोल गरेपछि भारत एक अंक जोड्न सफल भएको थियो । समूह चरणको अन्तिम खेलमा डिफेन्डिङ च्याम्पियनलाई निरीह बनाउँदै नेपालले २–१ को जित हात पार्‍यो । त्यसै  समयमा हल्चोकस्थित मैदानमा पाकिस्तानले बंगलादेशसँगको खेलमा नतिजा २–१ले  आºनो पक्षमा पारेपछि भारतको सेमिफाइनल यात्रा तय भएको थियो ।
हेड टु हेडमा पाकिस्तानलाई पछि पारेर सेमिफाइनलमा पुगेको भारतीय टिमले माल्दिभ्ससँगको खेलको पहिलो हाफमा पनि खुलेर खेल्न सकेन । अन्त्यतिर अरनव मण्डलको गोलले भारतलाई फाइनलसम्म पुर्‍याए पनि सुरुदेखि सेमिफाइनलसम्मको खेल हेर्ने सबै भारतको प्रदर्शन गत संस्करणको जस्तो प्रभावशाली नभएकोमा सहमत रहे । भलै, भारतीय टोली  समूह चरणको तुलनामा सेमिफाइनलमा सुधारिएको किन नहोस् । भारतीय टिमका डच प्रशिक्षक विम कोइभरम्यान्स टोलिमा आएको पछिल्लो सुधार देखेर निकै प्रभावित छन् । ‘हामी उपाधि रक्षा गर्नबाट केवल ९० मिनेट टाढा छौँ,’ खेलपछि कोइभरम्यान्सले प्रतिक्रिया दिए । अली असफाकको नेतृत्वमा रहेको आक्रामक माल्दिभ्सविरुद्ध सेमिफाइनलमा सम्हालिएको प्रदर्शन गरेको भारतले राम्रो आक्रमण भने बुन्न सकेन । फाइनलमा कप्तान सुनील क्षत्री मैदान उत्रने भएपछि भारतको अग्रपंक्ति फेरि बेजोड बन्ने अनुमान लगाइएको छ । साफ च्याम्पियनसिपमा भारतले अहिलेसम्म फाइनलमा घरेलु राष्ट्रसँग मात्रै उपाधि गुमाएको इतिहास छ । त्यसैले यसपटक फाइनलमा नेपाल नभएर अफगानिस्तानलाई प्रतिद्वन्द्वी पाउँदा भारत केही खुसी छ ।
अफगानी टिम भने पूरै बदलाको भावनाबाट प्रेरित छ । त्यसैले माल्दिभ्सको सट्टामा भारतलाई प्रतिद्वन्द्वी पाउँदा अफगानिस्तान पनि पक्कै खुसी भएको हुनुपर्छ । सेमिफाइनलमा भारत र माल्दिभ्स भिड्नुअघि नै अफगानी फरवार्ड सेन्जडर अहमादीले भनेका थिए, ‘जुन टिम फाइनलमा पुगे पनि अल्लाहले यसपटक उपाधि हामीलाई नै दिनेछन् तर मेरो आशा छ, फाइनलमा भारत पुग्नेछ ।’ गत वर्ष भारतले विवादास्पद पेनाल्टीको मौका पाउनुअघि अफगानिस्तानले ७० मिनेटसम्म खेललाई बराबरी गरेको थियो । पेनाल्टीमा भारतीय कप्तान सुनील क्षत्रीले गोल गरेपछि भने अफगानिस्तान पछि परेको थियो । त्यसपछि सम्हालिन नसकेको  अफगानिस्तान ४–० ले पराजित भएको थियो ।
त्यतिबेला समूह चरणमा भारतले भन्दा राम्रो प्रदर्शन गरेको अफगानिस्तानलाई बदला लिने राम्रो अवसर जुरेको छ, यसपटक । अफगानिस्तानका कप्तान हारोन फक्रुद्धिन भन्छन्, ‘दुई वर्षअघि हामीले फाइनल खेल्यौँ तर त्यो स्तब्धकारी दिन थियो, यसपटक हामी फेरि फर्किएका छाँै ।’ अफगानी प्रशिक्षक युसुफ कार्गर भन्छन्, ‘दुई वर्षअघिको हारले सबैलाई असर पार्‍यो, सम्पूर्ण अफगानी जनता अब कपको पर्खाइमा छन्, हामी  प्रतीक्षा समाप्त पार्दै छाँै । ’ फाइनलमा अफगानिस्तानले डिफेन्डर फरजाद टाईको साथ गुमाउनेछ । नेपालविरुद्धको खेलमा हृदयाघातको सिकार भएका टाई भर्खरै अस्पतालबाट डिस्चार्ज भएका छन् । भारतको फाइनल यात्रा कमजोर प्रदर्शन र विवादका बीचबाटै तय भए पनि अफगानिस्तानले अग्रपंक्ति र रक्षापंक्तिमा निर्णायक तथा चुस्त प्रदर्शन गर्दै फाइनलमा स्थान बनाएको छ । समूह चरणमा माल्दिभ्ससँग गोलरहित बराबरी खेल्नुअघि अफगानिस्तानले भुटानलाई ३–० र श्रीलंकालाई ३–१ ले हराएको थियो । फाइनलमा दुई टिम भिड्दा इतिहास पूरै भारतको पक्षमा हुनेछ । तर, वर्तमानमा अफगानी टिम निकै सुदृढ छ । पछिल्लो समय फुटबलमा एकपछि अर्को खुट्किलो पार गर्ने क्रममा अफगानिस्तानले सन् २०१० को दक्षिण एसियाली खेलकुदतर्फ रजत पदक जित्यो । साफ च्याम्पियनसिपको फाइनल खेलेको अफगानिस्तान समूह चरण र सेमिफाइनलको नतिजा नियाल्दा यसपल्ट उपाधिको प्रमुख दाबेदार हो । सेमिफाइनलमा बलियो आँकिएको माल्दिभ्सविरुद्ध हात पारेको जितले भारतलाई फाइनलअघि उत्साही बनाएको छ । सम्हालिएर खेल्दा कमै मात्र अवसर सदुपयोग गरे पनि जित हात पार्न सकिनेमा भारत विश्वस्त छ । यता, आक्रामक शैलीबाट गर्जिरहेको अफगानिस्तानको ध्यान भारतविरुद्ध जितको धावा बोल्नेमा छ । त्यसैले उत्कृष्ट लयबाट गुज्रिएको अफगानिस्तान र सुदृढ इतिहास बोकेको भारतबीचको भिडन्तलाई धेरैले ‘हिस्ट्री भर्सेज प्रेजेन्ट’ को उपमा दिएका छन् । दुवै टिम एक अर्काको रणनीति ध्वस्त पार्ने योजनामा रहेका बेला, फेरि एकपटक  ठूलो प्रतियोगिताको अन्त्यमा कसले बाजी मार्छ भन्ने प्रतीक्षा धेरैको छ ।

प्रतिक्रिया