कांग्रेसले प्रशिक्षक उत्पादन गर्ने

nc-office-sanepaकाठमाडौं, ११ साउन । नेपाली कांग्रेसको केन्द्रीय नीति तथा प्रशिक्षण प्रतिष्ठानले मुलुक भरि निर्वाचन प्रचार–प्रसारलाई सहयोग पुग्ने गरेर प्रशिक्षक उत्पादन गर्ने भएको छ ।
कांग्रेसले आज (शुक्रबार) विज्ञप्ति जारी गरेर साउन १२, १३ र १४ गते राजधानीमा प्रशिक्षकका लागि प्रशिक्षण गर्न लागेको जनाएको हो । प्रशिक्षक प्रशिक्षण कार्यक्रम साउन–१२ गतेदेखि तीनदिन सम्म पार्टी कार्यालय सानेपामा सञ्चालन हुने छ ।
मंसिर–४ गते हुन लागेको संविधानसभा निर्वाचनलाई ध्यानमा राखेर पचहत्तरै जिल्लाका २ सय ४० निर्वाचन क्षेत्रमा जनतालाई पार्टीको नीति तथा कार्यक्रमका बारेमा सु–सूचीत गर्नेगरी छलफल हुने छ ।
प्रशिक्षणमा समसामयिक राजनीतिक सवालहरुमा कांग्रेसको दृष्टिकोण, अन्य दलवीचको सैद्धान्तिक र व्यवहारिक भिन्नता तथा भावी निर्वाचन तयारी एवं नयाँ संविधानको विषयवस्तु प्रशिक्षक प्रशिक्षण कार्यक्रममा जानकारी गराईने विज्ञप्तिमा उल्लेख छ ।
प्रशिक्षक प्रशिक्षण कार्यक्रममा देशका सबै जिल्लाहरुबाट झण्डै तीनसय कांग्रेसका नेता तथा कार्यकर्ताको सहभागिता रहनेछ ।
प्रशिक्षण लिइसकेपछि तयार हुने प्रशिक्षकहरुले देशव्यापी रुपमा आफूलाई तोकिएको जिल्ला एवं निर्वाचन क्षेत्रमा प्रशिक्षण सञ्चालन गरी पार्टी संगठनलाई शसक्त र गतिशील बनाईने कांग्रेसले जनाएको छ ।

प्रतिक्रिया