काठमाडौं, ११ साउन । पूर्व प्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दले हिमानी ट्रष्टद्वारा वितरण गर्न लागिएको राहतमा अबरोध पुर्याउने नेपाल सरकारको निर्णयले आफूलाई दु:ख लागेको बताएका छन् ।
पूर्व प्रधानमन्त्री एवं राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ नेता चन्दले आज (शुक्रबार) विज्ञप्ति जारी गरेर कष्टकरण जीवन विताई रहेका मध्य र सुदूरपश्चिमाञ्चलका पीडितलाई राहत वितरण नगर भन्ने सरकारले निर्णयले मर्माहत भएको बताए ।
सरकारले हिमानी ट्रष्टलाई बाढी पहिरो पीडितलाई आफू खुसी राहत वितरण गर्न रोक लगाए लगत्तै पूर्व प्रधानमन्त्री चन्दले विरोध जनाएका हुन् । उनले निर्वाचन रुपमा पीडितलाई सहयोग गर्न पाउनु पर्ने माग गरेका छन् ।
‘निरन्तरको बर्षा पश्चातको बाढी र पहिरोले अपुरणीय क्षति पुर्याई जनजीवन अत्यन्तै कष्टपूर्ण भएको अवस्थामा हिमानी ट्रष्टबाट सुदूरपश्चिम तथा मध्यपश्चिमलगायत क्षेत्रमा सहयोग तथा राहत बितरण जस्तो मानवीय कार्यलाई सरकारका तर्फबाट अबरोध गरिएको सुन्दा दु:ख लाग्यो,’ चन्दले विज्ञप्तिमा भनेका छन् ।
यथाशीघ्र राहत उपलब्ध गराई उद्धारकार्यमा तिब्रता दिन तथा पुन:स्थापनाको ब्यबस्थागर्ने क्षमता देखाउन नसकेको सरकारले सामाजिक संस्था मार्फत भइरहेका मानवीय कार्यलाई बिभिन्न बाहानामा निरुत्साहित गर्न नहुने उनले बताएका छन् ।
‘मानवीय सम्बेदनाका आधारमा यस्ता सामाजिक कार्य निर्वाध रुपमा सम्पन्न गर्ने बातावरण बनाई सहयोग गर्नका निमित्त म नेपाल सरकारसँग आग्रह गर्दछु,’ पूर्व प्रधानमन्त्री चन्दले अपील गरेका छन् ।
पूर्व राजा ज्ञानेन्द्र शाह हिमानी ट्रष्ट मार्फत बाढी पहिरो पीडितलाई राहत वितरण गर्न सुदूर पश्चिमाञ्चल गए पछि सरकार र ठूला राजनीतिक शक्तिले विरोध जनाई रहेका छन् ।
प्रतिक्रिया