मिटर बिगार्न कर्मचारीको सहयोग : कोइराला

Shankar-Koirala-Budgetकाठमाडौं, १० साउन । अर्थमन्त्री शंकरप्रसाद कोइरालाले काम गर्ने शैलीमा सुधार ल्याउन कर्मचारीहरुलाई निर्देशन दिएका छन् ।
उद्योग मन्त्री समेत रहेका कोइरालाले सिमेन्ट, तेल तथा औषधिको गुणस्तरका विषयमा धेरै जनगुनासो आउने गरेको प्रति सचेत गराउँदै यस्ता विषयमा सम्झौता नगर्न निर्देशन दिएका हुन् ।
उद्योग मन्त्रालय अन्तर्गतका विभागीय प्रमुखहरुको समीक्षा वैठकलाई आज (बिहीबार) सम्बोधन गर्ने क्रममा मन्त्री कोइरालाले आफू काम गर्ने थलोलाई समन्वयात्मक र प्रविधिमैत्री बनाउन सुझाव दिए । उनले जनसरोकारसंग प्रत्यक्ष सम्बन्ध राख्ने निकाय जनमुखी, पारदर्शी र सेवामुखी हुनुपर्ने बताए ।
कम्पनी रजिष्टार कार्यालय र उद्योग विभागमा केही सुधार आएपनि गुणस्तर तथा नापतौल विभागप्रति सर्वसाधारणको गुनासो नघटेको भन्दै मन्त्री कोइरालाले ट्याक्सीको मिटर विगार्न सहयोग गर्ने कर्मचारीलाई तत्काल कारवाही गर्न निर्देशन दिए ।
जनतालाई प्रत्यक्ष सेवा दिने संस्थाहरुको छवि विग्रिएको आफूलाई प्रिय नलाग्ने भन्दै उनले भने, ‘मेरो शिर निहुर्‍याएर हिँड्नुपर्ने अवस्था ल्याउन नदिनु होला ।’
वैठकमा अघिल्लो वर्षको समीक्षा र यो वर्ष गर्ने कामका विषयमा छलफल भएको थियो । विभागीय प्रमुखहरुले काम गर्दा आइपर्ने समस्याको बेलिविस्तार लगाएका थिए । श्रोत, साधन र दक्ष जनशक्तिको अभावमा सोंच अनुसारको काम गर्न नसकेको उनीहरुको गुनासो थियो ।
वैठकमा उद्योग विभाग, घरेलु तथा साना उद्योग, खानी तथा भूगर्भ विभाग, नेपाल गुणस्तर तथा नापतौल विभाग, कम्पनी रजिष्टारको कार्यालय, घरेलु तथा साना उद्योग विकास समिति र विशेष आर्थिक परियोजना प्रमुखहरुको सहभागिता थियो ।

प्रतिक्रिया