मोरङ घटनाका दोषीलाई कारबाही गर्न माग

Dalit Mahilaकाठमाडौं, ९ साउन । राष्ट्रिय मानव अधिकार आयोगले मोरङको बेलबारीमा दलित महिला र अधिकारकर्मी माथि भएको घटनालाई अमानवीय व्यवहार टिप्पणी गरेको छ ।
आयोगले आज (बुधबार) विज्ञप्ति जारी गरेर दलित महिला र अधिकारकर्मीलाई अमानवीय व्यवहार गर्ने दोषी कारबाही गर्न माग गरेको छ ।
साउन सात गते एकदलित महिलाले आफूमाथि बलात्कारको प्रयास भएको भनी उजुरी दिँदा स्वयं उनीमाथि नै अमानवीय व्यवहार भएको थियो । कथित माथिल्लो जातका स्थानीय जीवन भेटवालले शनिबार साँझ २३ वर्षीय दलित महिलालाई बलत्कारको प्रयास गरे पछि प्रहरीमा उजुरी परेको थियो । यद्यपि, स्थानीयले महिला र दलित अधिकारकर्मी मनोज विश्वकर्मालाई नै कालो मोसो दलेर जुत्ताको माला लगाई दिएका थिए ।
आयोगले सो घटनाको अनुसन्धान गरिरहेको जनाएको छ । प्रहरीले घटनामा संलग्न भएको अभियोगमा सातजनाविरुद्ध सार्वजनिक अपराधमा मुद्दा दायर गरेको पनि आयोगले जनाएको छ । दोषीहरुलाई प्रहरीले पक्राउ समेत गरेको छ ।

प्रतिक्रिया