राहत पाएपछि दार्चुलामा खुसीयाली

Gyanendra-Shaha-Rajaधनगढी, ९ साउन । गत असार–२ गते महाकाली नदीमा आएको बाढीले घरबार बिहीन हुन पुगेका दार्चुलावासी राहत दिन पूर्वराजा ज्ञानेन्द्र शाह हेलिकप्टर मार्फत धनगढीबाट दार्चुला गएका छन् ।
निर्वाचन आयोगले सोमबार आचार संहिता जारी गरेर सरकारी निकाय बाहेक स्वयं राहत वितरण गर्न नपाउने जनाएपनि पूर्वराजा शाह पूर्वनिर्धारित कार्यक्रम भन्दै आज (बुधबार) राहत दिन दार्चुला गएका हुन् ।
सुपरपुमा हेलिकप्टरको आरएजे कल साइन भएको भिआईपी फलाइट मार्फत उनी र बुहारी हिमानी शाह दार्चुला गएका छन् ।
शाहले बुहारी हिमानी अध्यक्ष रहेको हिमानी कोष मार्फत राहत समाग्री र विद्यालय मर्मतका लागि नगद सहयोग गर्ने पूर्वराजाका संवाद सचिव फणिराज पाठकले बताए ।
बिगत दिनदेखि सपरिवार सहित धनगढीस्थित रुवस होटलमा बसेका पूर्वराजाले पत्नी कोमल, छोरी तथा नातिनातिनी र अरु कसैलाई नलिएर बुहारी र आफू मात्र राहत वितरण गर्न गएका हुन् ।
उनी सवार हेलिकप्टर दार्चुलास्थित नेपाली सेनाको शत्रुभञ्ज्याक गुल्ममा अवतरण गरिएको छ । शाहलाई गुल्म बाहिर रहेका सयौं सर्वसाधरणहरुले नारीबाजीसहित भब्य स्वागत गरेका छन् ।
कडा सुरक्षाका साथ गुल्मबाट हिँडेर गएका पूर्वराजा शाहले सदरमुकाम खलंकाको टुडिखेलमा राहत वितरण गरेका छन् ।
शाहले कोषमार्फत बाढीपहिरो पीडित २ सय ६३ घरपरिवारलाई प्रति परिवार ४५ किलोग्राम चामल, भाँडाकुडा र लत्ताकपडा समेत तीनसय पाकेट तथा प्राथमिक तहमा अध्यनरत एकहजार छात्रछात्राहरुलाई विद्यालय पोसाक, कापिकलम र विष्कुट दिएका छन् । राहत र सहयोग पाए पछि स्थानीय पीडितहरु खुसीले गदगद भएका छन् ।
यसैगरी, लटिनाथ प्राविलाई छाना मर्मत गर्न एकलाख ५० हजार, पूर्ण रुपमा क्षति भएको भगवती प्रावि मर्मत दुईलाख ५० हजार, कैलासपति निमाविलाई ५० हजार, जनज्योति प्राविलाई एकलाख ५० हजार र लटिनाथ उमाविलाई एकलाख नगद सहयोग गरेको सचिव पाठकले जानकारी दिए ।
पूर्वराजा शाह आजै धनगढी फर्कने र पर्सी ११ गते कैलालीको टीकापुरमा राहत वितरण गर्ने कार्यक्रम छ ।

प्रतिक्रिया