सारङगीले बाँचेको जीवन

Gandhrva-Bhai‘त्रिशुलीको किनारमा बालुवा चाल्नेहरु,
सोलुमा भारि बोकी बालबच्चा पाल्नेहरु,
अझै नि लोकतन्त्र आको छैन है,
जनताको शासन त चल्या छैन है ।’
बसन्त ऋतुको रापिलो घामले तातेका पिपल बोटको छहारीमा सुस्ताउँदै बसेका सर्वसाधारणहरुलाई गाईने भाईले गाएका माथिका गीत हरफहरुले मन्त्रमुग्ध बनाउँदै थिए । सारङगीको र्‍याईर्‍याई र कलिला बालकहरुको सुरिलो स्वर सुन्न सर्वसधारणहरु चटकेले देखाईरहेको चटक हेर्नझै गोलबद्ध भएर गीतको धुन र भाका सुनिरहेका थिए ।
गन्दर्भ बालकहरुले गीत गाएरै सहयोग माग्न अगाडि रुमाल ओछ्याईएको थियो । गीतको मर्म र बालकहरुको व्यथा सुनेरै दर्शकहरुले गच्छे अनुसार सहयोग गर्दै थिए ।
रहर भनौं या बाध्यता, आमाको दुध चुस्दै गरेका जस्ता देखिने झापा सुकनाडिगी–८ का १४ बर्षीय विशाल गन्दर्भ र सोही ठाउँका १३ बर्षीय श्याम गन्दर्भले प्रचण्डगर्मीले रत्तिएका दर्शकलाई सारङगीको सुरिलो स्वरले मनोरञ्जन दिईरहे ।
‘सारङगीलाई जीवन जिउने साहारा बनाउनु हाम्रो वाध्यता हो,’ गीतकै माध्यामबाट विशाल यसै भन्दै थिए । ‘गीत गाउँदै पूर्व मेचीदेखि महाकालीसम्म पुग्नु र गीत गाएर विहान बेलुका छाक टार्न पैसा जोहो गर्नु हाम्रो दैनिकी बनेको छ,’ सारङगीको धुनसँगै श्यामले थपे ।
‘मैले यो पेशा अंगालेको छ बर्ष भयो,’ श्यमले भने, ‘बुवा पनि यहि पेशामै निर्भर हुनुहुन्छ ।’ उनका पाँच दाजुभाई मध्ये एकजनाले सो पेशा गर्दैनन् ।
सारङगीले अरुलाई मनोरञ्जन दिए पनि उनीहरु कहिले काही खान नपाएर भोकभोकै सडकमा सुत्नु परेको व्यथा पनि सुनाउँछन् । एकघण्टा गीत गाएर पाएको पैसा अरुलेनै खाईदिएको उनीहरुको अनुभव छ ।
श्याम र विशालको व्यथा झण्डै उस्तै छ । एकै गाउँका भएकै कारण उनीहरुको सारङगीको यात्रा झैण्डैसँगै शुरु भएको उनीले सुनाए ।
‘काम गरेर खानुपर्छ । यत्तिकै लठारिएर मागेर खान लाज हुन्छ,’ भन्छन् उनीहरु । ‘के गर्नु दाई संस्कृति जोगाउन र जीवीकोपार्जन गर्न सारङगी चलाएका हो,’ श्यम र विशालले भने ।
‘भन्ने गर्छन् सारङगी त राष्ट्रकै गहना हो ।
त्यही सारङ्गी सबको माझ किन आज हेला भो ।
संसारको भूमरीमा अल्झियो मेरो मन ।
कतै आशु कतै पीडा भोग्दैछ आज जीवन ।’
पुर्खौदेखि परम्परागतरुपमा गन्दर्भ समुदायले पेशाको रुपमा अंगाल्दै आएको सारङगी बजाउने पेशा अहिले लोप हुँदै गएको छ । तर यी बालकहरुलाई आफ्नो पेशा संरक्षण गर्नुपर्छ भन्ने थाहा नभएपनि सारङ्गीकै भरमा पैसा कमाउनुपर्छ भन्ने मानसिकता छ । यी अवोध बालकहरु सारङगीलाईनै जीवन गुजाराको माध्याम बनाउँदै छन् ।
सातबर्षकै कलिलो उमेरदेखि सारङगी रेटदै पेशाको सुरुवात गरेका विशाल यतिवेला आफन्तहरुले पेशा छोडेका कारण चिन्तित छन् । घरको आर्थिक अवस्था कमजोर भएकै कारण सारङगीमै भविश्य देख्ने बालकहरु आफू असुरक्षित र अरुको अपमान सहँदैपनि पेशालाई निरन्तरता दिने बताए ।
सानै उमेरबाट आफ्ना बाबुले बजाएको देखेर सारङगी बजाउन सिकेका विशालका एकजना दाईले पेशा छोडेर बैदेशिक रोजागारीमा गएका छन ।
‘पेशा संकटमा परेको छ,’ गीत गाईसकेर आफ्नो कामखमा सारङगी राख्दै श्यामले भने, ‘अहिले गाउँमा अग्रज दाईहरुले पेशा छाडेपछि आफ्नो गरिखाने भाँडो र पुख्र्यौली परम्परानै सकिने होकि भनेर यसैलाईनै निरन्तरता दिएका छौं ।’
आफ्ना बाबुपनि यहि पेशा गर्ने भएकाले पनि उनलाई अझै पेशा अंगाल्ने र गीत गाउने आतमरेको छैन रे । सारङगी बजाएरै महिनाको २० हजार रुपियाँ बैंकमा जम्मा गर्ने गरेको उनीहरुले बताए ।
‘पढ्न सकिन, अहिले कमाउँछु,’ श्यामले भने, ‘ठूलो भएपछि कुनै ठाउँमा कमाएको पैसाले सारङगी सिकाउने केन्द्र खोल्छु । अनि भविश्य त्यहिबाट बनाउँछु ।’
सारङगी बजाउँदै पूर्व पश्चिम पुग्ने यी बालकहरुले आफ्नो अनुभव सुनाउँदै भने, ‘अहिलेपनि विभिन्न गाउँहरुमा सारङगी बजाउन पुग्छौं ।’
कसैले अझैपनि आफूहरुलाई माया गरेर फेरि पनि आउँन भन्ने गरेको उनीहरुको भनाई छ । कहीले काँही गीत गाउन कसैको घरमा पुग्दा गाली र पिटाई खाएको उनीहरुले बताए ।

प्रतिक्रिया