गोल्डेनगेट शीर्षस्थानमा

Chessललितपुर, १० असार । मनमोहन स्मृति तेस्रो राष्ट्रिय टिम क्लब बुद्धिचाल प्रतियोगिताको तेस्रो दिन चौथौँ र पाँचाँ चरणका खेल सम्पन्न भएका छन् । पाँचौँ चरणको समाप्तिमा गोल्डेनगेट कलेज सबै खेल जितेर पूर्ण १० अंकका साथ एक्लै शीर्ष स्थानमा रहेका छन् । गोल्डेनगेटले चौथौँैँ खेलमा मखन चेस क्लबलाई र पाँचौँमा ख्वप्रिङ चेस क्लबलाई समान ३–१ अंकले हराए । साथै प्रतियोगितामा गोल्डेनगेटले सेमिफाइनल प्रवेश सुनिश्चित गरेको छ ।

मनमोहन स्मृति चेस एकेडेमीद्वारा आयोजित प्रतियोगितामा गजुरमुखी चेस क्लब इलाम, लपु जिल्ला बुद्धिचाल संघ र बत्तीसपुतली युवा क्लबले समान ७ अंकका साथ दोस्रो स्थानमा रहेका छन् । गजुरमुखीले उत्कृष्ट खेल प्रदर्शन गर्दै चौथौँैँ र पाँचौँ चरणमा क्रमश: कास्की जिल्ला बुद्धिचाल संघ र आयोजक मनमोहन चेस एकेडेमीलाई ४–० ले पाखा लगाएका थिए । त्यस्तै लपु जिल्ला बुद्धिचाल संघले चौथौँ खेलमा मछिन्द्र क्लबलाई २.५–१.५ ले हराएका थिए भने पाँचौंमा बत्तीसपुतली युवा क्लबसँग अंक बाँडेका थिए । यसैगरी बत्तीसपुतलीले चौथौँैँ चरणमा मध्यपुर चेस क्लबलाई ३–१ ले पराजित गरेको थियो ।
साझा पार्टी प्यालेस लगनखेलमा सञ्चालन भइरहेको प्रतियोगितामा मछिन्द्र, ख्वप्रिङ, मध्यपुर, काठमाडौं चेस क्लब र चेस बचत कोष भक्तपुरले समान ६ अंक हासिल गरेका छन् । सोमबार लिग चरणको अन्तिम तथा छैटौँ खेल बिहान ११ बजे हुनेछ । जसमा शीर्ष बोर्डमा गजुरमुखीले गोल्डेनगेट कलेजको सामना गर्नेछ । यस्तै, ललितपुरले काठमाडौं र ख्वप्रिङले बत्तीसपुतली युवा क्लबलाई चुनौती दिनेछन् । लिग चरणका उत्कृष्ट चार टिम सेमिफाइनलमा प्रवेश गर्नेछन् ।

प्रतिक्रिया