पूर्वराजाको सुरक्षामा शिवसेनाको दस्ता

Gyanendra-Shahaकाठमाडौं, २५ जेठ । सरकारले गर्ने सुरक्षा व्यवस्था अविश्वसनीय भएको भन्दै शिवसेना नेपालले पूर्वराजा ज्ञानेन्द्र शाहको शुक्रबारदेखि हुने पूर्वाञ्चलको भ्रमणमा आफ्नै सुरक्षा दस्ता परिचालित गरेको छ । पूर्वराजा ज्ञानेन्द्रलाई सुरक्षा दिन शिवसेनाका २ सय कार्यकर्ता काठमाडौंबाट पूर्वाञ्चल पुगेका छन् ।

शिवसेना नेपालको ॐ रक्षा बाहिनीबाट पूर्वराजा ज्ञानेन्द्रको सुरक्षा प्रबन्ध गरिएको अध्यक्ष अनिल बस्नेतले बताए । करिब डेढ साता लामो भ्रमणका लागि पूर्वराजा सिमरा पुगेका छन् । उनलाई सुरक्षा दिने भन्दै शिवसेना नेपालले देशका विभिन्न जिल्लाबाट आफ्ना युवा कार्यकर्तालाई पूर्वाञ्चल क्षेत्रमा पठाएको हो ।
‘स्थानीय स्वयंसेवक र हाम्रो सुरक्षा दस्ता मिलेर सुरक्षाको व्यवस्था मिलाएका छौँ,’ शिवसेना अध्यक्ष बस्नेतले भने, ‘राजाको भ्रमणमा सबैसँग सजिलै भेट होस भन्ने उद्देश्य राखी सुरक्षा दस्ता परिचालन गरिएको छ ।’
पूर्वराजाको सुरक्षा गर्न चिरणवीर प्रताप खड्कको नेतृत्वमा दुई सय जनाको सुरक्षा दस्ता परिचालन गरिएको अध्यक्ष बस्नेतले बताए । खड्का ॐ रक्षा बाहिनी प्रमुख पनि हुन् । शिवसेना नेपालले पूर्वराजाको सुरक्षार्थ
सिर्जन सापकोटा, अविनर सिग्देलको नेतृत्वमा छुट्टै सुरक्षा दस्ता पनि काठमाडौंबाट पठाएको छ । उनीहरू मोटरसाइकल र गाडीमा पूर्वाञ्चल क्षेत्रमा पुगेका छन् ।
देशमा राजनीतिक संकट गहिरिँदै जान थालेपछि एक वर्षअघिदेखि पूर्वराजा ज्ञानेन्द्र जिल्ला भ्रमणमा जान थालेका हुन् । उनले आफ्नो पहिलो भ्रमण सुदूरपश्चिमबाट थालेका थिए । सुदूरपश्चिमको भ्रमण सकेलगत्तै उनले पश्चिमाञ्चलको भ्रमण गरेका थिए । पश्चिमञ्चलको भ्रमणपछि उनले पूर्वाञ्चलको भ्रमण सुरु गरेका थिए ।
पूर्वाञ्चलको भ्रमण सुरु गरेलगत्तै छोरा पारस शाह बैंककमा गम्भीर बिरामी परेपछि भ्रमण स्थगित गरेर उनी सिमराबाट काठमाडौं र काठमडौंबाट थाइल्यान्ड पुगेका थिए ।
पूर्वाञ्चल भ्रमणपछि पूर्वराजा ज्ञानेन्द्रले मध्यपश्चिमाञ्चलको भ्रमणमा जाने योजना बनाएका छन् । संविधानसभाको चुनावमा हिन्दुराज्य र राष्ट्रियताको एजेन्डा बोक्ने दललाई आन्तरिक सहयोग गर्ने रणनीति लिएका पूर्वराजा ज्ञानेन्द्रले सर्वसाधारणसितको भेटघाटमा यो विषयलाई प्राथमिकता दिने स्रोतले बताएको छ ।

 

पूर्वराजाको सुरक्षाका लागि भन्दै शिवसेनाको ॐ रक्षा बाहिनीका प्रमुख चिरणवीरप्रताप खड्काको नेतृत्वमा दुई सय जनाको दस्ता परिचालन गरिएको छ
छोरा पारस गम्भीर बिरामी भएपछि यसअघि बीचमै स्थगन गरिएको पूर्वाञ्चल भ्रमण पूर्वराजा ज्ञानेन्द्रले शुक्रबारदेखि फेरि सुरु गरेका छन्

प्रतिक्रिया