कर्णालीमा बस खस्दा ६ को मृत्यु

दैलेख, २३ जेठ । दैलेखको नेपा–८ सिआलामा बुधबार बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ । दुर्घटनामा ३८ जना घाइते भएका छन् । घाइतेमध्ये अधिकांशको अवस्था गम्भीर छ ।

कालीकोटको मान्मबाट सुर्खेतका लागि छुटेको ना ३ ख ४७३८ नम्बरको मध्यपश्चिम यातायातको बस कर्णाली राजमार्गअन्तर्गतको सिआलामा ब्रेक फेल हुँदा यात्रुको मृत्यु भएको हो । मृत्यु हुनेमा दैलेख सिगासैन–९ का ३४ वर्षीय तर्कबहादुर शाही, ४५ वर्षीय हर्कबहादुर विक, सोही गाउँका ६० वर्षीय भगे कामी र अछाम पुलेतोला–६ का कृष्ण रावलका ६ महिनाका छोरा क्षितिज रहेको दैलेख जिल्ला प्रहरीका इन्स्पेक्टर कृष्णगोपाल श्रेष्ठले जानकारी दिए । त्यस्तै, अछाम रानिवन–१ का ३९ वर्षीया देवकला साउद र अछामकै कालिकास्थान ४ का २३ वर्षीय कासी विष्टको उपचारका क्रममा सुर्खेतमा मृत्यु भएको छ ।
घाइतेलाई उपचारका लागि दुईवटा बस चढाई सुर्खेत लगिएको छ । घाइतेमध्ये अधिकांशको अवस्था गम्भीर रहेको छ । गम्भीर घाइते सात जनालाई सुर्खेतबाट कोहलपुर शिक्षण अस्पताल बाँके लगिएको छ । बस दुर्घटना लगत्तै घाइतेको उद्धारमा इलाका प्रहरी कार्यालय दुल्लु, प्रहरी चौकी ढुगेश्वर र जिल्ला प्रहरी कार्यालय दैलेखको प्रहरी टोलीका साथै स्थानीयवासी खटिएका थिए । दुर्घटनास्थल जिल्ला सदरमुकामबाट ४० किलोमिटरको दूरीमा पर्छ । बस सडकबाट एक सय ५० मिटर तल कर्णाली नदी किनारमा खसेको थियो ।
कर्णाली राजमार्गमा दुर्घटना बढ्दै गएपछि रात्रिसेवा बन्द भएका कारण उक्त बस मंगलबार बेलुका राकममा बास बसेको थियो । त्यहाँबाट बिहान हिँडेको बस सिआलामा दुर्घटना भएको हो ।

प्रतिक्रिया