माथिल्लो तामाकोशीमा जनशक्ति अभाव

IMG_1635काठमाडौं, १९ जेठ । स्वदेशी लगानीमा निर्माणाधीन नेपालकै ठूलो र सरकारद्धारा राष्ट्रिय गौरवको आयोजना घोषित ४५६ मेगावाटको माथिल्लो तामाकोशी जलविद्युत आयोजनामा दक्ष जनशक्तिको अभाव भएको छ । राष्ट्रिय गौरवको आयोजनामा कुनै अभाव हुन नदिने सरकारको घोषणा विपरित तामाकोशीमा दक्ष र आवश्यक कर्मचारीको अभाव भएको हो ।
जलविद्युत आयोजनाका लागि निर्माणार्थ चाहिने जनशक्तिका लागि प्रवद्र्धक अपर तामाकोशी हाइड्रो पावर लिमीटेडले नेपाल विद्युत प्राधिकरणसँग आवश्यक जनशक्ति मागेपनि नदिएपछि अभाव भएको आयोजनाले जनाएको छ । लामो समयदेखि विभिन्न पद रिक्त रहेपनि दक्ष जनशक्तिको अभावमा पुर्ति गर्न सकेको छैन भने आयोजनामा रहेका एक जना कर्मचारीले धेरै भुमिका एकै पटक निर्वाह गर्नुपर्ने वाध्यता छ ।
आयोजनाका कायममुकामय प्रमुख रहेका विज्ञान श्रेष्ठले एकै पटक धेरै भुमिका निर्वाह गर्नुपरेको छ । उनले प्रमुखको अलावा कम्पनीको सचिव र आयोजनाको सिभिल र इलेक्ट्रिकल प्रमुखको जिम्मेवारी लिएका छन् । आयोजनाको उपप्रमुख पनि खाली छ । कम्पनी सचिवको नाताले बढी समय उनी काठमाण्डौमै बस्नुपर्ने अवस्था छ । उपप्रमुख नभएकोले प्रमुखले गर्नुपर्ने दैनिक कामकाजीको काममा समेत समस्या छ ।
त्यसैगरी आयोजनाका सहायक प्रबन्धक विमल गुरुङले पनि तीन वटै जिम्मेवारी लिएका छन् । योजना र अनुगमन ईकाई प्रमुख रहेका गुरुङको जिम्मेवारी प्रशासन र पुर्वाधार महाशाखाको प्रमुखको रुपमा पनि छ । लेखा शाखामा आठौ तहको कर्मचारी आवश्यक परेपनि अहिले छैटौ तहले हेर्नुपर्ने वाध्यता छ । सिभिल अन्तर्गतको कन्ट्याक्ट शेसनका प्रमुख एवं आयोजना उपप्रबन्धक मोहन गौतमले पनि आवश्यकता अनुसार विभिन्न जिम्मेवारी निर्वाह गर्नुपर्ने अवस्था छ । आयोजनामा हेड वक्र्स, पावर हाउस, वर्क शप लगायतका शाखाको प्रमुख हुनुपर्ने भएपनि त्यो पनि अभाव छ । स्टोर छ तर प्रमुख तोकिएको छैन । आयोजनाको निर्माण स्थल दोलखाको लामा बगर, गोगरमा लेखाको जिम्मेवार व्यक्ति नभएकै कारणले सामान्य पेमेण्टका लागि काठमाण्डौको कार्यालयमै आउनुपर्ने वाध्यता छ ।
आयोजनाको दक्ष जनशक्तिको अभाव रहेको र त्यसको अभावमा एक जना कर्मचारीले धेरै जिम्मेवारी समेत लिनुपर्ने अवस्था रहेको तर यही कारण आयोजना निर्माणमा कुनै असर भने नपरेको कामु आयोजना प्रमुख श्रेष्ठले बताए । ‘मैले नै तीन÷चार वटा जिम्मेवारी लिईरहनु परेको छ, दक्ष जनशक्ति आवश्यकता छ ।’–उनले भने–‘प्राधिकरणसँग मागिरहेका छौ, दिन्छ भन्ने आशामा छौ ।’
माथिल्लो तामाकोशी आयोजनाका एक अधिकारीले भने प्राधिकरणले पटक पटक आवश्यक दक्ष जनशक्ति माग्दा पनि नपठाएको बताए । ‘अपर तामाकोशी लिमीटेडको अध्यक्ष प्राधिकरणकै कार्यकारी निर्देशक रामेश्वर यादव छन्, उनले बोर्डबाट पटक पटक आवश्यक जनशक्ति माग्ने भनेर निर्णय गरेका छन् तर प्राधिकरणबाट पठाएका छैनन् ।’–उनले भने–‘जनशक्ति नपठाउँदा र सबै कर्मचारीलाई उत्तिक्कै जिम्मेवार नबनाउँदा राष्ट्रिय गौरवको आयोजनामा केही समस्या छन् ।’ उनले आयोजनामा अन्य समस्या खासै नभएको र कर्मचारीलाई जिम्मेवारी दिएर फिल्डमा तदारुकताका साथ खटाउनुपर्ने बताए । कार्यकारी निर्देशक यादवले समेत तामाकोशीले मागेको जनशक्ति पठाउन नसकेको स्वीकारे । ‘मागेको छ तर प्राधिकरणभित्र पनि आफ्नो आयोजनामा खटाएर त्यहाँ पठाउने दक्ष जनशक्ति नभएकोले समस्या परेको छ ।’–उनले भने–‘कसरी हुन्छ आयोजनामा दक्ष जनशक्ति अभाव हुन दिँदैनौ, प्राधिकरणबाट पनि छिट्टै पठाउने व्यवस्थामा लागेको छु ।’
आयोजनाका लागि व्यवस्थापन समूह राख्ने व्यवस्था भएपनि झण्डै आयोजनाको निर्माण कार्य ५० प्रतिशत सकिएकोले त्यो आवश्यक नरहेको तर आवश्यक जनशक्ति पुरा गर्नुपर्ने माग माथिल्लो तामाकोशी आयोजनाका अधिकारीहरुको छ । प्राधिकरण, नेपाल टेलिकम, विमा संस्थान, नागरिक लगानी कोष लगायतको लागतमा स्पेशल प्रोजेक्ट भेईकल (एसपीभी) मोडेलमा ४ जेठ २०६८ मा आयोजनाको शिलान्याश भएको थियो । २०७२ सालको चैत्रमा निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको आयोजनाको १६ किलोमिटर सुरुङमध्ये ६० प्रतिशत निर्माण सम्पन्न भैसकेको छ ।
बक्समा
तीन आयोजनालाई लाइसेन्स
उर्जा मन्त्रालयले तीन जलविद्युत आयोजनालाई विद्युत उत्पादन लाइसेन्स दिने निर्णय गरेको छ ।
विद्युत विकास विभागका सुचना अधिकारी गोकर्णराज पन्थका अनुसार, ३६.२ मेगावाटको तीन आयोजनालाई उत्पादन लाइसेन्स दिइएको हो । सास हाइड्रो पावर कम्पनीद्धारा प्रवद्र्धित ३० मेगावाटको दोलखाको खानी खोला आयोजना, जोशी हाइड्रो कम्पनीद्धारा प्रवद्र्धित ३ मेगावाटको इलामको अपर पुवा–१ र गेलुन खोला हाइड्रो पावरद्धारा प्रवद्र्धित ३.२ मेगावाटको सिन्धुपाल्चोकको गेलुन खोला जलविद्युत आयोजनालाई उत्पादन लाइसेन्स दिइएको हो ।

प्रतिक्रिया