नाति फर्काउन ७५ लाखको प्रस्ताव गरेको छैन : दाहाल

काठमाडौं, १६ जेठ । एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहालले आफ्नो नाति फर्काउनका लागि ७५ लाख रुपियाँ दिने प्रस्ताव नगरेको बताएका छन् ।
बुधबारको एक साप्ताहिकमा प्रकाशित ‘प्रचण्ड र सीतालाई नातिको पीर’ शीर्षकको समाचारप्रति ध्यानाकर्षण भएको जनाउँदै दाहालले यस्तो दाबी गरेका हुन् । दाहालको निजी सचिवालयले बुधबार विज्ञप्तिमार्फत उनका पुत्र प्रकाशकी दोस्री पत्नीतर्फका नाति प्रसिद्धलाई फर्काउनका लागि बुहारी सिर्जनासँग दाहालले ७५ लाख रुपियाँको प्रस्ताव नगरेको जनाएको छ । ‘एकीकृत नेकपा (माओवादी)का अध्यक्ष प्रचण्डका तर्फबाट सिर्जना त्रिपाठीको परिवारलाई नाति फिर्ता गर्ने सर्तमा ७५ लाख दिने प्रस्ताव गरिएको’ भन्ने समाचारमा कुनै सत्यता नभएको विज्ञप्तिमा उल्लेख छ । दाहालका निजी सचिव चूणामणि खड्काद्वारा जारी प्रष्टीकरणमा भनिएको छ, ‘नाति फिर्ता गर्ने सर्तमा ७५ लाख दिने प्रस्ताव गरिएको भन्ने समाचारमा कुनै सत्यता नभएको जानकारी गराउन चाहन्छौँ ।’ सो विज्ञप्तिलाई दाहाल–पुत्र प्रकाशले आफ्नो फेसबुक र ट्विटरमा समेत पोस्ट गरेका छन् ।
प्रकाशले तेस्री श्रीमतीका रूपमा बिना मगरलाई लिएर भारततिर गए पनि सिर्जना लाजिम्पाटस्थित निवासमै बस्दै आएकी थिइन् । तर, पछिल्लो समय प्रकाश लाजिम्पाटस्थित आफ्नो निवास फर्केपछि सिर्जना छोरा लिएर कास्कीस्थित माइतीमा बस्दै आएकी छन् ।

प्रतिक्रिया