स्वास्थ्यमा खेलबाड

चितवन, १५ जेठ । स्थानीय प्रशासनले चासो नदिँदा चितवनमा मापदण्डविपरीत निजी अस्पताल सञ्चालन हुँदा सेवाग्राही ठगिन बाध्य भएका छन् । जिल्लामा विभिन्न अस्पताल सञ्चालनका लागि सम्बधित निकायले अनुमति दिए पनि पछिल्लो समयमा जिल्लाका अधिकांश निजी अस्पताल मापदण्डविपरीत सञ्चालित हँुदा अनुगमनको अभावमा सेवाग्राही ठगिन बाध्य भएका हुन् ।
चितवनको पूर्वीभेग खैरहनी गाविसमा रहेको पवन अस्पताल, खैरहनीकै परोपकार अस्पताल र रत्ननगरको रत्ननगर अस्पताल प्रालिको स्वीकृत मिति सकिए पनि नवीकरण नगरी सेवा दिइरहेको जिल्ला जनस्वास्थ्य कार्यालयका जनस्वास्थ्य अधिकृत ईश्वरीप्रसाद पोखरेलले जानकारी दिए । यस्तै, भरतपुरमा रहेको ओएसिस मेडिकल कलेज र नेसनल आँखा अस्पताल पनि दर्ता भएको तथ्यांक कार्यालयमा नभएको बताएका छन् । यीबाहेक अन्य धेरैजसो अस्पताल मापदण्डविपरीत सञ्चालित भएको जानकारी दिए ।
अस्पतालले अस्पतालजन्य फोहोर व्यवस्थापन नगरेको, स्वीकृतभन्दा बढी शय्या राखेर अस्पताल सञ्चालन गरेको, शुल्क तालिका नराखेको कार्यालयकै अर्का जनस्वास्थ्य अधिकृत शोभाकर अधिकारीले बताए । उनले स्वीकृत मापदण्ड पूरा गर्न निजी तथा गैरसरकाकारी स्वास्थ्य संस्था स्थापना, सञ्चालित नीति मापदण्ड एवं पूर्वाधार निर्देशिका ०६१ लाई पालन गर्न भनी अनुमति लिए पनि ती कारबाहीका लागि स्पष्ट नीति नहुँदा समस्या भएको बताए । अस्पतालले वातावरण प्रभाव मूल्यांकन नगराई भौतिक संरचना निर्माण गरेको, सामाजिक उत्तरदायित्वअन्तर्गत निर्वाह गर्नुपर्ने सेवासमेत सर्वसाधारणलाई नदिएको बिरामीको गुनासो छ । हरेक अस्पतालले गरिब तथा असाहयका लागि दिनुपर्ने स्वास्थ्य सेवासम्बन्धी सुविधाको तथ्यांक कुनै पनि अस्पतालमा छैन । अस्पताल सञ्चालनमा तत्काललाई रोक लगाउन स्पष्ट कानुन नहुँदा समस्या भएको बताए ।
भरतपुर नगरपालिका क्षेत्रमा दुई सरकारी अस्पतालसहित २४ वटा अपस्ताल र रत्ननगरमा एक सरकारी, दुईवटा निजी र खैरहनी, माडी र चनौलीमा गरी ११ सहित ३५ वटा अस्पताल सञ्चालनमा छन्  । १५ शय्यासम्म अस्पताललाई क्षेत्रीय निर्देशनालयले, १५ देखि ५० सम्म स्वास्थ्य सेवा विभागले र ५१ देखिका अस्पताल स्वास्थ्य मन्त्रालयले अनुगमन गर्ने कानुनी प्रावधानअनुसार पनि अनुगमनमा समस्या भएको जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख केहरसिंह गोदारले बताए । ती ठाउँमा दक्ष जनशक्ति नरहेको ल्याव टेक्निसियन, फिजिसियन र अनिवार्य रूपमा हुनुपर्ने एमडिजिपी चिकित्सकसमेत प्राय: अस्पतालमा छैनन् ।

प्रतिक्रिया