ताप्लेजुङमा ३७ थान हतियार बुझाइयो

ताप्लेजुङ, १५ जेठ । ताप्लेजुङमा सर्वसाधारणले बुझाएका ३७ थान हतियार प्रहरीले सार्वजनिक गरेको छ । अवैध तथा गैरकानुनी हातहतियार संकलन गर्ने सरकारको अभियानअन्तर्गत सर्वसाधारणले बुझाएका हतियार सार्वजनिक गरिएको हो ।
सरकारको अभियानअनुसार स्थानीय प्रशासनले जारी गरेको सार्वजनिक सूचनाको विभिन्न चरणमा गरी सर्वसाधारणले ३० थान एकनाले भरुवा बन्दुक र सात थान भरुवा बन्दुकको नाल बुझाएका छन् । जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका अनुसार पहिलोपटक जारी भएको ३५ दिने सार्वजनिक सूचनाको अवधिभित्र सर्वसाधारणले दुई थान मात्र हतियार बुझाएका थिए । दोस्रो सूचनाको अवधिमा ३५ थान हतियार बुझाएका थिए ।
जिल्ला प्रहरी प्रमुख डिएसपी गोविन्दप्रसाद आचार्यले पहिलोपटकको सार्वजनिक सूचनाभित्र सिकैंचा गाविस–५ बस्ने आइतराज मादेन र पहलमान मादेनले मात्र एक/एक भरुवा बन्दुक बुझाएको बताए । यस्तै, दोस्रोपटकको सूचनामा थेचम्बु गाविसका सर्वसाधारणले मात्र १२ थान हतियार बुझाएको डिएसपी आचार्यले जानकारी दिए । यसैगरी, अन्य आम्बेगुदिन, ढुंगेसाँघु, साँघु, थुकिमा, लिंखिम, पेदाङलगायतका गाविसका सर्वसाधारणले हतियार बुझाएको प्रहरीले जनाएको छ । यस अभियानबाट अपेक्षा गरेअनुसार सर्वसाधारणबाट हतियार संकलन भने नभएको प्रमुख जिल्ला अधिकारी किरण थापाको भनाइ छ । यहाँको भौगोलिक बनावट, सञ्चार पहँुचको अवस्थालाई ध्यानमा राखी जिल्ला सुरक्षा समितिको बैठकले नागरिकता वितरणको अभियानसम्मलाई सर्वसाधारणसँग भएका अवैध हातहतियार बुझाउनलाई छुट दिने निर्णय भएको प्रजिअ किरण थापाले बताए । हाल नागरिकता वितरण गर्नका लागि टोली गाउँ–गाउँमा पुगेको र अभियानको म्याद आगामी असार ३ गतेसम्मको रहेको प्रशासन कार्यालयले जनाएको छ ।

प्रतिक्रिया