रमिलालाई मीरा भन्छु अनि झस्कन्छु

Haribamsha-n-Mira-souryadaiम दु:खी भएको देख्न चाहँदैनथिन् मीरा । मेरा आँखामा आँसु देख्नु उनका लागि सबैभन्दा पीडादायी क्षण हुन्थ्यो । म चिन्तामा डुब्दा उनी छटपटिन्थिन् । नेपाली दर्शकका लागि त म एउटा हँसाउने पात्र हुँ । पर्दामा यस्तो देखिइन्छ– ‘मानौं, मलाई कुनै दु:खै छैन, रमाइलै–रमाइलो मात्रै छ । म हाँस्न अनि हँसाउन मात्र जान्दछु ।’ वास्तविक जीवनमा पनि म सधैं त्यस्तै होऊँ भन्ने उनको चाहना थियो ।
तर, कति फरक छ पर्दाभित्रको रमाइलो संसार र वास्तविक जिन्दगीमा † त्यहाँ त चित्त बुझाउने ठाउँ पाइन्छ, फगत अभिनय मात्र न हो । कुनै वियोगान्तक कथामा बगेर आँसु झारिएछ भने पनि त्यहाँ मुटु दुखेको हुँदैन । त्यो पीडा कृत्रिम हुन्छ, क्षणिक हुन्छ । अनि, डाइरेक्टरको ‘कट’ आवाजसँगै तुरुन्तै विलीन पनि भइहाल्छ । चाहे संसारकै सबैभन्दा दु:खी पात्रको कथा किन नहोस्, त्यसमा चुर्लुम्मै डुबेर अभिनयको उत्कृष्ट उचाइ छुन चाहन्छ एउटा अभिनेता । यद्यपि वास्तविक जिन्दगीमा त्यो अवस्था भोग्न चाहँदैन । तर, मान्छेको चाहनाभन्दा निकै बलियो हुँदो रहेछ समय । निर्दयी पनि । नचाहेकै पीडाहरू भिडाइदिन्छ, खुसीहरू लुटिदिन्छ । अनि सुखी जिन्दगीलाई क्षणभरमै आँसुमा डुबाइदिएर निरीह पात्रहरूको करुण चित्कारमा मनोरञ्जन लिन्छ सायद।
सुनेको छु, कतिपय श्रीमान् श्रीमतीसँग सबै कुरा खोल्दैनन्, केही न केही लुकाएकै हुन्छन् । म हरेक कुरा उनीसँग सेयर गर्न चाहन्थेँ । सोचेको थिएँ– ‘यथार्थमै जिन्दगीको रथका दुई पांग्राको जस्तो साथ होस् हाम्रो, अनि त्यो साथ मर्दा पनि नछुटोस् †’ तर सबै कुरो चाहेजस्तो हुँदो रहेनछ ।
मान्छेले खोजेको वा चाहेको भरमा भगवान्सँग साक्षात्कार गर्न सक्दैन । जति तपस्या गरे पनि भगवान्को स्थान कुनै वस्तु वा पात्रले लिन सक्दैन । तर, मेरा लागि मीरा नै भगवान् हुन् अनि रमिला श्रीमती । जीवनमा पहिलो पटक गरेको प्रेम बिर्सनै सकिँदैन । बिहान उठेर मान्छे भगवान् सम्झन्छन् । म मीरालाई सम्झन्छु । सुटिङमा पनि मीरालाई सम्झेर क्यामरा ढोग्छु अनि काममा लाग्छु ।
अहिले एउटा टेलिभिजन कार्यक्रम बनाउँदै छु, एन्टेना फाउन्डेसनसँग मिलेर । लोडसेडिङ कम भएपछि यो कार्यक्रम दर्शकबीच आउनेछ । सकेसम्म सबै दर्शकले हेर्न पाउन् भन्ने हाम्रो चाहना हो । छायांकन चलिरहेको छ । बालबालिकामाथिको यातना, बालविवाहजस्ता विकृतिविरुद्ध केन्द्रित हुनेछ । शीर्षक छ, ‘मैले जे भोगेँ’ । आठ भागको छायांकन सकियो । स्थानीय स्तरमा हुने भ्रष्टाचारलाई समेटेर टेलिसिरियल बनाएका छौं । पछिल्लो केही समयचाहिँ किताबको काममा व्यस्त भएँ ।
यति बेला मनमस्तिस्कले पुरानै हरिवंश भएर दर्शकबीच जान तयार छु । तर फिजिकल्ली पहिलेको ठाउँमा फर्कन गाह्रो हुँदो रहेछ । युवा बेलाको जस्तो जोस हुँदो हुँदो रहेनछ । कुनै बेला चार तलाबाट हाम्फाल्न डर लाग्दैनथ्यो, आज चार फिटमै डर लाग्छ । युवा छँदा जुन स्पिडमा काम हुन्थ्यो, अहिले सकिँदैन । पहिलो थकाइ भन्ने थाहै हुँदैनथ्यो, अहिले महसुस हुन थालेको छ । अंगहरू शिथिल हुन थालेका छन् ।
सधैँ चिन्तामा डुबेर हुँदैन । मेरा थुप्रै जिम्मेवारी छन् अझै । पुराना कुरा सम्झेर झोक्राइरहन मात्र हुँदैन । फेरि म एक्लो पनि त छैन । रमिला आइसकेकी छन्, मेरो दु:खमा साथ दिन । म सधैँ तनाबमा बसे उनलाई पनि तनाब हुन्छ । त्यसैले विगतलाई हृदयमा राखेर वर्तमानलाई दैनिकी बनाउन थालेको छु । जसरी हिजो मीराले साथ दिइन्, आज रमिलाले दिँदै छिन् । आफूलाई ५० प्रतिशत पुनरागमन त गराइसकेको पनि छ । पुरानो अवस्थामा शतप्रतिशत फर्कन अझै केही समय लाग्ला । परिवारको साथ हिजोजस्तै छ आज पनि ।
मीराको यादमा एक वर्ष चिन्तामा डुबेपछि अब विस्तारै काममा भुल्न थालेको छु । मान्छेलाई हरेक उमेरमा मायाको सहारा चाहिँदो रहेछ, रमिलाबाट त्यो पाएको छु । यतिखेर कुनै पारिवारिक तनाब छैन । अब रोएर होइन, नरोईकन दर्शकलाई पुरानै कला दिनेछु । मनका पीडालाई थन्क्याएर अगाडि बढ्ने दृढता गरेको छु ।
मीरासँग सत्ताइस वर्ष बिताएँ । उनले मेरो कला–साहित्य सबै बुझेकी थिइन् । मेरो प्रगतिको मार्ग नै उनै हुन् । रमिला आएको धेरै भएको छैन । उनलाई कला, साहित्य, संगीत धेरै थाहा छैन, बुझ्न समय लाग्ला । मीराले मेरो सुरुवातदेखिकै दु:ख बुझिन्, अब रमिला पनि विस्तारै बुझ्दै छिन् । सँगै सुटिङमा जान्छिन् । पहिला छोरा साना थिए । मीराको धेरै समय उनीहरूको हेरबिचारमा बित्थ्यो । अब त छोराहरु जवान भइसके, आफ्नै ढंगले चल्न सक्छन् । रमिलालाई फुर्सद छ । मसँग जता पनि जान सक्छिन् ।
Hari-bansha-n-Ramila-souryaरमिला घरमा एक्लै बोर होउन् भन्ने चाहन्नँ । त्यसैले सँगै लिएर हिँड्छु । फेरि उनलाई एक्लै छोडेर आफू बाहिर जाँदा मेरो आधा मन घरतिरै फर्किरहन्छ । सुटिङबाहेक अन्य काममा बाहिर जाँदा पनि सँगै हुन्छौं । दिनमा अठार–उन्नाइस घन्टा एक छिन पनि टाढा हुन्नौं । सँगै हुँदा मलाई राम्ररी बुझ्ने मौका पाउँछिन् । मीराले जस्तै उनी पनि मलाई  हौस्याउँछिन् । पहिले जे कुरामा पनि मीरासँग सल्लाह लिन्थेँ, अहिले उनीसँग । उनी मलाई आवश्यक सुझाव दिन्छिन्, आफ्ना रचना सबैभन्दा पहिले उनैलाई देखाउँछु ।
संसारमा कसैको पनि रुप र स्वभाव एकअर्कासँग पूरै मिल्दैन । मीराका केही आफ्नै विशेषता थिए, रमिलाका पनि आफ्नै छन् । तर, जुन प्रेरणा मीराबाट पाउँथेँ, रमिलाबाट पनि पाउँदै छु । झुक्किएर कयौँ पटक रमिलालाई मीरा भन्न पुग्छु । अनि झस्किएर भावुक हुन्छु । फेरि लाग्छ– मीराको आत्मा रमिलाका रूपमा आएको हो, मेरो दु:खको सहारा बनेकी छन् । रमिलामा मीराको रूप देख्न थालेको छु । फेरि उनलाई मीरा भन्दा आफ्नो अस्तित्व हराएर दु:खी होलिन् भन्ने डर लाग्छ । त्यसैले रमिला नै भन्छु । उनको पनि होला, आफ्नै अस्तित्वमा जिउने रहर । त्यसैले चाहेर पनि उनलाई सधैं मीरा भनिरहन सक्दिनँ ।
कहिलेकाहीँ सपनामा मीरालाई देख्छु । सपनामा उनी दु:खी भएको वा गुनासो गरेको कहिल्यै पाउँदिनँ । सुनेको थिएँ, ‘कुनै पनि महिलालाई आफ्नो स्थानमा अर्को महिला स्वीकार्य हुँदैन, त्यो अवस्था उनीहरूका लागि सबैभन्दा दु:खदायी हुन्छ ।’ मीरा पनि भन्थिन्– ‘म हुँदाहुँदै तपाईंले अर्की ल्याउनु भो भने मेरा लागि सबैभन्दा दु:खको क्षण हुनेछ ।’ मलाई धेरै माया गर्थिन्, कसैसँग बाँड्न चाहन्नथिन्, त्यसैले त्यसो भन्थिन् । स्वाभाविक पनि हो । आज मीरा नहुँदा उनको स्थानमा रमिला छिन् । तर, उनको आत्मा आजको मेरो निर्णयबाट दु:खी छजस्तो मलाई लाग्दैन । किनकि सपना मान्छेको अनुभूति हो, त्यत्तिकै देखिँदैन । उनले सबैभन्दा माया गर्ने मान्छे मै थिएँ । आज म सुखी भएकोमा उनको आत्मा पनि पक्कै खुसी छ ।
मैले दोस्रो बिहे नगरेको भए छोराहरूलाई चिन्ता हुन्थ्यो । उमेरका हिसाबले उनीहरू केही गर्ने बेलामा छन् । म एक्लै घरमा बस्दा उनीहरूको मन मलाई नै सम्झेर छटपटाइरहनुपथ्र्योे– बुबा रक्सी खाएर लडिरहेका होलान् वा कोठामा बसेर रोइरहेका होलान् भनेर । साँच्चै दोस्रो बिहे नगरेको भए म रोगी हुन्थेँ, डिप्रेसनमा पुग्थेँ होला । छोराहरूका लागि पनि यति त गर्नु नै थियो । अहिले उनीहरू ढुक्क छन्, बुबासँगै आमा पनि छिन् भनेर ।
हिजोआज ‘बायोग्राफी’ लेख्ने फेसनजस्तै भएको छ । मलाई पनि जीवनको कुनै समयमा किताब लेखौंला भन्ने थियो । जब मीरासँग वियोगको दुर्घटना सहनुपर्‍यो, भित्रभित्रै उकुसमुकुस हुन थालेँ । मनका पीडा कसैलाई सुनाउन पाए हलुका हुन्थ्यो कि जस्तो लाग्ने । तर, कसलाई ? मेरो कुरा सुन्ने फुर्सद पनि त हुन्यो मान्छेहरूसँग । कसको समय बर्बाद पार्दै हिँडौं । पीडा जसको हो, त्यसले उसैलाई बढी छुन्छ । सुन्नेलाई केही महसुस होला, तर शतप्रतिशत हुँदैन । निर्णय गरेँ– अरूलाई सुनाउनुभन्दा कापीलाई सुनाउँछु । धेरै वियोगपूर्ण कविता लेखें । आफ्ना उकुसमुकुस कागजलाई सुनाएँ । ऊ नाजवाफ भएर मलाई सुनिरह्यो । त्यो एक वर्षको समयमा अरू कुनै रचनात्मक कार्य गर्न सकिनँ ।
साहित्यकार डाक्टर रवीन्द्र समीर सधैँ भन्नुहुन्थ्यो– ‘दाइ, तपाईंले किताब लेख्न पर्‍यो ।’ आफूले लेखेको कुरा उहाँलाई देखाएँ । मेरो पहिलो पाठक उहाँ नै हो । राम्रो लागेछ, सुझाव दिनुभयो– ‘यसमा विगतको अनुभूति पनि थप्नुपर्‍यो ।’ पल्टाउन थालेँ विगतका पत्रहरू अनि वियोगका अक्षरहरूका बीच तिनलाई भर्न थालेँ । साहित्यकार अमर न्यौपानेले पनि सुझाव दिनुभयो । पिडा कम, पहिलेका भोगाइ बढी राखेर किताब तयार भयो– ‘चिना हराएको मान्छे ।’
यति बेला जीवन सहज भइसकेको छ । सहजताको मतलब बैँस फर्केजस्तो उत्ताउलो पनि होइन । पुरानो यादमा चुर्लुम्म डुबेर बसेको पनि छुइनँ । आफ्नो जिम्मेवारी पूरा गर्नु छ । उमेर र जिम्मेवारीअनुसार जसरी प्रस्तुत हुनुपर्ने हो, त्यसै गरी अगाडि बड्ने प्रयास गर्दै छु । मैले जानेको कलासंस्कृति हो, त्यसका लागि उमेर र शरीरले साथ दिँदासम्म काम गर्छु ।
प्रस्तुति : चमिना भट्टराई

प्रतिक्रिया