विराटनगर र भैरहवाको विजयी सुरुआत

bhairawaकाठमाडौं, ९ जेठ । राजधानीमा जारी यु–१९ महिला राष्ट्रिय क्रिकेट प्रतियोगितामा क्षेत्र नम्बर एक विराटनगर र क्षेत्र नम्बर चार भैरहवाले विजयी सुरुआत गरेका छन् । समूहको आफ्नो पहिलो खेलमा बुधबार विराटनगरले क्षेत्र नम्बर ६ वैतडीलाई २९ रनले पराजित गर्‍यो भने क्षेत्र नम्बर आठ पोखराविरुद्ध भैरहवा आठ विकेटले विजयी भयो ।
टस जिती पहिला ब्याटिङ गरेको विराटनगरले निर्धारित २५ ओभरमा १०८ रन जोडेको थियो । वैतडीले १८ ओभरमा सम्पूर्ण विकेट गुमाउनुअघि ७९ रन जोड्यो । बैतडीलाई सस्तैमा समेट्नेक्रममा संगीता राई, सपना श्रेष्ठ र यान्जी शेर्पाले समान दुई विकेट लिए । वैतडीका लागि सोनु खड्काले सर्वाधिक २५ रन जोडिन् । यसअघि विराटनगरका लागि कप्तान साजन बुढाथोकीले सर्वाधिक २५ रन जोडिन् भने रोमा थापाले २१ र काजोल श्रेष्ठले १५ रनको योगदान गरे ।
बुधबार नै भएको अर्को खेलमा भैरहवालाई जित दिलाउन सोनिया पौडेलले सानदार प्रदर्शन गरिन् । सोनियाले पाँच विकेट लिएपछि पहिला ब्याटिङ गरेको पोखरा २०.३ ओभरमा ६८ रनमा समेटिएको थियो । वर्षा रानाले तीन विकेट लिँदै सोनियालाई बलियो साथ दिइन् । भैरहवाले १२.२ ओभरमा दुई विकेट गुमाएर लक्ष्य पूरा गर्‍यो । भैरहवाका लागि प्रारम्भिक ब्याट्सवुमन प्रतिक्षा बस्यालले २९ रनको योगदान गरिन् । यसअघि सोनियाले पाँच ओभरमा एक मेडन राख्दै ११ रन खर्चिएपछि पोखराको इनिङ गतिलो योगफलसम्म पुग्न सकेन ।

प्रतिक्रिया