चलचित्र पत्रकारिता सम्मान तथा पुरस्कार प्रदान

Kalakarकाठमाडौं : रंग पत्रकारितामा लामो समयदेखि क्रियाशील तीन पत्रकारलाई राजधानीमा सम्मान तथा  पुरस्कृत गरियो । चलचित्र पत्रकार संघ केन्द्रीय समितिले मंगलबार गौशालास्थित होटल इन्द्रेणी हिमालयमा आयोजित कार्यक्रममा विजयरत्न तुलाधरलाई चलचित्र पत्रकारिता सम्मान ०६९ बाट सम्मानित गरियो । कार्यक्रममा प्रमुख अतिथि राष्ट्रीय चलचित्र नीति निर्माण समितिका संयोजक यादव खरेलले तुलाधरलाई ट्रफी दिएर सम्मान गरे । तुलाधरसँग लामो समयसम्म  विभिन्न छापामाध्यममा चलचित्र पत्रकारिताका गरेको अनुभव छ । त्यस्तै पत्रकार सञ्जीव सापकोटा र सन्तोष रिमाललाई जनही १५ हजार पाँच सय पचपन्न रुपियाँ राशिसहितको चलचित्र पत्रकारिता पुरस्कार ०६९ बाट पुरस्कृत गरियो । सञ्जीव लामो समयदेखि इलोक्ट्रोनिक मिडियामार्फत् रंगपत्रकारिताका साथै अभिनयमा समेत क्रियाशील छन् भने सन्तोष एक दशकदेखि विभिन्न दैनिक पत्रिका हुँदै हाल नागरिक दैनिकमा कार्यरत छन् ।
सम्मानित तुलाधरले सम्मानपत्रसँगै एकथान सुट, मोबाइल, घडी, दुई जनालाई डिनर कुपनका साथमा विभिन्न गिफ्ट ह्याम्पर पाए भने सापकोटा र रिमालले एक थान सुट, मोबाइल, कुपन, घडीलगायतका थुप्रै उपहार प्राप्त गरे । सम्मानित तथा पुरस्कृतलाई नायक राजेश हमालले टीका, जीवन लुईंटेलले बुके र नेम प्लेट, नायिका करिश्मा मानन्धरले स्ल्यास, यादव खरेलले ट्रफी, चलचित्र पत्रकार संघका अध्यक्ष बिदुर गिरीले सम्मानपत्र, पत्रकार महासंघका अध्यक्ष शिव गाउँलेले ढाकाटोपी, चलचित्र संघका महासचिव प्रदीपकुमार उदय, डिसियनका प्रबन्धनिर्देशक अशोक शर्मा, नायक आर्यन सिग्देल, चलचित्र पत्रकार संघका संस्थापक अध्यक्ष भरत शाक्य, निवर्तमान अध्यक्ष शान्ति प्रिय, ओस्कार कलेजका प्रिन्सिपल विनोद पौडेललगायतले पुरस्कृत तथा सम्मानित व्यक्तिलाई पुरस्कार दिए ।
चलचित्र पत्रकार संघको स्थापना, त्यसका चुनौती र सम्मानित तथा परस्कृत व्यक्तिका बारेमा तयार पारिएको छोटो जानकारी मुलक डकुमेन्ट्रीबाट सुरु भएको कार्यक्रमले औपचारिक रूप भने अभिनेता राजेश हमालको चलचित्र पत्रकारिता, कलाकार र चलचित्र पत्रकारको सम्बन्धलगायतको विषय विचार पछि मात्र लियो । कार्यक्रममा अभिनेता हमालले चलचित्र पत्रकार र कलाकारबीच हेट एन्ड लबको सम्बन्ध रहनुपर्ने धारण राखे । उपस्थित सबैलाइ संघका तर्फबाट महासचिव लक्ष्मण सुवेदीले स्वागत गरे ।
कार्यक्रममा संयोजक खरेलले चलचित्र पत्रकारिता दिवसको शुभकामना दिँदै चलचित्रसँग संघसंस्थाको सहयोगमा आफूले जतिसक्दो छिटो चलचित्र नीति निर्माण गरेर सरकारलाई बुझाउने बताए । सम्मानितका तर्फबाट तुलाधरले विभिन्न चुनौतीलाई स्वीकार गर्दै आजको अवस्थामा आइपुग्दा संघले कामको मुल्यांकन गरेकोमा हर्ष व्यक्त गरे । त्यस्तै पुरस्कृत सापकोटाले आफ्नो खुसी व्यक्त गर्ने कुनै शब्द नरहेको बताए । अर्का पुरस्कृत रिमालले नेगेटिभ मात्र पत्रकारले लेख्छन् भन्ने कलाकर्मीको आरोपलाई खन्डन गर्दै पत्रकारले सधँै सत्य समाचार बाहिर ल्याउने र कतिलाई त्यही समाचार मीठो हुने कतिलाई त्यही तीतो लाग्ने धारणा राखे । उनले भने, ‘समाचार समाचार हो त्यो नेगेटिभ र पोजेटिभ हँुदैन’ ।
चलचित्र निर्माता संघका अध्यक्ष राजकुमार राई, निर्देशक समाजका अध्यक्ष दिनेश डिसी । कलाकार संघका अध्यक्ष नवल खड्कालगायतले संघलाई शुभकामना दिए । संघका अध्यक्ष गिरी कलाकर्मीले मिडियामा नकारात्मक समाचार आयो भन्नुभन्दा पनि त्यस्ता समाचार बन्ने क्रियाकलाप नगर्न सुझाव दिए । केक काटेर चलचित्र पत्रकारिता दिवस मनाइएको कार्यक्रममा वर्ष ०७० को चलचित्र पत्रकारिता सम्मान पत्रकार अनन्त वाग्ले र पुरस्कार पत्रकार अशोक प्यासी राई र जयन सुब्बा मानन्धरलाई दिइने घोषणा गरियो । (सौस)

प्रतिक्रिया