जनकपुरधाम र नेपालगन्ज सेमिफाइनलमा

काठमाडौं, ८ जेठ । साविक विजेता क्षेत्र नम्बर सात जनकपुरधाम तथा उपविजेता क्षेत्र नम्बर पाँच नेपालगन्ज राजधानीमा जारी यु–१९ महिला राष्ट्रिय क्रिकेटको सेमिफाइनल प्रवेश गरेका छन् ।  मंगलबार समूह ‘ए’को सम्पूर्ण खेल सकिँदा जनकपुरधाम विजेता र नेपालगन्ज उपविजेता बने । जनकपुरधामको तीन खेलबाट चार अंक भयो । तीन अंक जोडेको जनकपुरधामले समान अंक भएको क्षेत्र नम्बर दुई वीरगन्जलाई नेट रनरेटमा पछाडि पार्‍यो । सोमबार वर्षाका कारण खेल रद्ध भएपछि नेपालगन्ज र वीरगन्जलाई एक/एक अंक बाँडिएको थियो ।
समूहको पहिलो खेलमा पराजित भए पनि त्यसपछिका लगातार खेलमा विजयी हुँदै जनकपुरधामले अन्तिम चारको यात्रा तय गरेको हो । आफ्नो तेस्रो तथा अन्तिम समूह खेलमा जनकपुरधामले मंगलबार क्षेत्र नम्बर दुई वीरगन्जलाई आठ विकेटले पराजित गर्‍यो । पहिला ब्याटिङ गरेको वीरगन्जले निर्धारित २५ ओभरमा ७२ रन जोडेको थियो । जनकपुरधामले १७.१ ओभरमा दुई विकेट गुमाएर लक्ष्य भेटायो । प्रारम्भिक ब्याट्सवुमन शान्ति चौधरीले १९, कप्तान उमा भुजेलले १३ र ममता चौधरीले १२ रन जोडिन् ।
जनकपुरधामले २५ अतिरिक्त रन पाएको थियो । यसअघि शान्ति चौधरीले तीन तथा ममता चौधरीले र कृतु दाहालले समान दुई विकेट लिएपछि जित्नैपर्ने दबाबमा रहेको वीरगन्जले चुनौतीपूर्ण योगफल तयार गर्न सकेन । पहिलो खेलमा नेपालगन्जसँग पराजित भएको जनकपुरधामले सोमबार दोस्रो खेलमा क्षेत्र नम्बर तीन काठमाडौंलाई हराएको थियो ।
एक खेल अगावै समूह चरणबाट बाहिरिने निश्चित भएको काठमाडौंले अन्तिम खेलमा नेपालगन्जलाई सुपर ओभरमा हराएर सान्त्वना बटुल्यो । सुपर ओभरमा १२ रनको लक्ष्य पाएको नेपालगन्जले ५ रन मात्र जोड्न सक्यो । यद्यपि, वीरगन्जको हारले नेपालगन्जको यात्रा अगाडि बढ्नबाट रोकिएन । अब समूह ‘बी’का खेलहरू सञ्चालन हुने छन् । समूह ‘बी’मा क्षेत्र नम्बर १ विराटनगर, क्षेत्र नम्बर ४ भैरहवा, क्षेत्र नम्बर ६ वैतडी र क्षेत्र नम्बर ८ पोखरा रहेका छन् ।

प्रतिक्रिया