माथिल्लो तामाकोसीको ५० प्रतिशत काम सकियो

Tamakoshiलामाबगर (दोलखा), ७ वैशाख । स्वदेशी लगानीमा निर्माण भइरहेको नेपालकै पहिलो माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको ५० प्रतिशत काम सकिएको छ ।
नेपाल विद्युत् प्राधिकरणले निर्माण गरिरहेको अधिकांश जलविद्युत् आयोजनाको निर्माणमा ढिलाइ भइरहेको बेला दुई वर्षअघि निर्माण सुरु भएको ४ सय ५६ मेगावाटको माथिल्लो तामाकोसी आयोजनाको निर्माण कार्य ५० प्रतिशत सकिएको हो । सरकारद्वारा राष्ट्रिय गौरवको आयोजना घोषित माथिल्लो तामाकोसी आयोजना दोलखा जिल्लाको लामाबगर गाविसमा निर्माण भइरहेको छ ।
प्राधिकरणको सहायक कम्पनीको रूपमा स्थानीय समुदाय तथा नेपालकै सरकारी र अर्ध सरकारी निकायको सहभागितामा स्पेसल प्रोजेक्ट भेइकल (एसपिभी) मोडेलमा ४ जेठ ०६८ मा आयोजनाको निर्माण कार्य सुरु भएको थियो । ‘आयोजना निर्माणको दुई वर्षमै हामीले करिब ५० प्रतिशत काम पूरा गरेका छौँ ।’– आयोजनाका कायममुकायम प्रमुख विज्ञान श्रेष्ठले भने– ‘निर्धारित चैत्र ०७२ भित्रै आयोजनाको निर्माण कार्य पूरा गर्ने अठोटका साथ द्रुतगतिमा काम भइरहेको छ ।’
आयोजनाका अनुसार, कुल सुरुङ १६ किलोमिटर मध्ये ६० प्रतिशत काम सकिएको छ । ८ किलोमिटर मुख्य सुरुङमध्ये ४४ प्रतिशत, ३ किलोमिटर टेलरेसमध्ये ५७ प्रतिशत तथा विद्युत् गृह र अन्य अडिटको ५ किलोमिटर सुरुङमध्ये ८० प्रतिशत काम सकिएको छ । ‘१६ किलोमिटर मुख्य सुरुङ रहेकोमा ९.५ किलोमिटर सकिएको छ, अन्य सुरुङको निर्माण कार्य पनि द्रुतगतिमा भइरहेको छ ।’– आयोजनाका कार्यकारी प्रबन्धक मोहनप्रसाद गौतमले भने । लट नम्बर १ अन्तर्गत आयोजनाको सुरुङ, बाँध, भूमिगत विद्युत् गृहलगायत निर्माणका लागि चार वर्षभित्र सक्ने गरी चीनको सिनो हाइड्रोसँग सम्झौता भएको थियो ।
आयोजनाको भूमिगत गृहका लागि ठाडो सुरुङको निर्माण कार्य भइरहेको छ भने बाँध निर्माणको कार्य २७ प्रतिशत सकिएको छ । त्यसैगरी लट नम्बर २ अ अन्तर्गत हाइड्रोमेकानिकल कार्यका लागि भारतको टेक्सम्याक्लो रेल एन्ड इन्जिनियरिङ लिमिटेडसँग फागुन ०६८ मा वैशाख ०७२ भित्र सम्पन्न गर्ने गरी सम्झौता भएको थियो । त्यसैगरी मेकानिकल तथा इलेक्ट्रिकल कार्यका लागि अस्ट्रियन एन्द्रिज हाइड्रो जिएमबीचसँग ०६८ फागुनमै चैत्र ०७२ भित्र निर्माण सम्पन्न गर्ने उद्देश्यसहित सम्झौता भएको छ । त्यसैगरी खिम्तीदेखि गोंगरसम्मको ४७ किलोमिटर लामो प्रसारण लाइन निर्माणका लागि गत पुसमा भारतीय केइसी इन्टरनेसनल लिमिटेडसँग ०७२ असारभित्र सम्पन्न गर्ने गरी सम्झौता भइसकेको छ । आयोजनामा परामर्शदाताको काम नरकन्सल्टट्यान्टले गरिरहेको छ । ४ सय ५० विदेशी नागरिकसहित १४ सय ५० नेपाली आयोजना निर्माणमा सक्रिय छन् ।
निर्माण सम्पन्न भएपछि आयोजनाले वर्षको २ अर्ब २८ करोड युनिट विद्युत् उत्पादन गरी १० अर्ब रुपियाँ बराबरको आम्दानी गर्ने आयोजनाका सहायक प्रबन्धक विमल गुरुङले जानकारी दिए । ‘उत्पादन लागतको हिसाबले अहिलेको सबैभन्दो सस्तो आयोजना पनि यही हो, स्वदेशी लागत जुटाएर बनाइएको भएकोले यो नेपालकै लागि नमुना बन्ने निश्चित छ ।’– उनले भने– ‘स्थानीय समुदाय र राजनीतिक दलको सहयोग भएकोले समयमै बन्ने निश्चित छ ।’ आयोजनाले भने अझै अन्तर मन्त्रालय समन्वयको अभावको कारण विस्फोटक पदार्थ समयमै ल्याउनका लागि समस्या परेको जनाएको छ । ३५ अर्ब २९ करोड रुपियाँको लागतमा निर्माण हुने आयोजनाका लागि हालसम्म करिब १२ अर्ब २० करोड रुपियाँ खर्च भइसकेको छ । आयोजनामा प्राधिकरणको ४१ प्रतिशत, नेपाल टेलिकमको ६ प्रतिशत, नागरिक लगानी कोषको २ प्रतिशत र राष्ट्रिय बिमा संस्थानको २ प्रतिशत तथा १५ प्रतिशत सर्वसाधारणको, १० प्रतिशत दोलखावासी र बाँकी २४ प्रतिशत प्रवद्र्धक कम्पनीहरूका कर्मचारी तथा सञ्चयकर्ताको सेयर रहनेछ ।
०४२/४३ सालमा जाइकाले कोसी नदीको गुरुयोजना पहिचानको क्रममा पत्ता लागेको तामाकोसी आयोजनाको ०५९ सालमा पूर्व सम्भाव्यता अध्ययन, ०६२ मा सम्भाव्यता र ०६५मा विस्तृत इन्जिनियरिङ डिजाइन पूरा गरिएको थियो । स्वदेशी लगानीकर्ताबाटै निर्माण गर्ने प्राधिकरणको प्रयासस्वरूप प्राधिकरणलगायतका सरकारी र अर्धसरकारी निकाय सहभागी भएर स्वायत्त संस्थाको रूपमा अपर तामाकोसी हाइड्रो पावर कम्पनी स्थापना गरिएको हो । आयोजनाले चरिकोटदेखि सिंगटीसम्मको ३५ किलोमिटर बाटो स्तरोन्नति गरेको छ भने त्यहाँदेखि लाम बगरसम्मको २८.५ किलोमिटर मोटरबाटो भने निर्माण गरेको थियो । आयोजना राजधानी काठमाडौंबाट झन्डै २ सय ६ किलोमिटर टाढा पर्छ ।

प्रतिक्रिया