स्वाधीनता र राष्ट्रियताको रक्षार्थ सहमति जरुरी

Vijaya-Narshing-Kcराष्ट्रिय विभूतिले सम्मानित पृथ्वीनारायण शाहको एकीकरणपश्चात् नेपालमा राजसंस्थाले समग्र राष्ट्रको स्वाधीनता, स्वतन्त्रता र सार्वभौमको रक्षा राष्ट्रिय पहिचान, सुशासन स्थापना गर्दै राष्ट्रको अस्मितालाई बचाएर राख्न सफल भएका थिए । आज हामी त्यही पहिचानस्वरूप नेपाली भनेर विश्वको सामु गर्व गर्छौं । राष्ट्र, राष्ट्रियता र राष्ट्रवादको पक्षमा हाम्रा पूर्वजहरूको योगदान, बलिदान र पौरख गाथाको इतिहास बनेको छ । राष्ट्रवादी शक्तिले देशको मौलिक परम्परा संस्कृति तथा भूगोलअनुसार देशअनुकूलका साथ सिद्धान्त, नीति, कार्ययोजनाअनुसार रगत र पसिनाबाट सिर्जित नेपाललाई देशकाल, परिवेश तथा परिस्थितिअनुसार राजनीतिक सामाजिक, आर्थिक, आध्यात्मिक पक्षलाई समेटेर स्थिरता, सामाजिक सद्भाव तथा विकासको मार्गमा लामो समयसम्म डोहोर्‍याइरहेको थियो ।
कांग्रेसबाट बिपी, कृष्णप्रसाद भट्टराई तथा गणेशमान, एमालेबाट मदन भण्डारी तथा मनमोहन अधिकारी, माओवादीबाट निर्मल लामाको आदर्श र बलिदान रहेको बहुदलीय व्यवस्थामा आधारित सिद्धान्तबाट राज्य सञ्चालन गर्ने जनताको चाहनाबमोजिम नेपालमा ०४६ को जनआन्दोलन मार्फत ०४७ विश्वको सर्वोत्कृष्ट प्रजातान्त्रिक संविधान निर्माण गरियो । कांग्रेस, एमाले तथा माओवादी संवैधानिक राजतन्त्रमा बहुदलीय संसदीय व्यवस्थामा आधारित भई राजसंस्थाको अभिभावकत्वमा प्रजातान्त्रिक अभ्यासमा देशमा राजनीतिक आर्थिक सामाजिक आध्यात्मिक पक्षले आफ्नो गति लिइरहेको थियो । ०४७ को संविधानदेखि ०६३ को अन्तरिम संविधानसम्मको यात्रा पार गर्दागर्दै नेकपा (माओवादी)ले राष्ट्रियता र स्वाभिमानका मुद्दा उठाएर सुरु गरेको १० वर्षको जनयुद्धमा १७ हजारभन्दा बढी निर्दोष नेपालीको बलिदान तथा १९ दिने जनआन्दोलनको भावनाविपरीत चारदलीय संयन्त्रमार्फत ११ बँुदे सहमति र २५ बुँदे बाधाअड्काउ फुकाउ आदेशको भरमा सत्ता भागबन्डामा रुमल्लिएपछि वैदेशिक हस्तक्षेप बढ्न गई देशको स्वाधीनता तथा राष्ट्रियता नै खतरामा परेको छ । आफ्नै सहयात्री वैद्य समूहलाई पन्छाएर दिल्लीमा १२ बुँदे सम्झौतामार्फत लोकतान्त्रिक व्यवस्था स्विकार्ने प्रतिबद्धता गरी शान्तिप्रक्रियामा आएपछि आफ्ना मुख्य मुद्दाहरूमा सम्झौता गर्दै सत्ताकेन्द्रित राजनीतिक गतिविधि अगाडि बढाउने प्रयत्न गरिरहेको छ । फलस्वरूप ‘कुकुरको टाउको देखाएर खसीको मासु बेच्न’ प्रतिस्पर्धा गर्ने सहमति र सम्झौता गरेर झुठमुटको सपना बाड्दै जनता झुक्याएर सत्ता र भत्तामा रमाउन पुगेका प्रचण्डले अब पहाडेको मुकुन्डो फुकालेर मधेसीको मुकुन्डो धारणा गर्ने मनसाय बनाएका छन् । सातौँ हेटौंडा अधिवेशनबाट सर्पले जस्तै काँचुली फेर्ने कोसिस स्वरूप छेपारोले रङ बदले जस्तो रङ बदल्दै धोकेवाज तथा झुटको राजनीतिक व्यापार अब धेरै दिन चल्ने अवस्था छैन ।
गणतन्त्र नेपालमा गिरिजाको राष्ट्रपति बन्ने सपना साकार पार्न स्वार्थी चरित्र प्रदर्शन गर्दै सत्तामा रहँदा माओवादीलाई शक्ति प्रयोग गरेर कुल्चिन पछि नपर्ने तर राजनीतिक स्वार्थ र अवस्था हेरी माओवादी शक्तिको आड भरोसामा उभिएर पुन: अवसरको फाइदा उठाउँदै एमाओवादीको एजेन्डा गणतन्त्र र संघीयताको दुहाई दिएर लोकतान्त्रिक संविधानलाई समेत कुल्चिन पछि नपर्ने विगतका इतिहासले ‘कांग्रेस सत्ताका लागि जे गर्न पनि सक्दछ’ भन्ने चरितार्थ प्रस्तुत गर्दै ‘विनाशकाले विपरीत बुद्धि’ हचुवाको भरमा आफैँले घोषणा गरी राजनीतिक जुवा खेल्दा पासा पल्टिन गई आज अलपत्र हुन पुगेको छ । गणतन्त्रको स्थापनापश्चात् वामशक्तिको वर्चस्व हुन गई लगातार सत्ता एकाधिकार गर्न सफल भए भने कांग्रेस बलियो रूपमा स्थापित भएको प्रतिद्वन्द्वी एमाओवादीसँग राजनीतिक प्रतिस्पर्धा गर्नपर्ने अवस्था सिर्जना भएको छ । माओवादीको गणतन्त्र र संविधानसभाको एजेन्डामा जाँदा आज थाङ्नामा सुत्न बाध्य परेपछि ‘के सोचे मैले के भयो अहिले’ भनेर कांग्रेस छटपटाउन थालेको छ । गणतन्त्रमा कांग्रेसको विगतमा जस्तो कुनै भूमिका नभएपछि थाङ्नामा सुताएको तथ्य कांग्रेसका प्रभावशाली नेताहरूले नै स्वीकार गरेका कारण ‘चोक्टा खान गएकी बूढी झोलमा डुबेर मरी’ उखानको चरितार्थ सिद्ध हुन गएको छ । लाउडा र चेज एयरमा देशविदेश सयर गर्दै एकलौटी ढंगले सत्ता र भत्तामा मोजमस्ती गरेको कांग्रेस प्रतिशोधको राजनीतिमा लागेर १२ बुँदे दिल्ली सम्भmौतापछि बिपीको सिद्धान्तविपरीत माओवादीको एजेन्डा स्विकार्नु ठूलो गल्ती भएको महसुस गर्न थालेका छन् । त्यसैले आज आफैँले हत्या गरेको प्रजातन्त्रको लास भए पनि जोगाई देऊ भन्दै असंवैधानिक बहालवाला प्रधानन्यायाधीशको सरकार प्रमुखसँग भिख माग्दै र घाँटी सुकाउँदै रुन्चे स्वरमा लटपटे जिब्रो फटकारी रहँदा जनता ‘दु:ख पाइस मंगले आफ्नो ढंगले’ भन्ने गरेका छन् ।
गिरिजाको देहावसानसँगै कांग्रेस पुरानो नीति राजसंस्थासहित बहुदलीय व्यवस्थामा फर्किएको बताएका प्रचण्ड आफू अग्रगामी परिवर्तनका लागि पहिचानसहित गणतन्त्रको संविधान बनाउन युरोपयिन युनियनको आर्थिक सहायता तथा समर्थन रहेको ककसको सहयोग लिई दुई–तिहाई बहुमत ल्याउने तयारीमा गठबन्धन बनाउने उद्घोष गरिरहका छन् । इतिहासको पानाबाट नै देशको भविष्यको रेखा कोरिन्छ अन्यथा देश दुश्चक्रमा फस्ने गर्छ । इतिहास सबैको साझा हुन्छ, त्यसलाई चेतनशील नागरिकले सम्मान गर्न सक्नुपर्छ । वर्तमान कालखण्डमा इतिहासलाई केही दुश्चक्रीहरूद्वारा आफ्नो स्वार्थ अनुकूल गलत व्याख्या गरी भ्रम सिर्जना गरी राष्ट्रलाई अँध्यारो गन्तव्यतर्फ लैजान खोजिरहेका छन् । अत: नेपालको राजनीतिमा भारत चीन तथा पश्चिमा राष्ट्रहरूको चासो दिन प्रतिदिन बढ्दै जानु तथा संक्रमणकालीन अवस्थामा देश गुज्रिरहेको अवस्थामा तथा राष्ट्रवादी शक्ति लोकतान्त्रिक शक्ति तथा वामपन्थी शक्तिको सहकार्यविना कुनै राष्ट्रको एक्लो प्रयासले ठोस निकास निकाल्न सक्ने अवस्था छैन ।
हाम्रो देशमा प्रभुत्व जमाउन खोज्ने विदेशी शक्तिहरूले राज्यबाट केही उपेक्षित भएको समूह धर्म, क्षेत्र, वर्ग, लिंग तथा जातिहरूको अधिकारका लागि भनेर भ्रम सिर्जना गरेर अस्थिरता ल्याउन खोजेका छन् । विदेशी शक्तिहरूको रणनीतिमा फसेर राष्ट्रघाती नेता तथा विदेशी शक्तिको प्रभावमा केही आयातीत र उक्साहट तथा थोपरिएको नीति, सिद्धान्त र विचार समूहको जमात उत्पन्न गरी विदेशी शक्तिको उक्साहटका कारण हाम्रो देशमा राष्ट्रघाती शक्ति र प्रजातन्त्रसहितको राष्ट्रवादी शक्तिबीचको द्वन्द्व आजको परिवेशमा देशको प्रमुख मुद्दा बनेको छ । यही मुद्दामा अवसरवादी राजनीतिक समूहले आफ्नो कमजोरी लुकाउन तथा विदेशी विचार र शक्तिको आडमा सत्ता प्राप्त गर्ने लोभमा लागेर आफ्नो सिद्धान्त तथा नीतिको काँचुली फेर्ने वा रङ बदल्ने स्वार्थवादी विचारका कारण संविधानवादविपरीत लोकतान्त्रिक व्यवस्थामा आघात हुने निरंकुश तथा अधिनायकवाद व्यवस्थाको थालनी भएको छ । देश असफल राष्ट्रको दिशामा गइरहेको छ । सत्तास्वार्थको राजनीतिले द्वन्द्व चर्काइरहेको छ र विकासको गतिमा गतिरोध उत्पन्न गरिरहेको छ । यस्तै अवस्था रहिरहेसम्म समस्या निराकरण हुन सक्दैन भन्ने कुरा जनताले राम्ररी बुझ्न जरुरी छ । काँचुली फेर्ने सर्प समान सिद्धान्त र दर्शन लत्याउने तथा रङ फेर्ने समान छेपारोजस्तै विचार बदली रहने नेताहरूले बाँदरले आफ्नो घर कहिल्यै बनाउँदैन भनेझैँ देश विकास गर्न कहिल्यै ध्यान दिएनन् । अत: देशमा रङ बदलेर आफ्नो स्वार्थसिद्ध गर्ने राजनीतिक दलालहरूलाई पन्छाउन नसकेसम्म देशले कुनै निकास पाउन सक्दैन । तसर्थ, वास्तविक लोकतान्त्रिक मूल्य र मान्यतामा बहुमतको कदर हुनुपर्छ । शान्त र समुन्नत समाज, स्वाधीनता र राष्ट्रियताको रक्षा गर्न आजको समयमा कुनै बिन्दुमा आएर सहमति हुन जरुरी छ ।
(लेखक नेपाल राष्ट्रिय लोकतान्त्रिक दलका महासचिव हुन् ।)

प्रतिक्रिया