“नेपाली भाषा”को संवेदनशीलता

Dirgha-Raj-Prasaiनेपाली भाषा भारतको गोर्खाल्यान्ड क्षेत्र, सिक्किम, मेघालय, अछाम, मणिपुर, भारतको उत्तराञ्चलमा जुनसुकै जातको नेपाली होस ठूलो सम्मान गर्छन् । भुटानमा नेपाली भाषा व्यापक रूपमा मान्यता भइआएको नै हो । विश्वका जुनसुकै कुनामा रहेका नेपाली भाषी नेपाली भाषालाई आफ्नो पहिचान ठान्छन् । नेपालको एकीकरण हुनुभन्दा धेरैबर्ष अगाडिदेखि नेपाली भाषा पूर्वमा ब्रम्हपुत्र, पश्चिममा गंगोत्रीको आसपाससम्म चलनचल्तीमा आइसकेको थियो । नेपाली भाषा कुनै विजेता शासकहरू पृथ्वीनारायण शाह वा राजा महेन्द्रबाट जबर्जस्ती लादेको भाषा होइन । नेपालको एककीरण भएदेखि नै सबै भाषाभाषीका बीच सम्पर्क कायम गर्न नेपाली भाषा सजिलो र लोकप्रिय भएका नाताले नै नेपालको राष्ट्र भाषा हुनगएको हो । वि.सं. १३८२ सम्ममा किरात क्षेत्रमा पनि नेपाली भाषाको चल्ती थियो भन्ने संकेत सिमरौनगढका राजा हरिसिंह देवका पण्डित ज्योतिरीश्वरको मैथिति कृति ‘वर्णरत्नाकर’ बाट जाहेर हुन्छ भन्दै भाषाविद् बालकृष्ण पोखरेलले लेखेका छन् । त्यस्तै भानुभक्त पोखरेल लेख्छन्, ‘नेपाल एकीकरण हुनुभन्दा पाँच/सात सय बर्ष अघिदेखिनै यस भूभागका राजा, रजौटाहरूले परम्परा, पत्राचार, सन्धि, संझौता गर्ने तत्कालीन अन्तर्राज्यीय भाषा नेपाली नै थियो । नेपाल एकीकरण अभियानमा पृथ्वीनारायण शाहले बाइसेचौबीसे, लिम्बुवान, खम्बुहाङ आदिका अपुंगी टुक्रे राजाहरूसित व्यवहार गर्ने भाषा पनि नेपाली नै थियो ।’ यसरी नेपाली भाषाले अन्तरजातीय सम्पर्क भाषाको स्थान प्राप्त गरेको हो । पृथ्वीनारायण शाहले नेपालको एकीकरण गर्नुभन्दा अगाडि कान्तिपुका राजा लक्ष्मीनरसिंह मल्ल र उनका छोरा प्रताप मल्लको समयमा नेपाली भाषा प्रयोग भएका प्रसस्त अभिलेखहरू पाइन्छन् । जगतप्रकाश मल्ल, भूपतेन्द्र मल्ल, भास्कर मल्ल र जयप्रकाश मल्लले पनि नेपाली भाषामा लेखापढी गरेका थुपै प्रमाणहरू छन् ।
विशाल नेपालको सिर्जना हुनुभन्दा अगाडि नेपाली भाषा यहाँका साना राज्यहरूमा केही मात्रामा प्रचलित भइसकेकाले पृथ्वीनारायण शाहलाई राष्ट्रिय एकीकरणमा सजिलो पनि हुनगएको थियो । इतिहासविद् शंकरमान राजवंशीले लेख्नुभएको ‘पुरातत्त्व संग्रह २०१८’ मा मोरङका राजा हरिश्चन्द्र सेन र वृषशेनको स्याहामोहर विक्रम संवत् १७१९ पौषमा नेपाली भाषामा लेखिएका कागजपत्रहरू र मकवानपुरका राजा मानिकसेनले श्री गोसार्इंलाई नेपाली भाषामा लेखिएका स्याहामोहर र विक्रम संवत् १७८४ कार्तिक भनेर लेखिएका र विजयपुरबाट बुद्धिकर्ण रायले विक्रम संवत् १८२४ नेपाली भाषामा लेखिएका कागजपत्रहरू भएको कुरा उल्लेख छन् । नेपाली भाषा, हिन्दी, मैथिली, भोजपुरी, बंगाली, गडवाली भाषाहरू संस्कृतका सन्तान हुन् । नेपालमा लिच्छवि शासनकालभर संस्कृत भाषाले राष्ट्रभाषको स्थान ओगटेको थियो । मल्लकालमा संस्कृत, नेपाली भाषा र नेवारीलगायत स्थानीय भाषाहरू चलनचल्तीमा आएका देखिन्छन् । नेपालको एकीकरण हुनुभन्दा पहिला काठमाडौंबाट गोरखा, लम्जुङ, कास्की वा जनकपुर जानेहरूले नेपाली भाषामै बोल्ने गर्थे । त्यही हिसाबले नेपाली भाषा ब्रम्हपुत्रदेखि कास्मिरसम्म चलनचल्तीमा आइसकेको थियो । यस अवस्थामा काठमाडौंका नेवारले कसरी नेवारी भाषालाई सरकारी लेखापढीको भाषा बनाउलान् ? अहिलेको २१सौँ शताब्दीमा जातीय र पाल्छी भाषाहरूको कुरा लिएर किन झगडा गर्ने काम भइरहेको छ ?
दार्जिलिङका विद्वान् पारसमणि प्रधानले भनेका थिए, ‘नेपाली भाषा कुनै निश्चित जात वा जातिको भाषा होइन । यसलाई बाहुन, क्षेत्रीलगायत गरुङ, मगर, राई, लिम्बू, नेवार, तामाङ’ आदि जातले आ–आफ्नो बोली छँदाछँदै पनि नेपाली भाषालाई मातृभाषा भनी अपनाएका छन् । यसो गर्नाले एउटा विशाल नेपाली जातिको सृष्टि भएको छ । कुनै जातका मानिसले आफ्नो जातीय बोली बिर्सनै पर्छ भन्ने केही छैन । तर, नेपाली भाषा हाम्रो होइन भनेर विभिन्न नेपाली जातिले संघर्ष गर्न थाले भने न उनीहरू आफँै उभिन सक्छन् न अरूलाई उभिन दिन्छन् । पहिलेको खस बोली खस भाषामा परिणत भएर गोर्खा वा गोर्खाली भाषा हुन पुगेको र अहिले तमाम नेपाली जातिको भाषा हुनपुगेको छ ।’ यति मात्र होइन भारतका आसाम, मणिपुर, दार्जिलिङ, उत्तराञ्चलको देहरादून, अलमोडालगायत भारतका अनेकौँ ठाउँमा रहेका नेपालीको प्रियभाषाका रूपमा नेपाली भाषा पूजनीय भइरहेको र भारत सरकारले सरकारी भाषासरहको मान्यता दिएर नेपाली भाषालाई अन्तर्राष्ट्रिय मान्यता दिएको छ । नेपाल विभिन्न जाति, भेषभूषा, भाषभाषीको थलो हो । यहाँ जम्माजम्मी १२४ भाषाहरू छन् । तीमध्ये ४०/५० भाषाहरू विकसित अवस्थामा छन् । मैथिली, भोजपुरी, अवधि, मगर, गुरुङ, तामाङ, शेर्पा, नेवार, थारू, राजवंशी, लिम्बू, राई, नेवार, थकाली, सुनुवार, सतार, उर्दू आदि भाषा आ–आफ्ना समुदायमा लोकप्रिय छन् । खुला सिमानाका कारणले हिन्दी भाषा कहीँ कतै बोल्ने गरिन्छ तर नेपालका स्थानीय मात्रृभाषाहरूको दाँजोमा हिन्दी भाषाको कुनै प्रभाव छैन । हिन्दी भारतको राष्ट्रभाषा हो । नेपालमा भारतको राष्ट्र भाषाको अवलम्बन गर्नु भनेको भारतीय प्रभुत्व स्वीकार्नु हा,े जहाँ नेपाली जनता त्यसलाई सुन्न पनि चाहँदैनन् ।
भाषाको हिसाबले नेपाल धेरै धनी छ । यसो भन्दैमा सबै भाषालाई सरकारी भाषामा स्थापित गर्न खोज्दा सबै थरीमा असजिला हुन जान्छ । अशोक श्रेष्ठ लेख्छन्– ‘बाइसे, चौबीसे राज्यको अवधारणा लिएर आन्दोलित हुनु आफँैमा बौद्धिक बहुलठ्ठीपनबाहेक केही होइन । काठमाडाँै त राजधानी हो, जहाँ पूर्व मेचीदेखि महाकालीसम्मका जातजाति, भाषाभाषीको जमघट बसोबासो हुनु स्वाभाविक छ । नेवार भाषा नजान्ने एवं गैरनेवारलाई थानकोट कटाउनुपर्ने निहित मनसाय देखिन्छ ।’ फलत: राष्ट्रियताको सवालमा सबै भाषा–भाषीहरूले त्याग गर्न सक्नुपर्छ । हामी सबै जातजाति, प्रजातिहरूले नेपालको एकीकरण हुँदाको अवस्थादेखि नैँ विशाल नेपालको मूलधारमा एक नेपाली जातिमा विलय भइसकेका छौँ । राष्ट्र भाषा र राष्ट्रिय पोसाकलाई राजा महेन्द्रबाट जबरजस्त एक भाषा, एक भेष लादेको हो भन्ने पनि सुनियो । तर, त्यो सत्य होइन । नेपालको प्रारम्भदेखि नै दौरा–सुरुवाल, टोपी नेपालको पहिचान भएको छ । नेपालमा प्रजातन्त्रको उदयपछि पनि दौरा–सुरुवाल, टोपी नेपालको राष्ट्रिय पोसाकमा कुनै विवाद गरिएन । नेपालको एकीकरण भएको बेलादेखि नै राष्ट्र भाषाको रूपमा नेपाली भाषा पनि मानिएको हो ।
नेपालमा नेवारहरू राष्ट्रवादी हुन्छन् । तर, भाषाको विवादको प्रारम्भ जानेर वा नजानेर काठमाडौंका नेवारबाट भएको हो । तर, अहिले देशभरि साम्प्रदायिक सद्भाव खलबलिन लाग्दा नेवारहरू झस्केका छन् । नेपालको हिन्दू तथा बौद्ध धर्मप्रतिको जागरणमा नेवारहरूको ठूलो देन छ । तर, पनि नेवारी भाषालाई सरकारी भाषा सरह मान्यता खोजेकाले सबै भाषाभाषीले पनि सोही कुरा झिकेकाले अहिले साम्प्रदायिक झिल्काले देशभरि डँढेलो लागेको छ । वि.संंं.२०२२ भन्दा अगाडिसम्म नेवारी भाषाबारेमा मुद्दा उठेको थिएन । नेवारी भाषालाई सरकारी लेखापढीको भाषाको माग गर्न थालेको बेलादेखि नै लिम्बू, राई, मगर, गुरुङ, तामाङ, मैथिली, भोजपुरी, थारू र मधेसीहरूबाट हिन्दी भाषाको मुद्दा उठाउन थालेका हुन् । यही मौका छोपेर केही भारतीय नेताले नेपालमा हिन्दी भाषालाई सरकारी लेखापढीको भाषा कायम गर्दै बोल्न थालेका पनि थिए । यस्ता कुराले नेपाली जनताको ठूलो अपमान भएको छ । यस्ता कुराको नेपाली जनता घोर भत्र्सना गर्छन् । नेपालका कुनै पार्टीका नेताले पार्टीको नीति भन्दै आफूखुसी राष्ट्रिय मान्यताका विरुद्ध हिँड्नु राष्ट्रिहितविपरीत कुरा हो भनेर बुझ्नुपर्छ ।

प्रतिक्रिया