मदन आश्रित स्मृति: औपचारिकतामा सीमित नहोस्

Krishna-Paudelनेपाल कम्युनिस्ट पार्टी एमालेका तत्कालीन महासचिव र संगठन विभाग प्रमुख जीवराज आश्रित रहस्यमय जिप दुर्घटनामा परी मारिनुभएको बीस वर्ष पुगेछ । जेठ ३ गते नेपालको वामलोकतान्त्रिक आन्दोलनका निम्ति कालोदिनको रूपमा राजनीतिक इतिहासमा कैद छ । यसै दिन नेपालको राजनीतिले अहिलेसम्मको भरपर्दो लोकप्रिय राजनेता गुमाएको छ । उनी समकालीन नेपाली राजनीतिका सर्वाधिक लोकप्रिय नेता, जसलाई जननेता, नेपाली क्रान्तिका युगपुरुष र नेपाली क्रान्तिका नवीन विचारकको रूपमा परिचित छन् । उनै मदन भण्डारीले छोटो राजनीतिक जीवनमा पुर्‍याउनु भएको योगदान र सापेक्षिकताको चर्चा गरिन्छ र यो क्रम कालान्तरसम्म चल्नेछ । संयोग पनि कस्तो π अघिल्लो महिना त्यही पार्टीका अध्यक्ष, पहिलो कम्युनिस्ट प्रधानमन्त्री र छोटो समयको सर्वाधिक सफल सरकार सञ्चालन गर्न सफल मनमोहन अधिकारीको स्मृति दिवस परेको थियो । वैशाख महिनाभर उनको स्मृति, व्यक्तित्व र सफलताको चर्चा नेपाली राजनीति र सञ्चारमाध्यममा छायो । जेठ महिना मदनको भागमा परेको छ । उनको स्मृतिमा एमाले र सम्बद्ध संघसंस्थाहरूबाट राजधानी, दुर्घटनास्थल दासढुंगा र देशभर उनको सम्झना र सम्मानस्वरूप विभिन्न कार्यक्रमहरू आयोजना भएका छन् । भण्डारीको अवसान नेपाली राजनीतिका लागि साँच्चै अपुरणीय क्षति हो । अहिले पनि उनी भएको भए नेपाली समाजले योखालको दुर्दशा बेहोर्नुनपर्ने र राजनीतिक, सामाजिक र आर्थिक समृद्धि धेरैअघि बढिसकेको हुने ठोकुवा गर्ने र विश्वास बोक्नेहरू छन् ।
छोटो जीवन त्यसमा पनि राजनीतिक जीवन अझ छोटो र विशेषत: तीन वर्षको खुला जीवनमा स्पष्टवक्ता, नेपाली समाजको रूपान्तरणका लागि कालजयी विचारहरू, ओजस्वी व्यक्तित्वले उनको राजनीतिक उचाइ यति बढ्यो कि जनजनको भरोसा बने । उनी राजा वा प्रधानमन्त्री थिएनन्, तर राजालाई खुला चुनौती दिन र निर्वाचनमा प्रधानमन्त्रीलाई हराउन सफल भए । उनको लोकप्रियता स्वदेशमा सीमित नभएर अन्तर्राष्ट्रिय जगत्मा नै एक उदीयमान नेताको पहिचान दिन सफल दरिए । अमेरिकी लोकप्रिय पत्रिका न्युजविकले नेपालमा माक्र्स जीवित रहेको भन्दै उनको नयाँ विचारसहितको सनसनीपूर्ण अन्तरवार्ता प्रकाशन गरेको थियो । केही समयअघिको मत सर्वेक्षणमा मदन नेपालको एक्काइसौँ शताब्दीको सर्वाधिक लोकप्रिय व्यक्तित्व सावित भएका थिए । पोखराबाट चितवन र तराई मधेसका विभिन्न कार्यक्रममा भाग लिन जाने क्रममा दासढुंगामा जिप दुर्घटनाको प्रायोजनमा उनको हत्या भयो । बीस वर्ष पुग्दा पनि दासढुंगा घटना र हत्या रहस्यको गर्भमा छ । एमाले पटकपटक सरकारमा पुग्यो, तीन जना प्रधानमन्त्री भए र संविधानसभाको दोस्रो निर्वाचनमा एक नम्बरको पार्टी बन्ने घोषणा गर्दै छ । उक्त घटनाका एक मात्र प्रत्यक्ष संलग्न चालक अमर लामाको हत्या माओवादीले गरेपछि सम्भवत: यो अब रहस्यको रूपमा नै इतिहासमा कैद रहने सम्भावना बढेको छ । घटना सामान्य र स्वाभाविक थिएन । घटना पूर्वका प्रतिघटनाहरू, अमर लामाको चालचलन र कतिपय रहस्यपूर्ण बिम्बहरूले रहस्यपूर्ण र देशी विदेशी षड्यन्त्रको आभास दिन्छ । घटनाको न्यायिक छानबिन र सत्यतथ्य सार्वजनिकीकरणका लागि ठूलो आन्दोलन पनि भयो ।
मदनको लोकप्रियताका धेरै कारण रहे । उनले नेपालको कम्युनिस्ट आन्दोलनलाई लोकतान्त्रीकरण गरे । २०४६ को परिवर्तनले संवैधानिक रूपमा सीमित गरिएको भए पनि कतिपय अधिकारले आरक्षित गरिएको राजतन्त्रलाई बाध्यतावश स्वीकार गर्नुपरेको अवस्थालाई आत्मसात गर्दै दरबारको चारकिल्लाभित्र सीमित रहन खुला चुनौती दिए । शोभियत र पूर्वी युरोपमा ढलिरहेको कम्युनिस्ट शासनलाई पुनर्जीवन दिने शान्तिपूर्ण प्रतिस्पर्धाको अभ्यासलाई स्थापित गरे । माक्र्सवाद कुनै जडसिद्धान्त होइन, समय र परिस्थितिको आधारमा अघि बढ्ने गतिशील सिद्धान्तको रूपमा पुनव्र्याख्या गर्दै शान्तिपूर्ण प्रतिस्पर्धाको माध्यमबाट सत्तामा गएर जनताको हितमा काम गर्न सकिने मान्यता अघि सारे । जनताको बहुदलीय जनवादको सिद्धान्त प्रस्तुत गरेर नेपाली क्रान्तिलाई नयाँ मोड दिए मदनले । मदनको सिद्धान्तलाई अस्वीकार गर्दै सशस्त्र जनविद्रोहको कार्यनीतिका साथ अघि बढेको माओवादी पनि अहिले मदनकै बाटोमा आएको छ । एक्काइसौँ शताब्दीको जनवादको कार्यनीति र हालै सम्पन्न एकीकृत माओवादीको राष्ट्रिय महाधिवेशनको सार पनि जबजमा आधारित छ । मदनको अवशानपछि मुलुकमा थुप्रै उथलपुथल भए । राजतन्त्रको अन्त्य भई गणतन्त्र स्थापना र मुलुकको शासकीय पुन:संरचनाको आधार पनि उनकै विचारमा आधारित छ । मुलुकको परिवर्तन र अग्रगमनको यात्रा आज मदनको विचार र उनैले तय गरेको जनताको बहुदलीय जनवादी कार्यक्रममा आधारित छ । यो सच्चाइलाई नेपालका राजनीतिक दलहरू, शीर्षस्थ नेतृत्व र आम नागरिक पंक्तिले बुझ्न र बिनाहिचकिचाहट त्यसबाट निर्देशित हुनु जरुरी छ ।
मदनको अतुलनीय योगदानले बनेको पार्टी २०४८ को निर्वाचनमा दोस्रो ठूलो पार्टीको रूपमा स्थापित हुन सफल भयो । उनले विभिन्न चिरामा रहेका कम्युनिस्ट पार्टीलाई एकताबद्ध गरे । संगठन र प्रभावका हिसाबले निकै कमजोरसावित तत्कालीन नेकपा (माक्र्सवादी)सँग एकीकरण गरेर मनमोहनलाई अध्यक्ष र अभिभावकको रूपमा स्वीकार गरेर अघि बढ्ने त्याग देखाए । पार्टीभित्र र बाहिरका प्रतिस्पर्धालाई सहज स्वीकार्ने र सबैबीच सह्दयिता स्थापित गर्न सकेकै कारण उनी कनिष्ठताका बाबजुद पार्टीको सर्वोच्च र शक्तिशाली पदमा स्थापित भएर आफूलाई सर्वाधिक सफल सावित गरे । आज मदन र मनमोहनले बनाएको पार्टी नेकपा (एमाले) आज उनीहरूको आदर्श र विचारलाई सही ढंगले आत्मसात गर्न सकिरहोको छैन । वैचारिक र सांगठनिक हिसाबले मुलुकको अगुवाइ गरिरहेको पार्टी प्रभाव, अडान र क्रियाशीलताको हिसाबले पछाडि परिरहेको अनुभूति भइरहेको छ । मदनको व्यक्तित्व र विचार केवल स्मृति दिवस, कार्यक्रमहरूमा औपचारिक र सतही रूपमा मात्र लिइएका कारण पार्टी संगठन, निष्ठा र पद्धति कमजोर भएको छ । मदनको योगदान, सोच, व्यक्तित्व र सिद्धान्तलाई वस्तुवादी ढंगले बुझ्न नसक्दा कम्युनिस्ट आन्दोलन र एमालेभित्र विचलनका प्रवृत्ति देखा परे । विचार र दृष्टिकोणका हिसाबले सही ठाउँमा भए पनि कार्यान्वयनमा देखिएको समस्याका कारण एमालेपछि परेको छ ।
मुलुकको लोकतान्त्रिक आन्दोलन, कम्युनिस्ट आन्दोलनको लोकतान्त्रीकरण र लोकप्रियताका लागि एमालेको सर्वाधिक भूमिका रहेकोमा दुई मत छैन । नेपाली कांग्रेसलाई अग्रगमन र एकीकृत माओवादीलाई शान्तिप्रक्रिया एवं बहुलवादी प्रतिस्पर्धामा ल्याउन र दुवै शक्तिलाई एकीकृत रूपमा अघि बढाउने सवालमा पनि एमालेको योगदान रहेको छ । वास्तवमा अहिलेको परिवर्तनको नीतिगत नेतृत्व र कौशलता एमालेको शक्तिमा आधारित छ । तर, पछिल्ला दिनमा एमालेको शक्ति, सामथ्र्यता र क्रियाशीलता कमजोर देखिएको छ । एमालेले आफ्नो कार्यशैली र संगठनात्मक अवस्थाको वस्तुगत समीक्षा र व्यापक रूपान्तरणको आवश्यकता खट्किएको छ । त्यसका लागि मदनको स्मृति वा स्तुतिगानले मात्रै पुग्दैन र उनको फोटोलाई होडिङबोर्ड र विचारलाई शिरानीमा राखेर पुग्दैन । यसका लागि एमाले पंक्ति हस्तक्षेपकारी भूमिकासहित राष्ट्रिय राजनीतिमा प्रस्तुत हुनु जरुरी छ । त्यसैगरी नेपालका सबै राजनीतिक दल र शीर्षस्थ नेताले मदनको व्यक्तित्व, प्रतिभा उनले देखाएको बाटोलाई आत्मसात गर्नु जरुरी छ । राष्ट्रियता, सार्वभौमिकता र राजनीतिक रूपान्तरणका लागि उनका विचारहरू वास्तवमै कालजयी छन् । सबैलाई मिलाएर हिँड्ने र परिवर्तनको पक्षमा एकताबद्ध बनाउने उनको स्वभावलाई आत्मसात गर्नु जरुरी छ । त्यसैले मदनको सम्झना वा स्मृति केवल औपचारिकतामा सीमित नहोस् । उनको व्यक्तित्वको अनुसरण र विचारहरूको कार्यान्वयनमा दृढतापूर्वक लाग्नु नै उनीप्रति सच्चा श्रद्धाञ्जलि सावित हुन सक्छ । यो अभियानको नेतृत्व र अगुवाइमा एमाले नै अग्रसर हुनुपर्छ ।
[email protected]

प्रतिक्रिया