नेपाल–भारत सैनिकद्वारा सगरमाथाको सफल आरोहण

Nepal-Army-n-Everestकाठमाडौं, ५ जेठ । नेपाल–भारत सगरमाथा आरोहण तथा सरसफाई टोलीले सगरमाथाको सफल आरोहण गरेको छ ।
विगत १ महिनादेखि सगरमाथा वेश क्याम्प र सो भन्दा माथि संयुक्त रुपमा रहेको आरोहण तथा सरसफाई टोली मध्ये पहिलो टोलीले आज (आइतबार) सगरमाथाको सफल आरोहण गरेको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ । टोलीले विहान ९ बजे सगरमाथाको सफल आरोहण गरेको हो ।
सगरमाथा आरोहण सफलतापूर्वक सम्पन्न गर्ने आरोहीहरुमा नेपाली सेनाका तर्फबाट सेनानी समिर बस्नेत, सह–सेनानी किशोर अधिकारी, गण प्रवन्ध हुद्धा ज्ञानेन्द्र लाउडारी र अमल्दार धिरेन्द्र शाही रहेका छन् ।
भारतीय सेनाका तर्फबाट मेजर आर.एस. जमवाल, सुवेदार मिङ्गमार गुरुङ्ग, हवल्दार सुधिर सिंह, हवल्दार चतर सिंह र लान्स नायक सुकवीर रहेको विज्ञप्तिमा उल्लेख छ ।
टोलीले विगत १ महिनादेखि सगरमाथा आधार शिविर र सो भन्दा माथि रहेका ठूलो परिमाणको फोहर–मैलाहरुलाई समेत सफाई गर्ने कार्य गरिरहेको छ ।
यसैबीच, आजै नेपाली सेनाले बागमती सफाई अभियान अन्तर्गत पशुपतिनाथ मन्दिर क्षेत्रमा सरसफाई गरेको छ ।
सेनाका विभिन्न पृतना, बाहिनी, निर्देशनालय, गण तथा गुल्महरुवाट करीव एक हजार सैनिक परिचालन गरी पशुपतिनाथ, गुहेश्वरी एवं बागमती नदीको ३ किलोमिटर क्षेत्रको फोहोरहरुलाई व्यवस्थापन गरेको विज्ञप्तिमा जनाईएको छ ।

प्रतिक्रिया