फर्गुसनका ठाउँमा मोएज

Fergusan-&-Moyez-(in-blue-tलन्डन : म्यानचेस्टर युनाइटेडको प्रशिक्षक पदबाट स्वेच्छिक अवकाश लिएका सर एलेक्स फर्गुसनको ठाउँ डेभिड मोएजले लिने भएका छन् । मोएज यसअघिसम्म अर्को क्लब एभर्टनका प्रशिक्षक रहँदै आएका थिए ।
म्यानचेस्टर युनाइटेड संसारकै सर्वाधिक चर्चित फुटबल क्लबहरूमध्ये एक हो र फर्गुसन त्यही क्लबमा लगातार २६ वर्षदेखि प्रशिक्षक (म्यानेजर) रहँदै आएका थिए । उनले बुधबार सन्न्यासको घोषणा गरेका थिए भने त्यसको भोलिपल्टै उनको ठाउँमा मोएजको आगमन हुने निश्चित भएको हो ।
५० वर्षीय मोएज पछिल्ला ११ वर्षदेखि एभर्टनसित जोडिँदै आएका थिए । यसै सत्रदेखि उनको त्यो अनुबन्ध समाप्त हुन लागेको थियो । उनले आगामी जुलाई पहिलो तारिखदेखि म्यानचेस्टर युनाइटेडमा आफ्नो कार्यभार सम्हाल्ने भएका छन् । उनलाई सर फर्गुसनकै सिफारिसमा यो नयाँ भूमिका दिइएको हो ।
फर्गुसनले भने, ‘मोएजको नाममा सबैबाट सर्वसम्मति थियो । उनी एकजना अत्यन्त इमानदार व्यक्ति हुन् । मलाई पछिल्लो लामो समयदेखि उनको काम गराइ निकै मन पर्दै आएको हो । मैले सन् १९९८ मा उनलाई सहायक प्रशिक्षकको पदमा काम गर्ने प्रस्ताव राखेको थिएँ । उनीसित ती सबै गुण र विशेषता छन् जुन् यस क्लबका प्रशिक्षकमा हुनु आवश्यक छ ।’
डेभिड मोएजले म्यानचेस्टर युनाइटेडको प्रशिक्षक नियुक्त हुन पाउनु अत्यन्त गर्वको कुरा भएको उल्लेख गर्दै भने, ‘म बहुतै खुसी किन पनि छु भने सर एलेक्स फर्गुसनले मेरो नाम सिफारिस गर्नुभयो । उहाँले यस क्लबका लागि जे जति गर्नुभयो, तीे सबै कामको म अत्यन्त सम्मान गर्दछु ।’
यसैबीच, एभर्टन क्लबले एक प्रेस विज्ञप्ति जारी गर्दै क्लबको प्रशिक्षकका रूपमा डेभिड मोएजले गरेको कामप्रति सराहना व्यक्त गर्दै उनीप्रति धन्यवाद ज्ञापन गरेको छ । (एजेन्सी)

प्रतिक्रिया