जनक दर्शन

Netra-Acharyaसपना
राजा जनक विशाल फौज लिएर सिकार खेल्न गएका थिए । घना जंगल थियो । राजाले एउटा बँदेलको पिछा गर्दै थिए । बँदेल चारकोसे झाडीभित्र पस्यो । राजा हार मानेर पछाडि फर्किए । सिकारी र फौज कतै छुटिसकेका थिए । राजा एक्लै परे । उनी बँदेल लखेट्दा थकाइ, भोक र प्यासले लखतरान परेका थिए । कतै बस्ती होला कि भनी राजा जंगलमा खुला ठाउँ खोज्न थाले । संयोगले एउटा झुपडी फेला पर्‍यो । झुपडीमा एउटी कमजोर बूढीआमा रहिछन् । राजाले केही खानेकुरा मागे । बूढीआमाले खानेकुरा केही छैन भनिन् ।  राजालाई चौपट्ट भोक लागेको थियो । बूढीआमाले हाँडीमा अलिकति चामल छन् त्यही पकाएर खाऊ भनिन् । अरू केही उपाय नभएपछि राजाले मुस्किलले आगो बाले र कसौंडीमा चामल बसाले । भात पाकेपछि केराको पातमा पस्केर खान थाले । खानै लाग्दा संयोगले अघि फुत्केको बँदेल छेवैबाट धूलो उडाउँदै भाग्यो । भातमा धूलो माटो र कुहिएका पातपतिंगरका टुक्राटुक्री भरिए । हातमा लिएको गाँस खाऊँ कि नखाऊँ भन्ने अलमलमा राजा ब्युँझिए ।
भोलिपल्ट राजाले सपनाबारे धेरै चिन्तन गरे । उनी विचारशील व्यक्ति थिए । निश्चय नै यो सपनाको कुनै रहस्य हुनुपर्छ । उनलाई लाग्यो त्यो सपना विपना पनि हुन सक्थ्यो र यो विपना सपना पनि । उनले विद्वान्हरूको सभा डाके । विद्वान्ले धेरै तर्कवितर्क गरे र निष्कर्ष निकाले । राजालाई ऋषि अष्टावक्रको सटीक अभिव्यक्ति मन पर्‍यो । अष्टावक्रले भने, ‘महाराज ! तपाईंले सिकार गरेको पनि सपना हो, राज्य गरेको पनि सपना हो । सिकार गरेको सय मिनेटको सपना हो, राज्य गरेको सय वर्षको सपना ।’
हो त । राजाका आँखा खुले । जिन्दगी सपनाजस्तै बितेर जान्छ । मरेपछि केही बाँकी रहँदैन । एक दिन मर्नका लागि, मेटिनका लागि मरिहत्ते गर्नुको सार के हो ? मान्छेको जिन्दगी एक हास्यास्पद प्रहसन मात्र हो त ?
राजाले चिन्तन गर्न थाले, जीवन एउटा लामो सपना हो भने यसलाई जिउने उचित ढंग के हो त ? हामीलाई जे–जति समय, भौतिक वस्तु र स्थान प्राप्त हुन्छ त्यसको अधिकतम उपयोग गर्ने, जीवनलाई अर्थपूर्ण बनाउने सर्वाधिक सुन्दर विधि के हो त ? राजाले सारपूर्ण जीवन जिउने कला पत्तो लगाएरै छाड्ने निश्चय गरे ।
सत्संग
राजा जनकले सन्तहरूको संगत गर्न थाले । एक सन्त थिए रैकव । सन्त रैकवको साधना देखेर सबै चकित हुन्थे । उनीसँग ज्ञान प्राप्त गर्न चाहन्थे । यी सन्तको ख्याति सुनेर राजा उनीसँग भेट्न बेचैन भए । रैकवसँगको संवादले राजा जनकलाई निष्काम कर्म, अनाशक्ति र साक्षी भावको ज्ञान प्राप्त भयो । राजाले जीवनको नयाँ आयाम देखे । व्यक्ति, वस्तु र परिस्थितिलाई कसरी सही ढंगले हेर्ने भन्ने दृष्टि पाए ।
राजाले सन्तलाई भने, ‘हजुरले जीवन र जगत्लाई हेर्ने जुन दृष्टिकोण दिनुभयो त्यो पाएर म कृतकृत्य भएको छु । यो ज्ञान मेरानिम्ति यति प्रिय छ यसको दाँजोमा मेरा लागि केही पनि कुरा मूल्यवान छैन । गुरु दक्षिणामा म यो सारा राज्य हजुरलाई दिन्छु । कृपया स्विकार्नुहोस् ।’ सन्तले भने, ‘राज्य मलाई के काम ? म त शासन गर्न पनि जान्दिनँ । राज्य त त्यस्तो व्यक्तिलाई काम लाग्छ जो तमोगुणी छ, जो रजोगुणी छ । मैले त तमोगुण र रजोगुणलाई जितिसकेको छु । अब सत्वगुणको साधना गर्दै छु । मलाई राज्यको आकांक्षा छैन ।’
राजा जनकले फेरि निवेदन गरे, ‘गुरुजी, गुरुदक्षिणाका रूपमा केही न केही त अवश्य दिनुपर्छ । हजुरले मेरो ज्ञान जगाइदिनुभएको छ, ज्ञानको बृहत्तर क्षितिज देखाइदिनुभएको छ । गुरु दक्षिणा दिनु एउटा प्रचलन हो, मेरो कर्तव्य हो र धर्म पनि हो ।’
रैकवले केहीछिन विचार गरेर भने, ‘महाराज, यदि तपाईं मलाई केही दिनै चाहनुहुन्छ भने राज्य होइन, बरु राज्य दिन्छु भन्ने अहंकारमय विचार या संकल्प मलाई दिनुहोस् । अहंकारले व्यक्तिको बुद्धि, धन, ज्ञान आदि सबै भ्रष्ट बनाइदिन्छ । अत: आºनो अहंकार नै मलाई गुरु दक्षिणाका रूपमा दिनुहोस् ताकि अब तपाईंलाई कहिल्यै कुनै पनि कुराको अहंकार नहोस् ।’
राजाले फेरि अर्को दिव्य दृष्टि पाए । उनी रैकवप्रति नतमस्तक हुँदै भने, ‘गुरुजी, आजदेखि म कुनै पनि विषय, वस्तु र प्राप्तिप्रति अहंकार गर्नेछैन । मैले तपाईंलाई गुरु दक्षिणामा आºनो अहंकारसमेत दिएर मुक्ति पाएँ ।’ रैकव उनलाई आशीर्वाद दिएर बिदा भए ।
राजा जनकसँग विशाल राज्य, भोगविलास र जीवन छँदै थियो । आफूले पाएको आध्यात्मिक ज्ञानलाई उनले पूर्णरूपले जीवनमा उतारे । यो अप्रतिम जीवनदृष्टिले गर्दा राजाले संसारको सुख पनि भोगिरहेका थिए, मुक्तिको आनन्द पनि । सुन्दरी रानीहरूसँगको शारीरिक सुख, राजसी खानपान, राजसी पहिरन र शासकीय रवाफ पनि थियो । यी सबै कुरालाई सपनाझैँ देख्ने, यीप्रति आशक्ति नराख्ने र त्यागपूर्वक भोग गर्ने जीवनदृष्टि पनि । उनी मनमनै गुनगुनाउँथे, ‘या लोकद्वय साधनी चतुरता सा चातुरी चातुरी । मत्र्यलोक र मोक्षलोक दुवैको सुख–भोग गर्नु जीवन जिउने सर्वोत्तम कला हो, चातुर्य हो ।’
राजा आफूलाई एक दिन मरेर जाने शरीर होइन, कहिल्यै नमर्ने आत्मा हुँ भन्ने हेक्का राख्थे । शरीरको आशक्ति त्यागेका हुँदा उनले ‘विदेह’ नाम पाए । ऋषिमुनि र विद्वान्हरूले उनको ज्ञान, गुण र शासन कौशलको तारिफ गर्थे । ज्ञानी व्यक्तिको कदर गर्नु, सबै जनताप्रति न्याय र समानताको व्यवहार गर्नु उनका विशेषता थिए । शासन गर्नु उनका निम्ति योग साधना गर्नु बराबर थियो । हरेक कामलाई उनी योगमय बनाउँथे, त्यसप्रतिको भावना, दृष्टिकोण र अनाशक्तिका कारण । राजाको सम्पूर्ण राजसी जीवन साधनामय थियो । व्यवहारद्वारा समग्र जीवनलाई रूपान्तरण गरेका हुँदा राजा जनकलाई ऋषिमुनिहरूले राजर्षिको सम्मान दिए । कतिपय ऋषिले आºना शिष्यलाई ज्ञान प्राप्त गर्न राजा जनकको दरबारमा पठाउन थाले ।
शुकदेव
एकपटक वेदव्यासले आºना पुत्र शुकदेवलाई आत्मज्ञान सिक्न राजा जनकको दरबार पठाए । शुकदेव पिताजीले आफूलाई राजासँग ज्ञान लिन पठाएकोमा पहिला त आश्चर्यचकित भए । उनले सोचेका थिए, भोगविलास र राजसी जीवन बाँच्ने व्यक्तिसँग के ज्ञान सिक्ने होला । यद्यपि, पितृ आज्ञा पालन गर्न उनी विवश थिए । जब उनी राजदरबारमा पुगे त्यतिखेर राजा जनक दूधको फिँजजस्तै मखमली शय्यामा ढल्केर सुन्दरी रानीहरूका हातबाट अंगुरको मदिरा पान गर्दै थिए । कैयौँ सेवक र परिचारक राजाको सेवा गर्न हस्याङफस्याङ गरिराखेका थिए । शुकदेवले आफू आउनाको कारण बताए । राजाले शुकदेवलाई बलेको दियो हातमा राखिदिँदै भने, ‘म आराम गर्दै छु, तपाईं एकपटक मेरो दरबारको सबै विभाग अवलोकन गरेर आउनुहोस् अनि ज्ञानगुनका कुरा सुरु गरौँला । अँ, दियो निभ्न नदिनुहोला ।’
शुकदेव दियो हातमा लिएर दरबारको अवलोकन गर्न निस्किए । दरबार भव्य थियो । कलात्मक र पुरातात्त्विक महत्त्वका मूर्ति, चित्रकला र सजावट आश्चर्यजनक थिए । यद्यपि, दियो निभ्ला भन्ने भयले शुकदेवले राम्ररी हेर्न र आनन्द लिन सकेनन् ।
फर्केपछि राजाले दरबार कस्तो लाग्यो तपाईंलाई भनी सोधे । शुकदेवले भने, ‘महाराज तपाईंको दरबार सुन्दर, कलात्मक र आकर्षक रहेछ, यद्यपि मेरो ध्यान दियो जोगाउने कुरामा बढी केन्द्रित थियो । राम्ररी हेर्न पनि पाइएन ।’ राजाले मुसुक्क हाँस्दै भने, ‘जीवनको रहस्य यसैमा छ । ध्यानमा, होशमा रहेर आनन्द उठाउन जान्नु । मानिसले नशामा डुबेर मस्तिष्कलाई मूच्र्छित बनाएर दु:ख भुल्न खोज्छन् । होशमा रहेर आनन्द लिने कला जान्दैनन् । पलपल निकट आइरहेको मृत्युलाई हेक्का राख्न सक्नु, निष्काम भावले कर्म गर्नु र अनाशक्त भावले सुख–दु:खहरू भोग्नु । यो सन्तुलनको विज्ञान जान्नेलाई जहाँ–तहीँ आनन्दै आनन्द छ । यही हो आत्मज्ञान ।’
सन्तुलन
भोग र योगको सन्तुलन जीवन हो । आत्मज्ञान प्राप्त गर्न घरबार त्यागेर बनवासी हुनुपर्दैन, केवल भोक्ता भाव, कर्ता भाव त्यागे पुग्छ । दैनिक व्यवहार र स्वयंलाई समेत कर्ता वा भोक्ता भावले होइन, साक्षी भावले हेर्नु, म विनाशशील शरीर होइन, अविनाशी आत्मा हुँ भन्ने स्मरण गरिरहनु आत्मज्ञान हो । सूचना संकलन गर्नु ज्ञान होइन । त्यो त केवल जानकारी हो । जानेको कुरालाई व्यवहारमा उतारिएको छ भने त्यो ज्ञान हो । ऐन्द्रिकतादेखि अतिन्द्रियतासम्म, भौतिकतादेखि अध्यात्मसम्मको अन्तर्यात्रा जनकले अभ्यास गरेको दर्शन हो । जीवनको दिशानिर्देश गर्ने जनक दर्शन सिद्धान्तमुखी होइन, व्यवहारमुखी छ । जीवनलाई नै दर्शनमय बनाउने जनक दर्शन एक जीवन दर्शन हो ।
विभूति
आज–भोलि अधिक प्रचारित तान्त्रिक दर्शनमा जनक दर्शनकै भोगदेखि योगसम्मको यात्रा देख्न सकिन्छ । राजर्षि जनक र महर्षि श्री अरविन्दको दर्शनमा सादृश्य पाइन्छ । श्री अरविन्दले समग्र जीवन दिव्य जीवन हो भनेका छन् । जीवनलाई सुन्दर बनाउनु र साधनाको माध्यमले दिव्य चेतना विकसित गर्नु जीवनको उन्नत लक्ष्य हो । प्राचीन कालमा जनकपुरमा राज्य गर्ने राजर्षि जनक प्रतिभा र दार्शनिक योगदानका कारण नेपालका ज्येष्ठ विभूतिका रूपमा सम्मानित छन् ।

प्रतिक्रिया