“प्रतिस्पर्धी र व्यावसायिक किसान आवश्यक”

बारा, २७ वैशाख । कृषि वैज्ञानिक तथा प्राविधिकले नेपाली किसानलाई प्रतिस्पर्धी र व्यावसायिक बनाउनुपर्ने आवश्यकतामा जोड दिएका छन् ।
नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) को २२औँ स्थापना दिवसका अवसरमा उखुबाली अनुसन्धान कार्यक्रम जितपुरद्वारा आयोजित छलफल कार्यक्रममा उनीहरूले कृषि प्रणालीअन्तर्गत विभिन्न निकायबीच साझेदारी र बहुपक्षीय सहकार्यबाट गरिबमुखी सेवा प्रदानमा जोड दिनुपर्ने आवश्यकता औँल्याए ।
उखुबाली अनुसन्धान कार्यक्रम जितपुरका संयोजक कैलाशप्रसाद भुडेरले कृषिलाई ग्रामीण क्षेत्रको मुख्य आकर्षक पेसाका रूपमा परिणत गरी यस क्षेत्रलाई उद्योगकै रूपमा अगाडि बढाउनुपर्ने बताउँदै परम्परागत कृषिलाई व्यावसायिक बनाउन तथा व्यावसायिक कृषिका लागि क्षमता अभिवृद्धि गर्ने कार्यमा सम्बन्धित कृषि वैज्ञानिक तथा प्राविधिकले विशेष पहल गर्नुपर्ने विचार व्यक्त गरे ।
नेपालको कृषि विविधताको दिगो उपयोग र कृषि उत्पादनको गुणस्तर सुनिश्चितता प्रदान गरी यस क्षेत्रलाई पूर्ण व्यावसायिक बनाउनुपर्ने उल्लेख गर्दै उनले भने, ‘किसानको जीवनस्तरमा सुधार ल्याउनका लागि उखुखेतीमा जोड दिनुपर्छ ।’
एमाले नेता भरत खड्काले कृषि क्षेत्रको दिगो विकास र विस्तारका लागि कृषि अनुसन्धानमा संलग्न वैज्ञानिक तथा प्राविधिकलाई उपयुक्त अवसर र काम गर्ने वातावरण सिर्जना हुनुपर्ने आवश्यकता औँल्याए । उखुबाली अनुसन्धान कार्यक्रम जितपुरका पूर्वसंयोजक कैलाशप्रसाद महतो, सो कार्यक्रमका प्राविधिक अधिकृत रामकृष्ण रजक र प्राविधिक रत्नप्रसाद उप्रेतीले किसानको चाहना र आवश्यकतालाई परिपूर्ति गर्न उखुबाली अनुसन्धान कार्यक्रम अग्रसर रहेको बताउँदै यो कार्यक्रमलाई उत्पादनमुखीभन्दा पनि अनुसन्धानमुखी बनाउनुपर्ने बताए । यसका लागि सोहीअनुरूप बजेट तथा कार्यक्रम ल्याउनुपर्ने उनको भनाइ थियो । बाराका अगुवा कृषक मुकुन्दबहादुर क्षत्री, तेजनारायण तथा देवनारायण चौधरीलगायतले सरकारी उदासीनता र राजनीतिक अस्थिरताले उखुबाली अनुसन्धान कार्यक्रमको अवस्था खस्किँदै गइरहेको उल्लेख गर्दै अझै पनि यसबारे सरकारको ध्यान नजाने हो भन्ने उखुबाली अनुसन्धान गर्ने यो कार्य प्रभावित हुने दाबी गरे ।
कार्यक्रममा उखुबाली अनुसन्धान कार्यक्रम जितपुरका अवकाश कर्मचारीद्वय कैलाशप्रसाद महतो र यमुना राउतलाई संयोजक कैलाशप्रसाद भुडेरले दोसल्ला ओढाएर सम्मान गरे । सो अवसरमा स्वर्ण सव–१ जातको धानको बीउ किसानलाई नि:शुल्क वितरण गरिएको थियो ।

प्रतिक्रिया