देशको अवस्था झनै जटिल

anil-yogi-1मुलुकको वर्तमान अवस्थालाई विवेचना गर्दा पृथ्वीनारायण शाहले एकीकरण गरेपश्चात् पहिलोपटक राष्ट्रको स्वतन्त्रता र भौगोलिक अखण्डताको सवालमा गम्भीर प्रकारको खतरा पैदा भएको छ । हाम्रो राष्ट्रको राजनीतिक अवस्थालाई नजिकबाट जान्ने र बुझ्ने दुवै छिमेकी राष्ट्रले प्रत्यक्ष रूपमा गम्भीर चासो देखाएका छन् । हाम्रो कूटनीतिकसम्बन्ध स्तरीय छैन ।
लोकतन्त्रको नाममा राष्ट्रको जीवनमा असर पर्ने गरी राष्ट्रिय सेना, प्रहरी, निजामती कर्मचारी, जातजाति, भाषा, हरेक धर्ममा आस्था राख्ने जनताबीच र भूगोलका विषयमा समेत विवाद चुलिँदो अवस्थामा छ । कुनै क्षेत्र बाँकी छैन, जहाँ विवाद नभएको होस् । हरेक प्रकारका विवादका प्रकृति हेर्दा देश गृहयुद्धमा जान सक्ने खतरा विद्यमान छ । यस्तो अवस्थामा संविधान बनाउनु भनेको राष्ट्र र जनतालाई झनै ठूलो विपद्मा फसाउने काम मात्र हो ।
कुनै पनि शासन व्यवस्था राष्ट्र र जनताको कल्याणका लागि आवश्यक हुने कुरा हो । मुठ्ठीभर राजनीतिक शक्ति र व्यक्तिहरूले आफ्नावरिपरि घुमाउने व्यवस्था लोकतन्त्र हुन सक्दैन भनेर कसैले बहस चलाउन सकिरहेको छैन । सबै प्रकारका विवादबाट राष्ट्र र जनतालाई रक्षा गर्न नयाँ सोच र पुराना मजबुद विश्वासिला आधारहरूलाई संयोजन गरेर अगाडि बढ्न सकिएन भने अब राष्ट्र जोगाउान सहज उपायले काम गर्ने अवस्था छैन ।
राष्ट्रको कल्याणका लागि राज्यले आवश्यकताअनुसार आफ्नो शक्ति प्रयोग वा अर्को अर्थमा दुरुपयोग अवस्थाहेरी दुवै गर्न सक्नुपर्छ । राष्ट्र र जनताको हितका लागि कार्य सम्पादन गर्न नसक्ने शासकहरूका प्रवृत्तिलाई निरन्तरता दिनका लागि केवल स्वतन्त्रता मात्र आवश्यक राजनीतिक सिद्धान्त मानिनुपर्छ भन्ने हुँदैन । सच्चा राजनीतिज्ञले समस्याहरू मात्र खोतल्ने काम गर्दैनन् । समाधान पनि दिने साहस र दृढ इच्छाशक्ति राख्न सक्छन् । हाम्रो राष्ट्रमा यस्तो असामान्य परिस्थितिको सिर्जना किन हुनपुग्यो र त्यो स्थिति कसले सिर्जना गर्‍यो ? आजको महत्त्वपूर्ण प्रश्न यही हो । यस प्रश्नको सही उत्तर नखोजी वास्तवमा राष्ट्र र जनतालाई सही दिशामा अग्रसर गराउन सकिने अवस्था छैन ।
दलहरूले एक अर्कालाई दोषारोपण गरेर जतिसुकै पन्छिन खोजे पनि नेपाली जनताले उनीहरूलाई कठघरामा उभ्याइसकेका छन् । यसबाट उनीहरू उम्कन सक्ने अवस्था छैन् । दलका नेताहरूले जेसुकै बहाना बनाउन खोजे पनि वा आफ्नो कमजोरी लुकाउन लोकतन्त्र अथवा क्रान्तिकारी गणतन्त्रको कुरा गरे पनि वस्तुगत यथार्थले उनीहरूभित्रको पाखण्ड चिन्तनको जोडदार खण्डन आफँै भइरहेको छ ।
यो राष्ट्रको सन्दर्भमा राष्ट्र र जनताको प्रगतिका लागि नेपालमा कुनै पनि राजनीतिक शक्तिले इमान्दारीपूर्वक कार्य सम्पादन गरेको देखिँदैन् । विवेक हुनेहरूले देश हाँक्ने हो भने निमुखा जनताको पक्षमा काम गर्न आपसमै सधँै लडिरहनु पर्दैन । वास्तवमा राष्ट्रिय हितका लागि साझा दृष्टिकोणविनाको राजनीतिले राष्ट्र हाँक्नु भनेको देश बर्बाद बनाउनु नै हो । संसद्वादी र माओवादीहरू आफैँले निम्त्याएको यो आत्मघाती राजनीतिक संकटबाट सजिलै उम्कन पाउने अवस्था त छैन । लोकतन्त्र, प्रजातन्त्र अथवा गणतन्त्रका नाममा दलका नेताहरूले राष्ट्र र जनताविरुद्ध गरेका अपराध सामान्य प्रकृतिका छैनन् । ती अपराधका विरुद्ध प्रतिवाद गर्ने अर्को भरपर्दो राजनीतिक शक्ति तयार गर्नु आजको आवश्यकता हो ।
दलका नेताहरूले मुलुक र जनतासामु आफूलाई जिम्मेवारीपूर्ण ढंगले उभ्याउन सकेनन् । देश सबै नेपाली जनताको साझा हो र यसको उत्थान र प्रगति पनि साझा अवधारण तयार गरेर गर्ने हो भन्ने कुरा नेताहरूले नबुझेको जस्तो देखियो । राज्यको कुनै पनि निकाय स्वतन्त्र र सक्षम बनाउन सकिएन भने त्यो संस्था र व्यक्तिले जनमुखी कार्य सम्पादन गर्न सक्दैन भन्ने कुरालाई नेताहरूले जानेर पनि बुझपचाएको आभास आमनागरिले गर्न थालेको छ । दलका नेताहरूले गर्ने कुनै पनि कामकार्बाहीमा जनतालाई ढाँट्ने नेताहरूको प्रवृत्ति स्वयं उनीहरूका लागि आत्मघाती हुँदै छ । हरेक कुरामा बोली फेर्ने र अदृश्य शक्तिलाई इंगित गरेर आफ्नो बाध्यता बुझिदिन जनतासँग अनुरोध गर्ने प्रवृत्ति र त्यो प्रकारको राजनीतिक चिन्तनले देशको नेतृत्व गर्न सक्दैन ।
दलका नेताहरूले उदार ह्दयका साथ देशलाई नेतृत्व दिनुपर्ने थियो । देशभित्रका राजनीतिक शक्ति र व्यक्तिहरूलाई समेटेर लैजानुपर्ने थियो । त्यो वास्तविकतालाई दलका नेताहरूले बुझेर पनि कार्य सम्पादन गर्न नसक्दा समस्या झनै जटिल बन्दै गएको देखिन्छ । अब दलका नेताहरूका काबुमा राष्ट्रिय राजनीतिमा निर्णायक शक्ति प्रदर्शन गर्न सक्ने क्षमता दिनप्रतिदिन क्षीण हुँदै गएको छ । बाह्य शक्तिको हस्तक्षेपबाट दलका नेताहरू स्वयं थिचिएका छन् । प्राय: सबै राजनीतिक शक्तिहरूको गुहार माग्ने ठाउँ सीमापारि हो भन्ने कुरा जनताले बुझिसकेका छन् ।
यो विकराल दु:खबाट जनतालाई मुक्ति दिलाउनका लागि दलका नेताहरूसँग जनताको ह्दयको आवाज सुनेर दु:खको अवस्थालाई निर्मूल पार्न सक्ने राजनीतिक क्षमता देखिँदैन । दलका नेताहरूले विवाद र विपद्को मूल जरोलाई बुझ्न आवश्यक ठानेका छैनन् । यो विवादको जड भनेको चेतनशील प्राणीका रूपमा विख्यात मानिसका विरुद्ध मानिसलाई नै जुधाउने आफूले अँगालेको राजनीतिक चिन्तन र कार्यशैली हो भन्ने कुरा दलका नेताहरूले नबझ्दासम्म संकट समाधान हुन सक्दैन । विदेशीलाई आफ्नो देशको अवस्था र राजनीतिबारे बयान दिने विचारका कम्जोर मानिसले यो देशको स्वाधिनता र राष्ट्रियताको रक्षा गर्न सक्दैनन् । देशको सत्ता चलाउनका लागि राजनीतिक दलहरूले अन्जान जनतालाई गोलचक्करमा घुमाउनु मात्र राजनीति होइन ।
त्याग र नैतिकता नभएका मानिसहरूका मातहतमा अब नेपाली समाज अडिन सक्छ जस्तो लाग्दैन । समाज र जनताका जीवनमा वास्तविक शान्ति र अमनचयन जनतालाई एकजुट गराउँदै नजगाएसम्म पुनस्र्थापित गर्न अब सम्भव छैन । त्यसका लागि कडा अनुशासित र नैतिकवान व्यवस्था चलाउने राजनीतिक नेतृत्व चयन गर्नु आजको राष्ट्रिय आवश्यकता हो भनेर सबैले बुझ्नुपर्ने अवस्था सिर्जना भएको छ  ।
जनता र राष्ट्रको जीवनमा परिवर्तन ल्याउने बहानामा गरिएका आन्दोलनमा मारिने मृतकका परिवारहरू राज्यले दिने क्षतिपूर्तिका हकदार मात्रै होइनन् । राजनीतिक दलका नेताहरूले जनताका छोराछोरीलाई अनाहकमा मृत्युको मुखमा धकेल्ने र राज्यको ढुकुटीबाट क्षतिपूर्ति दिएर आफू शान्तिगामी र लोकतन्त्रवादी हुन खोज्ने फगत राजनीतिक खेलको अन्त्य गर्नका लागि इमान्दार देशभक्तहरू अग्रसर हुन सकेनन् भने भोलि कस्ता विपद्का दिन आउलान् अहिले नै भन्न सकिँदैन ।
शान्तिपूर्वक बाँच्न पाउने जनताको जन्मसिद्ध अधिकार खोस्नु भनेको नै मानवता विरोधी अपराध हो । मानवअधिकारका व्याख्याताहरू के भन्छन् उनीहरूका तर्क पनि सुन्न जरुरी छ । राजनीतिक दलहरूले जनताको शान्तिपूर्वक बाँच्न पाउने नैसगिक अधिकार खोसेको वर्षांै भयो । समाजमा न्याय र सत्य हराएको हुनाले अपराधको बढोत्तरी भएको हो । वास्तविक प्रताडित जनताका आवाजलाई आत्मसात गरेर हिम्मतकासाथ न्यायको पक्षमा राज्यले काम गर्न सकेन भने झनै अराजकता बढेर जानेछ । नेपालको राजनीतिमा अविवेकी पात्रहरू क्रियाशील रहँदासम्म यो राष्ट्रले कुनै पनि हालतमा अग्रगति लिनसक्ने अवस्था छैन । आगामी दिनमा पनि दलका नेताहरू राजनीतिको नाममा लडिरहे भने जनताले फेरि पनि चैनका साथ बाँच्न पाउने छैनन् ।

प्रतिक्रिया