कच्चा पदार्थ अभावले स्वदेशी कागज कारखाना संकटमा

BIRAHAभैरहवा, २४ वैशाख । कागज कारखानामा प्रयोग हुने कवाडीजन्य पदार्थ सबै भारततर्फ निकासी हुन थालेपछि स्वदेशी कागज कारखाना संकटमा पर्न थालेका छन् ।
बजारमा रहेका थोत्रो कागज, बट्टाको कागज, पुरानो पत्रिका, किताब कापी, फलाम, प्लास्टिक जस्ता पदार्थ सस्तो मूल्यमा भारततर्फ निकासी गर्नकै लागी रूपन्देहीको बेलहिया नाका आसपास चारवटा कवाडी पसल खोलिएका छन् । तिनै पसलले कवाडी खरिद संकलन गर्छन् । यस्ता सामान  विनाभन्सार भारततर्फ निकासी हुने गरेको स्रोतले बतायो ।
बजारका कवाडीजन्य पदार्थ संकलनकै लागि एउटा गिरोह नै लागेको स्रोतको दाबी छ ।
साइकलमा थरी–थरीका एजेन्ट खटाएर घर–घरमा पुगी सो गिरोहका प्रतिनिधिले नेपाली उद्योगमा खपत हुने कवाडीजन्य पदार्थलाई भारत निकासी गरी नेपाली उद्योगलाई रुग्ण बनाइरहेको दाबी स्थानीयको छ । सो गिरोहको फन्दामा कवाड संकलक पनि परेका छन् । नेपाली उद्योगले प्रतिकेजी १६ रुपियाँमा कवाडीजन्य पुरानो कागज खरिद गर्ने गरेका छन् । भारतमा त्यही कागज प्रतिकेजी नौ रुपियाँमा खरिद हुने गर्छ । प्रत्येक किलोमा औसतमा सात रुपियाँ घाटा लाग्दासमेत कवाडी संकलक भारतीय कवाडी एजेन्टलाई नै सामान बेच्न बाध्य भएका छन् ।
नेपाली कानुनको फाइदा उठाउँदै नेपाली उद्योगले प्रयोग गर्ने कच्चा पदार्थ भारततर्फ निकासी हुँदा यहाँका उद्योग बन्द हुने अवस्थामा पुगेका हुन् । नेपाली कच्चा पदार्थको भरोसामा ती अधिकांश उद्योग सञ्चालित भइरहेका बेला जथाभावी ढंगले नेपाली कच्चा पदार्थ भारत निकासी तथा चोरी निकासी हुँदा उद्योग समस्यामा परेको रिलायन्स पेपर मिलका प्रबन्ध–निर्देशक श्याम अग्रवालले बताए ।
नेपाली कागज उद्योगले महँगोमा पुराना कागज खरिद गर्दा पनि भारतमै बिक्री गरिँदा अब कम्पनी बन्द गर्नुपर्ने अवस्थामा पुगेको व्यवसायी अनिल उपाध्यायको भनाइ छ । नेपाली बजारका कवाडीजन्य पुरानो कागज, थोत्रा जुटको बोरा, पुरानो बट्टालाई पुन: प्रयोग गर्दै नयाँ–नयाँ कागज तथा बट्टा एवं गत्ता उत्पादन गर्ने उद्देश्यले नेपालमा सात वटा पेपर मिल स्थापित छन् । तर, यी मिलको कच्चा पदार्थ कौडीको भाउमा भारततर्फ जाँदा उद्योग सञ्चालनमा समस्या निम्तिएको एमके पेपर मिलका महाप्रबन्धक एम धु्रव पोखरेलले बताए ।
नेपालका पेपर मिलले पराल, गहँुको छ्वाली, कागज, पुरानो कागज, थोत्रा जुटको बोरा, पुरानो पत्रिका, किताब, कापी, पुरानो बट्टालाई कच्चा पदार्थका रूपमा प्रयोग गर्ने गर्छन् । ती कवाडीजन्य पुराना पदार्थबाट मेफिलेतो पेपर र क्राफ्ट पेपर तयार हुने गर्छ । मेफिलेतो पेपर लेख्ने छाप्ने पेपर, स्थानीय प्रिन्ट पेपर, सल्लिक पेपर जस्तामा प्रयोग हुने गर्छ भने क्राफ्ट पेपर कार्टुन, गत्ता बनाउन प्रयोग हुने गर्छ ।
स्वदेशी कच्चा पदार्थ त्यसमा पनि एकपटक प्रयोग गरेर फालिसकेका पदार्थ पुन:प्रयोग गरी निर्माण गरिने उद्योग पनि संकट पर्नु चिन्ताको विषय बनेको व्यवसायीको भनाइ छ । हाल सञ्चालनमा रहेका कागज उद्योगमा एमके पेपर मिल,  रिलायन्स पेपर मिल, एभरेस्ट पेपर मिल, बाबा कार्ड बोर्ड, बाबा पेपर मिल, अरविन्द पेपर मिल  र भृकुटी पल्प एन्ड पेपर मिल रहेका छन् ।
पछिल्लो समयमा कच्चा पदार्थ अभावका कारण सबै उद्योग बन्द हुने अवस्थामा पुगेको नेपाल पल्प एन्ड पेपर मिल म्यानुफ्याक्चरिङ एसोसिएसनका अध्यक्ष रमेश सराफले बताए । सराफले कच्चा पदार्थ अभावका कारण उद्योग बन्द हुने अवस्थामा पुगेकाले यस सम्बन्धमा मन्त्रालय, उद्योग वाणिज्य संघ तथा सम्बन्धित निकायमा लिखित र मौखिक गरेर पटक–पटक कुरा राखे पनि व्यवहारमा कार्यान्वयन नभएको बताए । अध्यक्ष सराफले भने, ‘भारतबाट नेपालमा पेपरमिलका लागि आवश्यक कच्चा पदार्थ आयात गर्न प्रतिबन्ध छ ।’
नेपालबाट प्रतिवर्ष लाखौँ टन पेपर मिललाई आवश्यक कच्चा पदार्थ वैधानिक र अवैधानिक बाटो हँुदै भारततर्फ निकासी भइरहेको छ ।
भैरहवा भन्सारबाट गत आर्थिक वर्षमा २० लाख ८१ हजार १ सय २ केजी निकासी भएको थियो भने यस आर्थिक वर्षको चालु चैत मसान्तसम्म त्यो दर बढेर ९० लाख २१ हजार ६ सय ४० केजी निकासी भएको छ । यस सम्बन्धमा सिद्धार्थनगर उद्योग वाणिज्य संघका अध्यक्ष विष्णु शर्माले भने, ‘महासंघको केन्द्रीय नीतिअनुसार हामीले रद्दी कागज भारत निकासीका लागि सिओ जारी गरिरहेका छाँै । यसबारे माथिल्लो निकायमा कुरा राखेका छौँ । ’
विद्युत् अभाव, बन्द हडतालको मार खेपिरहेका नेपाली उद्योगले कच्चा पदार्थ विदेश निर्यात भइरहँदा झन् समस्यामा परेका छन् । नेपालमा हाल चालु ६ वटा प्रत्येक मिललाई दैनिक तीन सय टनका दरले दैनिक १ हजार ८ सय  टन कच्चा पदार्थ आवश्यक पर्छ । तर, त्यो कच्चा पदार्थ भारततर्फ निकासी हँुदा स्वदेशी उद्योग संकटमा परेका छन् ।

प्रतिक्रिया