राप्रपा र राजपा एकताका लागि अन्तिम तयारीमा

काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टी र राष्ट्रिय जनशक्ति पार्टीको अन्तिम केन्द्रीय समितिको बैठकले एकता महाधिवेशनमा प्रस्तुत हुने राजनीतिक प्रतिवेदनलाई अन्तिम रूप दिएको छ ।
राजपा सहअध्यक्ष प्रकाशचन्द्र लोहनीले तयार गरेको राजनीतिक प्रतिवेदनलाई शुक्रबार बसेको संयुक्त केन्द्रीय समितिको बैठकले अन्तिम रूप दिएको हो । बैठकले प्रस्तावमाथि आएका प्राविधिक विषय मिलाउन केन्द्रीय कार्यसम्पादन समितिलाई जिम्मा दिएको छ । ३ जेठदेखि तीन दिन दुई पार्टीको एकताका लागि एकता महाधिवेशन हुँदै छ ।
०६१ सालमा विभाजित यी दुई दलले एकताका लागि मध्यमार्गी विकल्पमा जाने सहमति गरिसकेका छन् । राजपा अध्यक्ष सूर्यबहादुर थापा राष्ट्रिय अध्यक्ष र राप्रपा अध्यक्ष पशुपतिशमशेरलाई कार्यकारी अध्यक्ष बनाउने तयारी छ । अध्यक्ष पदमै किचलो हुँदा यी दलले ५ पटक एकताको प्रयास गरे पनि सहमति गर्न सकेका थिएनन् । पार्टी एकताको सन्तुलन मिलाउन पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दलाई राजनीतिक समितिको संयोजक र नेता राजेश्वर देवकोटालाई संसदीय समितिको संयोजक दिने उनीहरूको तयारी छ । राजपा सहअध्यक्ष लोहनीलाई अनुगमन समितिको संयोजक दिन यी दल तयार भएका छन् । (सौस)

प्रतिक्रिया