सिमलको नांगो हाँगा

Tumkhewaधेरै वर्षअगाडि
हाम्रो प्रेम साटिएको फलँैचा
त्यसरी नै ठिंग उभिएको थियो
बाटोछेउमा लहरै उभिएका सिमलका रूखमा
चैत त्यसरी नै नांगिएको थियो
म थिएँ,
मेरा रहरहरू थिए, केवल तिमी थिएनौ ।

अब–
एक्लै रोएको मादलको ताल हुन सक्छ
यो फलैँचा,
यो बाटो,
र आत्मीय लाग्ने हावाको स्पर्श ।

फेरि पनि —
मृत्युदण्ड घोषणा हुन सक्छ
कुनै प्रेमी नागरिकलाई
र,
सुदूर गाउँमा रोइरहेकी हुनसक्छे
बूढी आमा आफ्नो सन्तानको सम्झनामा
जसरी—
धेरैअघि रोएकी थिएँ म
प्रियतमको नाममा एउटा अप्रितम साझा ।

साँच्चै ,
सत्र वर्षपछाडि
त्यही फलँैचामा उभिएर
साँचिरहेछु,
देखिरहेछु,
यो फलँैचा
यो सिमलको रूख
हामीलाई हेर्दै दौडने ती बच्चाहरू ठूला भैसकेछन्
पहाडभन्दा अग्लो,
मात्र म–
प्रेमको नाममा,
त्यागको नाममा,
एउटा पृथक् इतिहास बाँचिरहेछु
देखिएको सिमलका नांगा हाँगाहरूजस्तै

प्रतिक्रिया