फ्ल्यासब्याकमा वर्तमान दाइ

Madhav-SayaPatriनेपाली पाठक र लेखक २०६९ को दसैँको उल्लासमा रमाइरहेको बेला अत्यन्त अप्रीय समाचारले मर्माहत भएँ, ‘साहित्यकार गोविन्द वर्तमानको निधन’ । पत्याउनै गाह्रो अकल्पनीय यथार्थ थियो त्यो । हट्टाकट्टा देखिने गोविन्द वर्तमान कसरी गए होलान् ! पाइल्स जस्तो सामान्य रोगले पनि मानिसको ज्यानै लिन सक्छ ? सोचेँ, उनको शरीरको भित्री अंगमा कुनै जटिल रोगले आक्रमण गरिसकेको थियो होला ।
विशेषत: म वर्तमानलाई नैतिक र स्वाभिमानी लेखक भनेर चिन्छु । प्रगतिवादी लेखनमा उनले ‘नम्बर वन इमेज’ बनाएका थिए । पढिएका उनका साहित्यिक फुटकर रचना, समीक्षा, निबन्धबाट मैंले उनीप्रतिको दृष्टिकोण बनाएको छु । मेरो बुझाइले ठम्याएका अत्यन्त निर्भिक, निष्ठावान, स्वाभिमानी तथा स्पष्ट दृष्टिकोण भएका पाँच समकालीन साहित्यकारमध्ये उनी पनि पर्छन् । नेपाली पाठकले निर्भिक, शक्तिशाली एउटा लेखक गुमाएका छन्, साहित्यकारले असल, मिलनसार मित्र । देशले अझै कम्तीमा पनि ३० वर्ष बाँच्नुपर्ने होनाहार कलमवीर गुमाएको छ । परिवार, आफन्तले……भो, नलेखौँ ।
gobindगोविन्द वर्तमानसँग मेरो पहिलो भेट विसं. २०६५ पुस २४ गते मन्थलीमा साहित्यकार जगदीश घिमिरेले गरेको साहित्यिक कार्यक्रममा भएको थियो । साहित्यकार, पत्रकारसँग परिचय गर्नका लागि पनि म साहित्यिक कार्यक्रममा थाहा पाएसम्म जाने गदर्छु । तीनै मानिसलाई काठमाडौंमा भेट्न गाह्रो हुन्छ । भेटे पनि भेट खासै अविस्मरणीय हुँदैन । आफ्नो जिल्लामा आएको बेला भएको भेटलाई उनीहरूले पनि बिर्सिदैनन् । यस्तोमा राम्रै सम्बन्ध बढ्छ ।
मलाई ‘मूल्यांकन’ र ‘नवयुवा’ नपढी नहुने । ०६२ सालमा मन्थलीबाट घर आउँदा म दोलखा किर्नेटारको आर्मी क्याम्पमा ‘मूल्यांकन’ कै कारण निगरानीमा परेँ । घर आएर तत्कालीन शासकलाई आपत्ति लाग्ने, भूमिगत माओवादी नेताका फोटो भएका मूल्यांकनका ‘हार्ड’ अंकहरू जलाएँ । २०६५ सालको मूल्यांकन मासिकको दशैं अंकमा छापिएको कथा ‘मूल्यांकनमा आगो लगाउँदा’को रचनागर्भ आफैंले भोगेको पीडा थियो ।
मन्थलीको कार्यक्रममा नारायण ढकालले गोविन्द वर्तमानसँग मेरो परिचय गराइदिए । मेरो परिचय भन्नु नै मूल्यांकनमा छापिएको कथा थियो । वर्तमानले त्यो कथा पढेका रहेछन् । नारायण र वर्तमानसँग आफू मूलधारमा आउन नसकेको ‘गनगन’ गरेँ । गनगन सुनेपछि वर्तमानले भने, ‘माधवजी, धेरै गनगन गर्नुहुँदैन । मिडियाको पछि कहिल्यै नलाग्नु । चर्चा, प्रशंसा नखोज्नु । राम्रो लेख्नु । मिडिया आफैं खोज्न आउँछ । मूल्यांकनले तपाईंको कथा छापिसक्यो ।’ म ट्वाल्ल परि वर्तमानको मुखमा हेरिरहेँ । नारायण ढकाल र वर्तमानलाई मैले उपन्यास लेखेको कुरा बताएको थिएँ । दुबैले उपन्यास पढेर सुझाव दिने वचन दिएका थिए ।
बीचमा नारायण ढकालसँग भेट भयो तर वर्तमानलाई भेट्न मैले अर्को तीन वर्ष पर्खनुपर्‍यो । ०६८ माघ २२ गते मन्थलीमै जगदीश घिमिरे प्रतिष्ठानको कार्यक्रममा वर्तमानसँग दोस्रो भेट भयो । कार्यक्रममा खगेन्द्र संग्रौला, नारायण ढकाल, राजव, शरदचन्द्र वस्ती, शार्दूल भट्टराई, राप्रउ पोखरेल, कृष्णमुरारि भण्डारीहरू आएका थिए । राति अबेरसम्म तामाकोसी गेस्ट हाउसको प्राङ्गणमा क्याम्प फायरिंगबीच आ–आफ्ना रचना सुन्ने र सुनाउने गर्‍यौँ । गजलकै बाहुल्य रह्यो । गजलकार ज्ञानुवाकर पौडेल मजाले जमे । उनका गजलले लठ्ठै पार्‍यो । कथा कसले सुन्ने ! सोमरसले लठ्ठिएको बेला कथाले थप ‘डोज’ दिन सक्दैन । त्यस्तोमा गजलै फिट हुन्छ ।
राति १० बजे हामी क्याम्प फायरिङबाट छुट्टियौँ । सोमबारे हाट पनि परेकोले बिहान मन्थलीको हाटेचौर घुम्न गयौँ । ‘मन्थलीको चिनो’ भनेर आगन्तुक सबैले केही न केही चिज किने । गोविन्द वर्तमानले ‘नम्बर वन अग्र्यानिक’ भन्दै दुई किलो गोलभेडा किने । पसलेले दिएको प्लास्टिकले वर्तमानको ‘अग्र्यानिक’ गोलभेडा थेगेन । प्लास्टिक चुँडियो । केही गोलभेडा धूलोमा झरे । म उनीसँगै थिएँ । उनीसहित तीन चारजना साहित्यकारको म ‘गाइड’ बनेको थिएँ । वर्तमान दाइ अर्को झोला खोज्न गोलभेडा किनेकै ठाउँमा जान लागे । मैले मेरो क्लियरव्याग राखेको प्लास्टिकको नीलो झोला दिँदै भनेँ, ‘गोविन्द सर, मसँग दह्रो झोला छ, यसैमा हाल्नुस् ।’ वर्तमानले भने, ‘पर्दैन माधवजी, तपाईंलाई अप्ठेरो हुन्छ । म झोला ल्याउँछु ।’ मैले भनेँ, ‘गोविन्द सर, क्लियरव्याग हातैमा बोकिहाल्छु
नि ! यसले गोलभेडा थेग्छ पनि ।’ मैले झोला थापिदिएँ, उनले गोलभेडा हाले । मैले मौकाको उपयोग गरिहालेँ, ‘वर्तमान सर, मन्थली यात्रा संस्मरण लेख्दा मेरो निलो झोला नछुटोस् है ! सन्दर्भमा कतै आओस् ।’ उनले हाँस्दै भने, ‘मन्थलीको धुलौटे हाटमा, सयपत्रीको निलो झोलामा, गोविन्द वर्तमानका राता गोलभेडा ।’
वर्तमानसँग तेस्रो भेट भने छिट्टै भयो । त्यो नै अन्तिम भेट भयो । कालगतिका कुरा कसले पो थाहा पाउँछ र ! २०६८ चैत २५ गते उपन्यासकार नयनराज पाण्डेको उपन्यास ‘लू’ विमोचन कार्यक्रममा हलबाट बाहिर निस्किएपछि पालीक्याप लगाएका होचाहोचा गोविन्द वर्तमानलाई देखेँ । म उनको नजिकै गएँ र भनेँ, ‘नमस्कार, गोविन्द सर ! मन्थली यात्रा संस्मरणमा मेरो झोला हराएछ नि !’ उनी हाँसेमात्र । एकछिनपछि भने, ‘सबै सम्झन सकिन्न, कति प्रसङ्ग बिर्सिन्छन् । फेरि कतै लेखुँला नि माधवजी ।’
गोविन्द वर्तमान आफ्नो ‘वर्तमान’ नै बिर्सेर ‘भूत’तिर प्रस्थान गरिसकेका छन् । अब उनले कहिल्यै लेख्दैनन् र मेरो निलो झोलाको प्रसङ्ग पनि कहिल्यै आउने छैन । गोविन्द वर्तमानलाई आफ्नो उपन्यास पढ्न दिन नपाएकोमा र सुझाव लिन नपाएकोमा मलाई सधैँ अपसोच लागिरहनेछ ।

प्रतिक्रिया