सुखी छैनन् जेष्ठ नागरिक

aaमान्छे सधैँ युवा रहँदैन । बुढेसकाल सबैको आउँछ, कमजोर सबै हुन्छन् । सबैलाई जीवनको अन्तिम घडीमा अरूको सहारा चाहिन्छ । तर, त्यो स्वीकार गर्न तयार रहँदैन आजको युवा । आफ्नो सन्तानलाई भरमग्दुर माया गर्छ, उसका हरेक इच्छा पूरा गरिदिन्छ । तर, नजिकै बसेर खोकिरहेको बूढो बाउले हिजो आफूलाई हुर्काउँदा गरेका दु:खचाहिँ ऊ भुलिरहेको हुन्छ । धन र वैभव प्रशस्त भए पनि मनका गरिबहरू थुप्रै छन् हाम्रो समाजमा ।

मेरी आमा आफ्ना लागि भन्दा अरूका लागि बढी सोच्नुहुन्थ्यो । समाजसेवामा विश्वास राख्नुहुन्थ्यो । मैले पनि उहाँबाटै प्रेरणा पाएकी हुँ, समाजसेवामा । शान्ति विद्या निकेतनको संस्थापक हुनुहुन्थ्यो उहाँ, त्यहाँ रहेर धेरै काम गर्नुहुन्थ्यो । उहाँ आफूले औपचारिक शिक्षा पाउनुभएको थिएन, तर धेरैलाई साक्षर बनाउने अभियानमा लाग्नुभयो । उहाँको व्यवहारले मलाई पनि समाजसेवाप्रति उत्प्रेरणा जगाउँथ्यो ।
मैले लामो समय शिक्षणपेसामा बिताएँ । जागिरका सिलसिलामा शिक्षकहरूलाई शिक्षण तालिम दिन देशका विभिन्न भाग पुगेँ । गाउँगाउँका व्यवहार नियालेँ । त्यस क्रममा कतिपय छोराछोरीले आमाबुबाप्रति अन्याय गरेको देखेँ । मलाई दु:ख लाग्थ्यो । बुबाआमाले कति ठूलो सपना साँचेर सन्तानलाई हुर्काउँछन्, बढाउँछन् । उनीहरूको शिक्षा, लालनपालनका लागि हाडछाला घोटेर सम्पत्ति आर्जन गरिदिन्छन् । बुढेसकालका सहारा छोराछोरी मानेका हुन्छन् । तर, जब बुबाआमा बूढा हुन्छन्, छोराछोरीचाहिँ उनीहरूलाई बोझ मान्न थाल्छन् । धेरै देखेँ यस्ता मानिसहरू । उमेरले भन्दा पनि उचित स्याहार र व्यवहार नपाएर बूढा भएका बढी देखेँ । बाबुआमालाई घर र नातिनातिना कुरेर बस्ने पालेका रूपमा हेर्ने प्रवृत्ति छोराछोरीमा देखेँ ।
लामो शिक्षणकार्यपछि मैले पनि जागिरबाट अवकाश पाएँ । विश्वविद्यालयका प्रध्यापकहरूले नेपाल जेष्ठ जनसामाज सञ्चालन गरेका रहेछन् । मलाई
त्यसमा सहभागी हुन आग्रह गरे । मलाई रुचि पनि थियो, समाजका लागि केही गरौँ भन्ने । अभियानमा सहभागी भएँ । त्यत्तिकै बस्नुभन्दा समाजका लागि केही गरे आफ्नो र अरूको भलो हुन बुझेकी थिएँ । विद्यार्थी जीवनमा छँदा पनि सक्रिय हुन मन लाग्थ्यो । आफू पढ्ने र अरूलाई पढाउने सँगै गर्थें । त्यत्तिकै बस्नु समय खेर फाल्नु हो भन्ने मेरो बुझाइ थियो । मेरो व्यस्तता देखेर अरू मान्छे सोध्थे– ‘तिमी मेसिन हौ त, आरामै नचाहिने ?’ हुन पनि अफिस छुट्नासाथ घरतिर लाग्नुको साटो सिधै स्काउट कार्यालयतिर हिँड्थेँ ।
मैले घरबाहिर मात्र होइन, आफन्तहरूभित्रै पनि बुढेसकालमा आफ्नो कोही नभएजसरी जीवन बिताउन बाध्य भएकाहरू थुप्रै देख्थेँ । अथाह सम्पत्ति, घर–परिवार सबै भएर पनि एक्लो बनेकाहरू । आवश्यक सम्पूर्ण भौतिक सुविधा भएर पनि केही नभएजसरी जीवन बिताएकाहरू । सबै चिज छन्, तर मन खुसी पार्ने केही छैन । परिवारका सदस्यहरू यति व्यस्त छन्, उनीहरूको कुरा सुन्ने, भावना बुझ्ने फुर्सद कसैसँग छैन । यो अवस्था मेरो मनमा पनि बिझिरहेको थियो । तर, गर्न केही सकिरहेकी थिइनँ । तर, अभियानमा लागेपछि मैले खोजेजस्तो बाटो भेटेँ । उनीहरूका पक्षमा केही गर्ने जोस पलायो ।
०५२ सालमा यो संस्था सुरु गर्दा जम्मा सात जना थियौँ । संस्थापक भए पनि सुरुमा म उति सक्रिय थिइनँ । कार्यालय थिएन । पालैपालो सबै सदस्यका घरमा बैठक गथ्र्यौं । अभियानलाई साथ दिने एक जना सहयोगी पायौँ । भर्खरै उहाँको घरमा नि:शुल्क कार्यालय खोलेका छौँ । यो क्षेत्र यति ठूलो छ कि जति काम गर्‍यो उति गरौँ–गरौँ लाग्ने । समस्या पनि त्यतिकै जटिल छ । धेरैको व्यथासँग म आफैँलाई उभ्याउँछु । उनीहरूका पक्षमा थोरै केही गर्न पाउँदा पनि आफूलाई सन्तुष्ट लाग्ने रहेछ । दु:खी अनि एक्लोपनले सताएका बूढाबूढी जति पनि देख्छु, त्यो आफैँ हुँजस्तो लाग्छ ।
यहाँ यस्तो अवस्था छ– अथाहा सम्पत्ति बटुलेका, ठूलो ओहदामा पुगेकाहरूले समेत बुबाआमालाई वृद्धाश्रममा लगेर छाडेका छन् । औँला समातेर हिँड्न सिकाउने, नौतिकताको पाठ सिकाउने आमाबाबु मर्दा दागबत्तीसम्म नदिने सन्तान देखेँ । दूधको लाम्टो चुसाएर, आफू भोकै बसेर जविन दिने आमा भोकै पर्दा आफू मात्र पेट भरेर सुखले बाँच्नेहरू थुप्रै छन् ।
एउटा घटना सम्झँदा अहिले पनि आँखा रसाउँछ मेरो । एक ठूलै ओहदाका व्यक्तिले आमालाई वृद्धाश्रम पुर्‍याएका रहेछन् । त्यहीँ आमाको मृत्यु भयो । आश्रमले अन्त्येष्टिका लागि छोरालाई खबर गर्दा उनले जवाफ दिएछन्– ‘त्यहाँ नजिकै खोला छ नि, त्यहीँ फालिदिनू ।’ ती आमाले नौ महिना कोखमा राखेर कति दु:खले हुर्काइन् होला त्यो छोरालाई † त्यो ‘सज्जन’ लाई उत्कृष्ट ओहदामा पुर्‍याउन कति मेहनत गरिन् होला । कतिका अघि हात जोडिन् होला ? तिनै आमाबाबुले आर्जन गरेको सम्पत्तिमा बसेर ऐसआरामको जिन्दगी बिताइरहेको हुन्छ ऊ । तर, आफ्नी आमाको मृत्युमा एक थोपा आँसु खसाल्ने भावना र समय दुवै उसँग छैन । यो एउटा घटना प्रतिनिधि मात्रै हो । यस्ता अरू पनि थुप्रै घटना भइरहेका हुन्छन्, भित्रभित्रै । थोरै मात्र सार्वजनिक हुन्छन् ।
आमबुबाले छोराछोरी हुर्काउँदैदेखि सुनौलो सपना साँचिरहेका हुन्छन् । उसलाई दु:खी हुन नदिन हरसम्भव प्रयास गर्छन् । त्यही सन्तानले बुढेसकालमा एक शब्द बोल्न पनि अप्ठेरो मानिदिँदा कति रोला बूढाबूढीको मन † मान्छे सधैँ युवा रहँदैन । बुढेसकाल सबैको आउँछ, कमजोर सबै हुन्छन् । सबैलाई जीवनको अन्तिम घडीमा अरूको सहारा चाहिन्छ । तर, त्यो स्वीकार गर्न तयार रहँदैन आजको युवा । आफ्नो सन्तानलाई भरमग्दुर माया गर्छ, उसका हरेक इच्छा पूरा गरिदिन्छ । तर, नजिकैको खोकिरहेको बूढो बाउले हिजो आफूलाई हुर्काउँदा गरेका दु:खचाहिँ ऊ भुलिरहेको हुन्छ । यही कुराले दु:ख लाग्छ मलाई । धन र वैभव प्रशस्त भए पनि मनका गरिबहरू थुप्रै छन् हाम्रो समाजमा । सानोमा आफूलाई चोट लाग्दा बाबुआमा कति रोएका थिए भन्ने बुझ्दैनन् ।
केही समयपछि हामी आश्रम सञ्चालन गर्ने सोचमा छौँ, तयारी हुँदै छ । अरू थुप्रै आश्रम स्थापना पनि भइसकेका छन्, सरकारी अनि गैरसरकारी रूपमा । कतिपयले सल्लाहमै आमाबुबालाई आश्रममा राख्ने गरेका छन्, बेलाबेला भेट्न आउँछन् । हामी पनि विभिन्न आश्रम पुुगिरहन्छौँ, वृद्धवृद्धालाई भेट्छौँ । उनीहरूको लवाइखवाइले नै थाहा हुन्छ, कस्तो परिवारबाट आएका हुन् भन्ने । हामीले आजसम्म ‘किन आमाबुबालाई आश्रममा राखेको, घर लैजाऊ’ भनेका छैनौँ । बुबाआमाले नै उसलाई नैतिकताको पाठ निकै सिकाइसकेका हुँदा हुन्– ठूलालाई आदर–सम्मान गर्नु भनेर । तिनै बाबुआमाप्रति गैरजिम्मेवार बन्ने ‘अनैतिक’ हरूले हाम्रो कुरा के मान्लान् र जस्तो लाग्छ ।
छोराछोरी विदेश बसेर यता आमाबुबालाई पैसा पठाइदिने संस्कार पनि देखियो । हातखुट्टै नचल्ने उमेरमा पैसा खान मिल्दैन क्यारे, त्यसको के अर्थ र ? तर, छोराछोरी पैसा पठाएकोमा गर्व गर्छन्, जिम्मेवारी निर्वाह गरेको सम्झँदै मख्ख पर्छन् । तर, बुझ्दैनन्– बुढेसकालका आमाबुबालाई त्यतिले मात्रै पुग्दैन । त्यस्ता बूढाबूढीका लागि हामी आश्रम खोल्न चाहन्छाँै । बुढेसकालमा उनीहरूको भोगाइ, अनुभव र सिर्जनालाई बाहिर ल्याउने सोचाइ बनाउँदै छौँ । पैसा भएर पनि पारिवारिक सुरक्षा नभएका घटना धेरै छन् । आफ्नैलाई विश्वास गर्न गाह्रो छ । त्यस्ता व्यक्तिको त्यो पैसा उनीहरूले चाहेअनुरूपको जीवन निर्वाहमा लगाइदिन चाहन्छाँै हामी । आफन्तको अभावमा पैसा भएर पनि कुनै बूढाबूढी अस्पताल जानबाट वञ्चित नहोस्, अशक्तताका कारण खान नपाएर मर्नु नपरोस् भन्ने हाम्रो उद्देश्य हो ।
कतिपय वृद्धवृद्धा आफ्नै घरमा बस्छन् तर उकुसमुकुस भएर बाँच्छन् । आफ्नो विचार आफँैले बनाएको घरमा स्वतन्त्रतापूर्वक अभिव्यत्त गर्न सक्दैनन । खानलाउन नपाएका जेष्ठ नागरिक मात्र होइन, खानलाउन पाए पनि विचारहरू गुम्स्याएर बसिरहेका बूढाबूढी थुप्रै भेटिन्छन् । वृद्धवृद्धाका नाममा खोलिएका प्राय: संस्थाहरूको एउटै धारणा छ– उनीहरूलाई खानलाउन दिए मात्र पुग्छ । तर, त्यसो होइन, मेरो फरक धारणा छ । उनीहरूलाई वैचारिक र भावनात्मक स्वतन्त्रताको पनि अनुभूति हुन दिनुपर्छ । मनको कुरा अभिव्यक्त गर्न पाउनु, आफूभित्रको सीपबाहिर ल्याउन पाउनु सबैको अधिकार हो ।
शारीरिक रूपले कमजोर भए पनि वृद्धवृद्धाको अनुभवजन्य ज्ञान युवाहरूको भन्दा निकै बलियो हुन्छ । विचारहरू परिष्कृत हुन्छन् । ती सोचहरूले स्वतन्त्रतापूर्वक काम गर्न पाए समाज थप लाभान्वित हुन्छ । बूढो हुँदैमा चुप लागेर बस्ने भन्ने हुँदैन, शरीरले दिएसम्म काम गर्न सक्ने वातावरण उनीहरूलाई दिनुपर्छ । उमेर छँदासम्म उनीहरूले आफ्नो सबै सीप छोराछोरीका लागि खर्चिएका हुन्छन् । त्यसपछिको क्षमता समाजका लागि दिन पाउनुपर्छ । प्राय: वृद्धवृद्धाको चाहना हुन्छ पनि त्यस्तै । उनीहरू यस्तो काम गर्न चाहन्छन्, ताकि मृत्युपछि पनि समाजले सहानुभूति राखोस् । असल भावना भएको मान्छेका रूपमा समाजले उसको वियोगमा दुई थोपा आँसु चुहाओस् । र, त्यो अवस्था निर्माण गर्न वातावरण हरेक वृद्धवृद्धाले पाउनुपर्छ । धर्मका लागि पूजाथाली बोकेर मान्दिर जानुपर्छ भन्ने छैन । उनीहरूको सेवा पनि धर्म हो । उनीहरूका अव्यक्त भावना बुझ्न सक्नुपर्छ । मनोविज्ञान बुझेर सेवा र अवसर दिनुपर्छ ।
मेरो सपना हो– कसैले पनि सम्पत्ति वा छोराछोरीको अभावमा भोकभोकै वा आँसु बगाएर बाँच्नु नपरोस् । सरकारले पनि जेष्ठ नागरिकको उचित व्यवस्थापन गर्नुपर्छ । पशुपतिस्थित वृद्धाश्रममा पर्याप्त सुविधा छैन । सरकारले उपलब्ध गराउने सुविधा त्यहाँ पुग्दा धेरै ठाउँमा चुहिसकेको हुन्छ । तर, अनुगमन छैन ।
त्यस्ता आश्रम देशका विभिन्न स्थानमा चलाउनुपर्छ । जेष्ठ नागरिकका समस्यालाई व्यक्तिगत होइन, राष्ट्रिय समस्याका रूपमा हेरिनुपर्छ । कतिपयका लागि त वृद्धाश्रम मागी खाने भाँडो पनि भएको छ । सेवा त भावनात्मक पो हुनुपर्छ, व्यावसायिक रूपमा पैसा कमाउने उद्देश्य यहाँ राख्नु हुँदैन ।
प्रस्तुति : चमिना भट्टराई

प्रतिक्रिया