अवैध सामानको आयात बढ्यो

कञ्चनपुर, १२ वैशाख । सशस्त्र द्वन्द्वका बेला असुरक्षाको कारण देखाउँदै विस्थापित भएका कञ्चनपुरका करिब आधादर्जन छोटी भन्सार कार्यालय पुन:स्थापन हुन नसक्दा अवैध समानको आयात बढ्न थालेको छ ।

विस्थापित भएका दोधारा, परासन, पचुइँलगायत छोटी भन्सार कार्यालय अझ पनि पुन:स्थापन हुनसकेका छैनन् । कार्यालयका भौतिक संरचना नभएको, कर्मचारीको कमी र सुरक्षाको प्रत्याभूति नहुँदा छोटी भन्सार कार्यालय पुन:स्थापन गर्न नसकिएको कञ्चनपुर भन्सार कार्यालय गड्डाचौकीका प्रमुख मानबहादुर पौडेलले बताए ।
भारतीय बजारबाट सामान ल्याउनेहरूले फरक बाटोको प्रयोग गरी सामान ल्याउने भएकाले ती क्षेत्रमा छोटी भन्सार कार्यालय राख्नु र नराख्नुको कुनै अर्थ नभएको उल्लेख गर्दै कार्यालय प्रमुख पौडेलले भने, ‘केन्द्रलाई छोटी भन्सार कार्यालयको पुनरावलोकन र विस्तृत अध्ययनको कार्यलाई अगाडि बढाउन आग्रह गरेका छौँ ।’
छोटी भन्सार कार्यालय नहँुदा ती क्षेत्रबाट दैनिक तीन करोडभन्दा बढीका हार्डवेयर, सिमेन्ट, फलामे छड, इलेक्ट्रोनिक, मेसिनरी, चिनी, दैनिक उपभोग्य सामग्री, रासायनिक मल, कपडालगायत सामग्री अवैधरूपमा ट्रक र ट्रयाक्टरको प्रयोग गरी सुरक्षाकर्मीहरूको मिलेमतोमा निर्वाधरूपमा व्यापारीले ल्याउने गरेको बताइएको छ ।
राजस्व नतिरिकन भित्र्याइने ती सामग्रीहरू बेलौरी र त्रिभुवनबस्ती हुँदै कैलालीको धनगढी, अत्तरिया र यहाँका स्थानीय बजार झलारी, गुलरिया र पहाडी क्षेत्रका विभिन्न ठाउँमा आपूर्ति गर्ने गरिएको छ ।
सञ्चालनमा रहेको एक मात्रै बेलौरी छोटी भन्सार कार्यालय भएर सामान ल्याउने कुनै व्यवसायी नरहेको भन्सार कार्यालय गड्डाचौकीका प्रमुख पौडेलले बताए । उनले भने, ‘पहिला मासिक रूपमा तीन लाखदेखि पाँच लाखसम्म राजस्व संकलन गर्ने भन्सारले मुस्किलले हाल दस हजार मात्रै राजस्व संकलन गरिरहेको छ ।’
सो नाकाबाट माछा र भारतीय नम्बरप्लेटका सवारीसाधनको कर लिने कार्यबाहेक अन्य कार्य नहुने गरेको उहाँको भनाइ रहेको छ । ‘भन्सार सुरक्षार्थ खटिएका सुरक्षाकर्मी मूकदर्शक भएर बस्ने गरेकाले अवैध तस्करीलाई रोक्न सक्ने क्षमता भन्सारका कर्मचारीलाई छैन,’ उनले भने, ‘दिउँसै आएर तस्करले कर्मचारीलाई धम्क्याउने गरेकाले काम गर्न गाह्रो भएको छ ।’

प्रतिक्रिया