राजनीतिको चेपुवामा विद्यार्थीको भविष्य

Bhabanathaहडताल

२००७ सालमा जहानियाँ राणा शासनको अन्त्य भई मुलुकमा बहुदलीय व्यवस्थाको सुरुआत भयो । धेरै नेपालीले आआफ्नै ठाउँबाट स्वस्फूर्त आन्दोलन गरे । विद्यार्थीले धेरैपटकको आन्दोलनमा उल्लेख्य र महत्त्वपूर्ण भूमिका निर्वाह गरे । नेपालको सन्दर्भमा भन्ने हो भने धेरै राजनीतिक र सांस्कृतिक उपलब्धि हुनुमा विद्यार्थीको हात छ । तर, आजसम्मको इतिहास हेर्दा विद्यार्थीका अगुवाले नै राजनीतिको पछिलागेर विद्यार्थी आन्दोलनलाई धमिल्याएका छन् । केही समययता दलका भातृ संस्थाका विद्यार्थी नेता कार्यकर्ताहरूले देशको शैक्षिक अवस्था डामाडोल पारिरहेका छन् । विद्यार्थी नेताहरूले विद्यार्थीको हकहितको मखुन्डो लगाएर आफू कसरी नेता बन्ने, कसरी आफ्नो पहँुच बढाएर दादागिरी गरी सानातिना ठेक्कापट्टा आफ्नो हातमा पार्ने, संगठनमा कति हतियार प्रदर्शन गर्ने, संगठन–संगठनमा मारपिट गर्ने जस्ता कार्य गरेको पाइन्छ । हामीले देख्न सक्छौँ कि प्राय: पढ्न नसक्ने, अनुसन्धानमा रुचि नभएका, संकीर्ण विचार भएका, नेताका वरिपरि घुमी नजिक पर्ने विद्यार्थी विद्यार्थी नेता भएका छन् । पढ्ने बेलामा महत्त्वपूर्ण समय आजका विद्यार्थीले खेर फाल्दै छन् । पछि तिनै पढाइ बिग्रिएका असफल नेता बन्छन् । जुन अहिलेका नेतामा देख्न सकिन्छ । त्यसैले पनि अहिले नै विद्यार्थी नेताले आफूमा सही संस्कार बसाउनु आवश्यक छ ।
अहिले शिक्षा क्षेत्रमा देखिएका समस्या हेर्दा नेताहरूले विद्यार्थीको हकहितको लागि राजनीति गरेको देखिदैन । अब स्वतन्त्र विद्यार्थी युनियनको चुनाव आउने बेला भएको छ । विद्यार्थी नेताहरूले कलेजको गेटमा बसेर डिउटी गर्ने बेला भएको छ । विद्यार्थीले आफ्ना समस्या समाधान गर्न विद्यार्थीले जानेका छन् । विद्यार्थीको हकहितको राजनीति गर्छु भनेर अब भन्न पाइँदैन । नेपालका ठूला नेताका छोराछोरीहरू विदेशको अक्सफोर्ड, क्याम्ब्रिज जस्ता विश्वविद्यालयमा महँगो शुल्क तिरी गुणस्तरीय शिक्षा लिइरहेका छन् । तपार्ईं हामी पढ्ने विद्यालयलाई चाहिँ राजनीतिक दल र नेताको इसारामा लागेर खोक्रा नारामा लठ्ठ परी विद्यार्थीको भविष्य विगार्नु नितान्त न्यायोचित हँुदैन । युवाशक्ति भनेको देशको शक्ति हो । त्यो शक्तिलाई सही ठाउँमा प्रयोग गरियो भने त्यसले देशलाई धेरै फाइदा गर्छ, होइन भने देशलाई नै हानि पुर्‍याउन सक्छ । विद्यार्थी नेताहरूले गरिब जनता पढ्ने विद्यालय र विद्यार्थीको त भविष्य बिगारे नै निजी क्षेत्रमा पनि त्यही अवस्था सिर्जना गरिसके । पहिला तपार्ईं हामी सबैले मिलेर सरकारी विद्यालयमा सुधार ल्याउनुपर्छ । जबर्जस्ती तोडफोड गरेर शिक्षा क्षेत्रमा सुधार ल्याउन सकिदैन । निजी विद्यालयहरूले पनि मनपरी शुल्क लिनु हँुदैन् । त्यहाँ भएका समस्या समाधान गर्न उचित शैक्षिक ऐन नियमहरू बनाउनु पर्छ । विद्यार्थी संगठन बनाउनु आवश्यक छैन् । जहाँ निजी विद्यालय सरकारी कलेजका प्राध्यापक र कर्मचारीले खोलेका छन् । त्यसका लागि निश्चित मापदण्ड तयार पार्नुपर्छ । विद्यार्थीको दलबल तयार पार्नु आवश्यक छैन् । त्यसैगरी शैक्षिक क्षेत्र बन्द र हडतालले गर्दा विद्यार्थीहरू मारमा परेका छन् । कहिले तालाबन्द, कहिले विद्यालय बन्द, कहिले नेपाल बन्द, कहिले सरकारी चाडपर्वको बन्दले विद्यार्थीको समयमै पाठ्यक्रम सकिदैन र विद्यार्थीले गुणस्तरीय शिक्षा पाउन सक्दैनन् । बेलाबेलामा संगठित विद्यार्थीका गुटउपगुटहरूले आफ्नो सांगठनिक प्रभाव र पहुँच देखाउन विद्यालयको प्रशासनिक तथा शिक्षक कार्यालयमा तालाबन्द गरिन्छ । जसले गर्दा लाखौँ विद्यार्थीको भविष्य अन्धकार हुने स्थिति सिर्जना भएको छ । परीक्षा नजिकिरहेको समयमा विद्यालय बन्द हुनु भनेको विद्यार्थीको भविष्यमाथिको खेलबाड हुनु हो ।
फागुन महिनामा नै धेरै समय विद्यालय बन्द भए । फागुन महिनाको २१ गते सोमबार एकीकृत नेकपा– माओवादी निकट अखिल क्रान्तिकारीले निजी विद्यालयमा संगठन खोल्न पाउनुपर्ने भनेर गाडी तोडफोड गरेका हुनाले सञ्चालकहरूको संगठनले विद्यालय बन्द गराए । २२ फागुन मंगलबार सत्तासीन एकीकृत नेकपा माओवादी निकट अखिल क्रान्तिकारी ले सञ्चालकले बन्द गरेका हुनाले फेरि बन्द गराए । २३ गते बुधबार एकदिन के पढाइ भयो होला त्यसपछि २४ गते बिहीबार मोहन वैद्यले नेतृत्व गरेको नेकपा माओवादीलगायतको बन्दको कारण पढाइ हुन सकेन २५ गते शुक्रबार पनि साना राजनीतिक दलका बन्दले पढाइ मात्र होइन सबै क्षेत्र अस्तव्यस्त नै भयो । २५ फागुन शुक्रबार नारी दिवसका कारण सरकारी बिदा भएकाले पनि पढाइ सुचारु हुन सकेन् । त्यस्तै फागुन २९ गते ग्याल्पो ल्होसार ले विद्यालय बन्द भयो । त्यसैगरी चैत महिनको २५ गते आइतबार पनि नेपाल बन्द भएको छ । वास्तवमा राजनीति गर्ने राजनीतिज्ञहरूले किन बुझ्न सकेका छैनन् ? शिक्षाको विकास भएको मुलुकमा मात्र राजनीति पनि टिकाउ हुन्छ । त्यस्तै विद्यालय सञ्चालकहरूले किन स्वयंले विद्यालय बन्द गरे ऐतिहासिक भूल मात्र गरेका छैनन् । त्यसले धेरै ठूलो नेपालीको अपेक्षा पनि गुमाएको छ ।
हाम्रा विद्यार्थी नेताहरूले आगामी दिनमा बन्द, हडताल, आन्दोलन गरेर त्यस्तो भूल गर्ने छैनन् । विद्यालयलाई शान्ति क्षेत्र बनाउनेछन् । निजी होस् वा सरकारी विद्यालय त्यसको शैक्षिक अवस्था सुधार गर्न अभिभावकको पनि महत्त्वपूर्ण भूमिका रहनेछ । राजनीतिक दललगायत त्यसको भातृ पार्टीलगायतकाले पनि बन्द गर्ने छैनन् । विद्यालयलाई शान्ति क्षेत्र घोषण गर्ने छन् । दसवर्षे जनयुद्ध र विगतका राजनीतिक चेतनाले विद्यार्थी वर्ग, युवा वर्गलगायत सम्पूणर््ा नेपाली जनतलाई राजनीतिक चेतना पलाइसकेको छ । राणाशासनको जस्तो शासकहरूले जे नियम बनायो जे भन्यो त्यही गर्ने वातावरण छैन नेताहरूले राजनीति गर्दा विचार पुर्‍याउनु पर्छ । विद्यालय भनेको राजनीति दलको नेता उत्पादन गर्ने थलो होइन् त्यो मन्दिर हो त्यहाँ जाने भनेका सही शिक्षा हासिल गर्न जाने हो । गुन्डा, फटाहा, जालसाची सिक्न जाने होइन । वास्तवमा एउटा कुरा विद्यार्थी र विद्यार्थीका नेताले बुझ्न जरुरी छ । आजका विद्यार्थी नेता भनेका भोलिका नेता, मन्त्री, प्रधानमन्त्री वा राष्ट्रपति हुन सक्छन् तर हरेक विद्यार्थी प्रधानमन्त्री राष्ट्रपति बन्दैनन् । विद्यार्थीको हकहित र शैक्षिक विकासका लागि राजनीति गरे पनि उनीहरूको स्वार्थ त्यतिमा मात्र सीमित रहँदैन् । आफ्नै भविष्यको ठेगान नभएका विद्यार्थी नेताहरूले अरू विद्यार्थीको शैक्षिक विकास र हित कसरी गर्न सक्लान् र ? पढ्ने उमेरमा राजनीति गरेका विद्यार्थी र विद्यार्थीका नेताहरू व्यवहारिक जिम्मेवारीको समयमा आफूले सोचेजस्तो नहुँदा डिप्रेसन, राजनीतिप्रतिको गलत सोच र पेसेवर अपराधमा लाग्न विवश हुन्छन् र कतिपय विदेशिन बाध्य हुन्छन् । तसर्थ आफूलाई उत्कृष्ट र सफल नेता बनाउने हो भने सफलतापूर्वक सही संस्कारको विकास गर्दै सर्वप्रथम आफ्नो अध्ययन पूरा गनु जरुरी छ । अनि मात्र तपाईं देश र जनताले अपेक्षा गरेबमोजिम ठूलो नेता बन्न सक्नु हुनेछ ।

प्रतिक्रिया