चुनाव हुन्छ, ढुक्क हुनुस् : रेग्मी

Khilraj Regmi Cjकाठमाडौं, १२ वैशाख । अन्तरिम चुनावी मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मीले संविधानसभा चुनाव हुनेमा ढुक्क रहन आग्रह गरेका छन् ।

ललितपुरको लामाटारस्थित शुभतारा सामुदायिक सेवा केन्द्रको उद्घाटनपछि बुधबार अध्यक्ष रेग्मीले आफू नेतृत्वको सरकारले नै संविधानसभा चुनाव गर्ने बताएका हुन् । चुनाव हुनेमा आशंका बढिरहेका बेला उनले देशको भविष्यसँग संविधानसभा चुनाव जोडिएको उल्लेख गर्दै चुनावमा केन्द्रित हुन सबैलाई आग्रहसमेत गरे । उनले चुनावको मितिका विषयमा केही खुलाएनन् । यसअघिको संविधानसभाबाट नयाँ संविधान बन्न नसक्दा देशको सामाजिक, आर्थिक तथा सांस्कृतिक विकास हुन नसकेको उनको भनाइ थियो ।
निजि विद्यालय समुदायप्रति उत्तरदायी हुनुपर्ने
रेग्मीले शैक्षिक प्रसंगमा निजी विद्यालयहरू समुदायप्रति उत्तरदायी हुनुपर्ने धारणा व्यक्त गरे । निजी विद्यालयले शिक्षा मात्र दिएर नपुग्ने स्पष्ट पार्दै उनले आसपासका समाजप्रति सेवाको उत्तरदायित्व पनि बहन गर्नुपर्ने बताएका हुन् । ‘निजी विद्यालय शिक्षासँगै समाजप्रति जिम्मेवार र राज्यप्रति उत्तरदायी हुनपर्छ,’ उनले भने, ‘अनि मात्र देशको विकास हुन्छ ।’
उनले देशको शैक्षिक अवस्था सन्तोषजक पाइएको उल्लेख गर्दै भने, ‘यहाँको साक्षरता वृद्धिदर देख्दा शैक्षिक अवस्था सन्तोषजनक छ । पढाइ पनि गुणस्तरीय हुँदै आएको छ । विद्यार्थीहरू विदेशमा पनि प्रतिस्पर्धा गर्न सकेका छन् ।’
सानेपास्थित शुभतारा विद्यालयले समुदायलाई सेवा दिने उद्देश्यका साथ केन्द्र सञ्चालनमा ल्याएको हो । विद्यालयका प्रिन्सिपल रानी गुरुङ कक्षपतिले विद्यालयले शिक्षा मात्र नदिएर समुदायका व्यक्तिको जीवनमा परिवर्तन ल्याउने उद्देश्यका साथ केन्द्र सञ्चालनमा ल्याइएको जानकारी गराइन् । केन्द्रमा साप्ताहिक रूपमा वृद्धवृद्धाको स्वास्थ्य परीक्षण तथा वैकल्पिक स्वास्थ्योपचार र न्यून आर्थिकस्थिति भएका महिलालाई सीपमूलक तालिम दिइने कक्षपतिले बताइन् । उनले चाँडै महिलाका लागि ब्रिकेट, धुप, कागज, मैनबत्ती, कपडाको झोला उत्पादनजस्ता सीपमूलक कार्यक्रम पनि सञ्चालन गरिने बताइन् ।
आगामी महिनादेखि सञ्चालन हुने केन्द्रमा प्रसूति र आँखा शिविर मासिक रूपमा तथा प्रत्येक ३ महिनामा स्वास्थ्य शिविर राख्ने विद्यालयका अध्यक्ष श्यामसुन्दरलाल कक्षपतिले जानकारी दिए । उनका अनुसार केन्द्रमा योग शिविर र ई–लाइब्ररीसमेत सञ्चालनमा ल्याइएको छ ।

प्रतिक्रिया