बक्यौता रकम बढ्दो

राजविराज : जिल्ला विकास समिति सप्तरीले विभिन्न व्यक्ति तथा संघसंस्थासँग असुल गर्न बाँकी बक्यौता रकम थपिँदै गएको छ । कार्यालयको लापर्बाहीका कारण बक्यौता रकम हरेक वर्ष करोडौँले थपिने क्रम जारी छ ।

जिविसको रेकर्डअनुसार आव ०६४/६५ देखि आव ०६८/६९ सम्ममा करिब ३ करोड रकम असुल हुन बाँकी छ । यसभन्दा अघिको रेकर्ड नै नभेटिएको र त्यसपछिको रेकर्ड तयार भई रहेको कार्यालयका कर्मचारी गौतम चौधरीले जानकारी दिए । आव ०६४/६५ मा १ करोड ५७ लाख ३३ हजार, आव ०६५/६६ मा करिब ४५ लाख, आव ०६६/६७ मा ४५ लाख, आव ०६७/६८ मा १५ लाख र आव ०६८/६९ मा ११ लाख गरी करिब ३ करोड रुपिया असुल हुन बाँकी रहेको पनि चौधरीले बताए ।
जिविसले दिएको जानकारी अनुसार उठ्न बाँकी अधिकांश रकम ठेक्कापट्टासँग सम्बन्धित छ । जस मध्ये आव ०६४/६५ मा राजविराजका ललितनारायण झाले बालुवा, ढुंगा, गिट्टीको आन्तरिक तथा भारत निकासीको ठेक्का वापत १ करोड १२ लाख बुझाउन बाँकी छ । यसैगरी माछापोखरी, बजार, दहत्तरवहत्तर, लकडी, कृषी तथा पशुजन्य समानको आयातनिर्यातलगायतका शीर्षकमा बक्यौता रकम बढ्दै गएको चौधरीले बताए ।
हालसम्म भेटिएको रेकर्ड मध्येबाट आफूले करिब पाँच वर्षको तथ्यांक निकालेको जानकारी दिएका चौधरीले त्यसभन्दा अघिको कुनै पनि रेकर्ड आफूसँग नभएको बताए । आव ०६४/६५ भन्दा अगाडिसमेत करोडौँ रुपियाँको बक्यौता रहेकाले आफूले ती रेकर्डहरू खोजी गरिरहेको उनले बताए । यस विषयमा जिल्ला विकास समितिका योजना तथा सूचना अधिकृत नवराज खड्काले भने बक्यौता असुल गर्ने काममा आफूहरू लागि परेको बताएका छन् ।
३० फागुनमा सम्पन्न १९ जिल्ला परिषद्ले ठेक्कापट्टाको असुल हुन बाँकी रकमका लागि पत्राचार गर्ने र अटेर गरे उनीहरूको बंैक ग्यारेन्टी जफत गर्ने नीतिगत निर्णयसहित आफ्नै संयोजकत्वमा ५ सदस्यीय बक्यौता रकम असुल समिति समेत गठन भएको जानकारी दिँदै चाँडै नै बैठक बसेर समितिले काम सुरु गर्ने खड्काले जानकारी दिए ।

प्रतिक्रिया