शोक व्यवस्थापन

Krishna-Murari-Gautam-Chatyआफ्ना मान्यजन र प्रियजनको मृत्यु सहनुपर्ने अवस्था प्राय: बुढ्यौली उमेरमा बढी आइपर्छ । ६५ वर्ष माथिका ४० प्रतिशत महिला र १३ प्रतिशत पुरुषले आफ्ना जीवन साथी गुमाउने गरेको तथ्यांकले देखाउँछ । त्यसपछिको जीवनबारे कमै अध्ययन गरेको पाइन्छ । तर, आफ्ना मान्यजन र प्रियजनको मृत्युबाट हुने शोकको व्यवस्थापनबारे पनि आपसमा अनुभव साटासाट गर्दै त्यस्तो अवस्थामा उपयोगी हुने र नहुने कुराहरू सबैले थाहा पाउनु उचित हुन्छ ।

१. शोक चरणबद्ध हुन्छ : आफ्नो प्रियजन बितेको थाहा भएपछि पहिलो प्रतिक्रिया स्वरूप मानिस त्यस्तो घटना भएको पत्याउन र स्वीकार्न चाहँदैन । त्यसपछि उसलाई रिस उठ्छ । रिसको अवस्था पार गरेपछि ऊ परिस्थितिसँग सम्झौता गर्ने र चित्त बुझाउने प्रयास गर्न थाल्छ । त्यसपछि ऊ दिक्क हुने अवस्थामा पुग्छ र अन्त्यमा त्यस अवस्थालाई स्वीकारेर ऊ आफ्नो जीवनलाई निरन्तरता दिन थाल्छ । यी पाँच चरणको भावनात्मक यात्रा कसैले छिटो तय गर्छ भने कसैलाई धेरै समय लाग्छ । साथीभाइ र इष्टमित्रसँगको घनीभूत स्नेह पाएको अवस्थामा र मनलाई भुलाउने अन्य तरिका अपनाएमा द:ुखमा परेको त्यस व्यक्तिलाई उपर्युक्त पाँच चरणको मनोभावनात्मक यात्रा छोटो समयमा नै पूरा गर्न सजिलो हुन्छ । यी पाँच चरणको मनोभावनात्मक यात्रा क्रमबद्ध एकपछि अर्को (पहिला अस्वीकार, दोस्रो रिस, तेस्रो सम्झौता, चौथो दिक्दारी र पाँचौँ स्वीकृति नगरेर एकैचोटि पहिलोपछि पाँचौँ या अन्य कुनै चरणमा पनि मानिस पुग्न सक्छ । पुन: फर्किएर फेरि आफ्नो मनोभावनात्मक अनुभूतिको यात्रा सुरु गर्ने पनि हुन सक्छ ।
२. शोक स्थायी हुँदैन, सधैँ रहँदैन : आफ्ना मान्य र प्रियजनको मृत्युबाट हुने शोकको घनीभूत अनुभूति प्राय: ६ महिनादेखि १८ महिनासम्ममा पूर्ण स्वीकृतिको अवस्थामा मानिस पुग्छ भन्ने तथ्य मनोवैज्ञानिक अध्ययनहरूले देखाएका छन् । ज्यादै शोकाकुल व्यक्तिलाई मनोवैज्ञानिक चिकित्सक वा सल्लाहकारको अवाश्यकता पर्छ भन्ने गरिन्छ । त्यसले मद्दत पुग्न सक्छ तर साधारणतया त्यसो गर्नु आवश्यक नै भने हुँदैन । शोक स्वत: हराउँदै जाने कुरा हो । यो सधँै रहँदैन ।
३. शोकको प्रभाव महिलामा भन्दा पुरुषमा बढी पर्छ : परम्परागत सोचाइ के रहेको पाइन्छ भने पुरुषभन्दा महिला बढी शोकग्रसित हुन्छन् र लामो समयसम्म शोकग्रसित रहिरहन्छन् । तर, बलुफङ र मार्गारेट स्टोररबी नामक दुई मनोवैज्ञानिकहरूले २००१ मा गरेको अध्ययनबाट के प्रस्ट भएको छ भने महिलाभन्दा पुरुषलाई शोक यात्राका पाँच चरण पूरा गर्न गाह्रो हुन्छ र बढी समय लाग्छ ।
४. हाँसोले सहयोग पुर्‍याउँछ : आफ्नो जीवनसाथी गुमाएका ५० वर्षमाथिका धेरै व्यक्तिहरूको अध्ययनबाट मनोवैज्ञानिकहरूले के थाहा पाएका छन् भने ती व्यक्तिहरूलाई हँसिलो र ख्यालठट्टायुक्त वातावरणमा अरूभन्दा बढी रमाउँदा रहेछन् । वितेका व्यक्तिसँगको हाँसोयुक्त क्षण र ठट्टा सम्झनेहरू पनि शोकबाट चाँडै मुक्त हुँदा रहेछन् । तर, बितेका व्यक्तिसँगको नरामाइला क्षणहरू सम्झीइरहनेहरू भने लामो समयसम्म शोकाकुल अवस्थामा रहिरहने हुँदा रहेछन् । त्यसैले आफ्नो प्रियजन गुमाएकाले ती व्यक्ति जीवित छँदा उसँग बिताएका रमाइला क्षणहरूलाई बढी सम्झनु पर्छ र त्यसको चर्चा अरूसँग गर्ने गर्नुपर्छ ।
शोक मुख्यत: मनोभावनात्मक अवस्था हो तर यसका शारीरिक प्रभाव पनि हुन्छन् जस्तै भोक नलाग्नु, थकाइ लागिरहनु, बान्ता आउला जस्तो भइरहनु, शरीरको रोग प्रतिरोधात्मक क्षमतामा कमी आउनु, तौल घट्नु वा बढ्नु, जीउ दुख्नु र निन्द्रा नलाग्नु आदि मुख्य लक्षणहरू देखा पर्न सक्छन् ।
शोक सहन गाह्रो पर्छ । तर, तलदिएका उपायहरू अपनाएर शोकका नकारात्मक असरहरूलाई कम गर्न सकिन्छ ।
१. अरूको सहयोग लिनुहोस् : आफूलाई माया गर्नेहरूको सहयोग लिन प्रयत्नशील रहनुपर्छ, हिचकिचाउनु हुँदैन । कोसँग के सहयोग लिऊँ भन्ने प्रश्न आफैँलाई सोध्नुपर्छ र उत्तरको खोजी गर्नुपर्छ । स्वावलम्बी छु र कसैको सहयोग किन लिनु भन्ने जस्ता विचार त्यस्तो दु:खको बेलामा त्याग्नु उचित हुन्छ । अरूसँग सहयोग लिँदा वा लिनेक्रमका क्रियाकलापले शोकको अनुभूति हलुका पार्न सहयोग पुग्छ । आफ्नो दु:ख अरूलाई किन सुनाउनु भन्ने खालका विचारले सहयोग पुग्दैन बरु अरूबेला बोल्नै मन नलाग्ने मानिससँग पनि आफ्ना दु:खभन्दा शोक सहन सहज हुन्छ । जतिसक्यो धेरै मानिससँग सम्पर्कमा रहनाले शोकको पीडा कम गर्न सकिन्छ ।
२. आफ्नो विश्वासको आधार लिनुहोस् : आफ्नो जुन धर्म या देवीदेवता या शक्तिमा विश्वास हुन्छ त्यसैबाट शक्ति प्राप्त गर्नुपर्छ । ईश्वर नमान्नेले प्रकृतिको शक्तिमा विश्वास गर्नुपर्छ । ईश्वरमा विश्वास गर्नेले पूजा, पाठ, भजन, प्रार्थना, तपस्या, योग आदि गर्नाले सहयोग पुग्छ । ईश्वर नमान्नेले प्रकृतिका नियमलाई मनुष्यको भावनाले फेर बदल गर्न सक्तैन भन्ने जस्ता तर्कपूर्ण कुराहरू गर्नाले शोकको अनुभूति सहज बनाउन सहयोग पुग्छ । आफू जस्तै शोकमा परेका व्यक्तिसँगको भेटघाटले पनि शोकको पीडा सहन सजिलो पर्छ ।
३. आफ्नो हेरविचार आफँैले गर्नुपर्छ : आफ्ना भावनाहरूलाई सहज रूपमा प्रकृया सम्झिएर स्वीकार्नु पर्छ । आफ्नो पीडालाई आफ्नै ढंगले अभिव्यक्तिदिनु पर्छ जस्तै रुन मन लागे रुने । त्यस दु:खलाई विषय बनाएर कुनै कथा, कविता चित्र या अरू सिर्जनात्मक काम गर्ने, बितेका व्यक्तिसँगका फोटाहरू सजाउने, आफ्नो अनुभव लिपिबद्ध गर्ने जस्ता र्सिजनात्मक कामले शोकको पीडालाई जीवनका अन्य सन्तुष्टि प्राप्तिको माध्यम पनि बनाउन सकिन्छ ।
आफू यस्तै सोच्नु पर्छ या आफूले यस्तै गर्नै पर्छ भनेर आफूले आफूलाई वाद्य नपार्ने । बरु घुम्न जाने अथाव ‘अब तुरुन्तै यसपछि के गर्ने ?’ भन्ने प्रश्नको आफूलाई चित्त बुझ्दो उत्तर खोज्ने र आफ्नो लागि नयाँ योजना बनाउनाले पनि शोकमाथि चाँडै र सहजै विजय प्राप्त गर्न सकिन्छ ।
लामो समयसम्म शोकमा डुबिरह्यो भने त्यसले विभिन्न मानसिक र शारीरिक समस्या पनि उत्पन्न गर्न सक्छ जुन आफ्ना लागि र आफ्ना वरपरका लागि झन् ठूलो शोकको कारण बन्न सक्तछ । त्यसैले माथि सुझाइएका विभिन्न उपायहरू र त्यस्तै अन्य उपायद्वारा शोकको पीडालाई कम गर्न प्रयत्नशील रहनुपर्छ । अध्यक्ष, एजिङ नेपाल

प्रतिक्रिया