अनियमितताले भवन नबन्दा विद्यार्थीको कन्तबिजोग

Schoolकाभ्रे, ८ वैशाख । गाह्रो चर्किएर भत्कनै लागेको भवन, झरी पर्नासाथ चुहिएर नजिकको घरमा जानुपर्ने अवस्था । हिउँदमा चउरमा पढ्नुपर्ने बाध्यता । विद्यार्थी त के शिक्षकमा पनि विद्यालय भवन भत्कने त्रास ।

राजधानीसँग जोडिएको जिल्ला काभ्रेको एक विद्यालयको दयनीय अवस्था हो यो । काभ्रेको महादेवटार गाविसस्थित जोगेश्वर माध्यमिक विद्यालयको भवन जीर्ण भएपछि त्रासमा पढाइ चलिरहेको छ । भित्ता र भुइँ चर्किएको छ । दुईतले भवनको भुई तलामा पढ्ने विद्यार्थीले माथिल्लो तलाबाट आउने धुलोलाई नियमित पचाउनुपर्छ । उस्तै खसिएला कि भन्ने चिन्तामा हुन्छन् माथिल्लो तलाका विद्यार्थी ।
‘विद्यालय भवनको गाह्रो चर्किएको र भत्कन लागेकाले विद्यार्थी त डराइ–डराई पढ्नुपर्छ नै शिक्षकले पनि डराइ–डराई पढाइरहनुपरेको छ,’ प्रधानाध्यापक अम्बिकाप्रसाद दाहाल भन्छन्, ‘नयाँ भवन बन्न नसक्दा बिजोग अवस्थामा जोखिम मोलेर पढ्नु/पढाउनुपर्ने अवस्था छ ।’
जिल्ला सदरमुकाम धुलिखेलबाट ३२ किलोमिटरको दूरीमा रहेको उक्त विद्यालयलाई २७ वर्ष पुरानो माटो र ढुंगाको कच्ची भवनले थेगेको छ । ०४३ सालमा बनेको भवनको भित्ता तथा भुइँ चर्किएका छन् । दोस्रो तलामा बार्दली पनि दरिलो छैन । ढोका तथा झ्याल पनि उस्तै जीर्ण छन् । एउटा कक्षाले अर्को कक्षालाई अवरोध नगरी शान्तिसाथ पढ्नुपर्ने आवाज उठिरहेका बेला यहाँ भने अर्को कक्षा सजिलै देख्न सकिन्छ । कतिपय कक्षा त खुला छन् । झरीबाट जोगिन सिलिङमा प्यास्टिक टाँगिएको छ । कक्षा कोठाभित्र प्वाल देखिन्छन् । कक्षा कोठाभित्रका गाह्रा पनि अधिकांश चर्किएका छन् । ढोकामा प्वालैप्वाल ।
सरकारको माथिल्लो निकायसम्म स्थानीयवासीको पहँुच नहुँदा विद्यालयको अवस्था दयनीय रहँदै आएकोमा आर्थिक वर्ष ०६६/६७ मा बल्लतल्ल जिल्ला शिक्षा कार्यालयले चारकोठे भवन बनाउन ८ लाख २५ हजार रुपियाँ सहयोग गरेको थियो । समुदायमा हस्तान्तरण हुँदाको ३ लाख र गाविसबाट प्राप्त २ लाख ७५ हजार गरी १४ लाखको लागतमा भवन निर्माणसमेत थालिएको थियो । ०६८ असारमै भवन निर्माण सम्पन्न गरिसक्नुपर्ने भए पनि अझै काम पूरा हुन सकेको छैन ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शंखलाल तामाङले पूर्वअध्यक्ष नरमान लामाले रकम हिनामिना गरी भवन नबनाएकाले विद्यालयको अवस्था नाजुक बन्न पुगेको बताए । ‘पूर्वअध्यक्षले बन्न लागेको भवनको डिपिसी मात्र गरेर विद्यालय भवन अलपत्र पारिदिए,’ उनले भने, ‘सातपटक त हिसाब–किताब गर्नका लागि व्यवस्थापन समितिको बैठक बसेर चिठी पठायाँै, भेटेर पनि भन्यौँ तर हिसाब–किताब पाइएन ।’
हिसाब चुक्ता नगरेपछि लामालाई व्यवस्थापन समिति सदस्यबाट निलम्बन गरिएको छ । तामाङका अनुसार १४ लाखमध्ये डिपिसीका लागि ४ लाख खर्च गरेर बाँकी १० लाख लामाले अनियमितता गरेका हुन् । लामाले अनियमितताको आरोप अस्वीकार गरे पनि भवन निर्माणको हिसाब भने बुझाउन सकेका छैनन् । अनियमितता छानबिनका लागि शिक्षा कार्यालयसँग प्राविधिक मूल्यांकन गर्न पत्र पठाइए पनि एक वर्षदेखि बेवास्ता गर्दै आएको विद्यालयले जनाएको छ । शिक्षा कार्यालयले भने चाँडै भवन निर्माण गर्न ताकेता मात्र होइन, कालोसूचीमा राखिदिने चेतावनी दिँदै आएको छ ।
बेरुजुले रोक्यो नयाँ योजना
लामा नेतृत्वको काम पूरा नहुँदा नयाँ व्यवस्थापन समितिले ल्याएको २ करोड ८५ लाखको लागतमा भव्य र आधुनिक भवन बनाउने योजना अघि बढ्न सकेको छैन । नेपाल तामाङ कलाकार संघको समन्वयमा सांस्कृतिक कार्यक्रम गरी संकलित रकमबाट भवन निर्माण गर्ने योजना यसअघिको बेरुजुका कारण रोकिएको हो ।
‘विकट गाउँको विद्यालय भनेर कलाकार संघ नयाँ भवन निर्माणका लागि सहयोग गर्न तयार भयो तर यसअघिको काम पूरा नहँुदा अप्ठ्यारो परेको छ,’ तामाङले भने, ‘डिपिसी मात्र सकिएको भवनको निर्माण त अघि बढाएका छाँै तर आर्थिक समस्या परेको छ । सापटी खोजेर करिब १६ लाख खर्च रुपियाँ भइसकेको छ । अब त सहयोगी खोजिरहेका छौँ ।’
संघका केन्द्रीय अध्यक्ष चन्द्रकुमार दोङ पनि देश/विदेशका विभिन्न ठाउँमा सांस्कृतिक कार्यक्रम गरेर विद्यालय भवनका लागि सहयोग गर्न तयार भए पनि पुरानो भवनका कारण समस्या परेको बताउँछन् ।

पढाइमा भने अब्बल
भौतिक पूर्वधारका दृष्टिले नाजुक रहे पनि उक्त विद्यालय पढाइमा भने राम्रोमा गनिन्छ ।
‘०१६ सालमा स्थापना भएको यो विद्यालय चार वर्षदेखि एसएलसी परीक्षा सहभागी छ,’ तामाङले भने, ‘तीन वर्ष शतप्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । यस वर्षको एसएलसीको परीक्षाफल कुरिरहेका छौँ ।’
गत वर्ष ३ सय ७६ विद्यार्थी रहेको यसपटक भर्ना अभियान जारी रहेको विद्यालय व्यवस्थापनले जनाएको छ ।

प्रतिक्रिया