आँसुको रङ

Haribansa-Acharya‘एन्टेना फाउन्डेसन’ र ‘सेभ द चिल्ड्रेन’ भन्ने संस्थाले ‘मैले जे भोगेँ’ नामक टेलिभिजन कार्यक्रम गर्ने निर्णय भयो र यसमा प्रस्तोताको भूमिका मैले गर्नुपर्ने प्रस्ताव आयो ।
‘मैले जे भोगेँ’ कार्यक्रम हामीले गरिरहेजस्तो अभिनयप्रधान होइन । यो कार्यक्रम वास्तविकतामा आधारित हो । यसमा नेपालका विकट ठाउँमा बालबालिकाले भोगेका कथाव्यथाहरूलाई टेलिभिजनबाट देखाउनुपर्ने र मैले बालबालिकाहरूले भोगेका कथाहरूलाई अन्तर्वार्ताका माध्यमबाट प्रस्तुत गर्नुपर्ने भयो ।
विजयकुमार पाण्डे, इन्द्र लोहनी, भूषण दाहालले प्रस्तुत गरेका कार्यक्रमहरू हेरेर प्रभावित भएको छु । त्यसैले म कहिलेकाहीँ साथीहरूको जमघटमा विजयकुमार पाण्डेको नक्कल पनि गर्ने गर्थेँ । मैले कहिल्यै नगरेको टेलिभिजन अन्तर्वार्ता कार्यक्रम गर्न मलाई डर लाग्यो ।
नगरेको काम गर्दा कस्तो होला ? राम्रो भएन भने के गर्ने ? अनेक तर्कवितर्कमा मन डुबिरहँदा विशेषगरी विजयकुमार पाण्डेसँग म मनमनै डराएँ । उनको जस्तो ज्ञान, भाषा र बोलीको प्रखरता ममा छैन । मेरो क्षेत्रै फरक हो । मैले गर्न सक्तिनँ जस्तो लाग्यो । गर्नुनपरे पनि हुन्थ्यो जस्तो पनि लाग्यो । सेभ द चिल्ड्रेनले पनि मैले नै गरिदिए हुन्थ्यो जस्तो गरेर विशेषगरी सीता घिमिरे बढी जोड दिन थालिन् । उनलाई भारतीय टेलिभिजन च्यानलमा आउने ‘सत्यमेव जयते’ को ठूलो प्रभाव परेको रहेछ । त्यसैले मलाई आमिर खानको ठाउँमा देख्न चाहेकी रहिछन् । मलाई झन् डर लाग्यो ।
भारतीय च्यानलमा प्रसारण हुने ‘सत्यमेव जयते’ दुई वर्षसम्म सयौँ मान्छेले रिसर्च गरेर तयार पारेको कार्यक्रम हो । त्यसमा आमिर खानले मात्र एउटा कार्यक्रमको तीन करोड भारतीय रूपियाँ पारिश्रमिक लिँदारहेछन् भने त्यसको कुल बजेट अझ कति होला ? त्यत्रो ठूलो साधनस्रोत भएको कार्यक्रमसँग हाम्रो जस्तो सानो बजार र कुल सात–आठ लाख बजेट भएको कार्यक्रमले कसरी प्रतिस्पर्धा गर्न सक्ला ? हाम्रो कार्यक्रम प्रसारण भएपछि दर्शकले आमीरले सञ्चालन गरेको ‘सत्यमेव जयते’ सँगै ‘मैले जे भोगेँ’ कार्यक्रमलाई दाँजेर हेर्छन् नै । त्यो दर्शकको अधिकारको कुरा हो । दर्शकलाई त्यहाँको बजेट, साधनस्रोत र यहाँको बजेट, साधनस्रोतसँग मतलबै हुँदैन ।
यशोदा भाउजूको आत्मबल बलियो रहेछ । भाउजू ‘किमोथेरापी’ सँग लड्दै छिन् । मदन दाइ भाउजूलाई बचाउने युद्धमा लागिरहेछन् । मीराको वियोगपछि मैले करिब डेढ वर्ष कुनै कार्यक्रम गर्न सकिनँ । मदन दाइ अहिले भाउजूको उपचारमा व्यस्त छन् । त्यसैले दुई वर्षजति भयो, महसञ्चारले उल्लेख्य काम गर्न सकेको छैन ।
मदन दाइ पनि भाउजूको उपचारमा व्यस्त छन् । यो बेला त्यसै बस्नुभन्दा प्रस्ताव आएको ‘मैले जे भोगेँ’ कार्यक्रम गरौँ कि जस्तो लाग्यो । एन्टेना फाउन्डेसनका साथीहरूले पनि ‘हामी पछाडि छौँ, गर्नुहोस् दाइ’ भने । रमिलाले पनि ‘गर्नुस्, तपाईं गर्न सक्नुहुन्छ’ भनेर मीराले झैँ हौसला दिइन् । कार्यक्रममा म अगाडि देखिने भए पनि पूरै मेरो जिम्मेवारीमा हुँदैन । यसका निर्देशक दीपक बज्राचार्य विजयकुमारलाई धेरैओटा कार्यक्रममा सघाएका परिपक्व मान्छे हुन् । अनि मैले निर्णय गरेँ, ‘मैले जे भोगँे’ कार्यक्रम गर्छु ।
कति नानीहरू पन्छी हुन्— पँखेटा छैन,
कति नानीहरू फूल हुन्— सुवास छैन
कति नानीहरू घाम हुन्— उज्यालो छैन
तैपनि नानीहरूको ओठमा छ— एउटा मुस्कान
हरियोपन नगुमाएको दुबोजस्तो
जसले एक दिन फेरि
वसन्त फर्काएर ल्याउनेछ ।
मलाई आशा छ…
यी पंक्ति ‘कर्नाली ब्लुज’ का लेखक बुद्धिसागरले ‘मैले जे भोगेँ’ कार्यक्रमका लागि न्यारेसन लेखेका हुन् । उनी हाम्रो टोलीमा न्यारेसन लेख्नका लागि सामेल भएका थिए । हाम्रो बलियो टोलीमा मेरी श्रीमती रमिला पनि मेरो अनुरोधमा थपिएकी थिइन् । सुदूर पश्चिम घुम्ने सौभाग्य जुरेको थिएन । यो कार्यक्रमले जुरायो । सधैँ मान्छेलाई हँसाउने गरिन्थ्यो, यसपाली आफँै रुन गइयो । द्वन्द्वको परिणाम, कुपोषण, गरिबी, अभाव, असुरक्षा आदिमा चुर्लुम्म डुबेर लथालिंग जिन्दगी बाँचेका नानीहरूका सुन्नै नसकिने कथाहरू नजिकबाट देखेर खप्नै गाह्रो भयो ।
ती भोग्नेहरूलाई कस्तो भयो होला ? बुद्धिसागरकै न्यारेसनको लेखाइ जस्तै सुन्न पनि गाह्रो, सुनाउन पनि गाह्रो, सुनेर पत्याउन पनि गाह्रो कथा— बाबुले छोरीलाई बलात्कार गरेर जन्मेकी नानीको कथा ‘मीतबाले बलात्कार गरेर जन्मेकी अर्की नानीको कथा’, एचआईभी संक्रमणबाट आमाबाबु दुवै गुमाएका नाबालिका बहिनी, नाबालक दाइ नै अभिभावक भएको कथा, जति बच्चा जन्मे पनि कुपोषणले खाएका आमाहरूको कथा । बस खसेर एउटै गाउँका थुप्रै टुहुराटुहुरीहरू भएको कथा, छाउपडीका कथा ।
यी सब देखेर जिन्दगीको अर्को नाम नै दु:ख रहेछ जस्तो पो लाग्यो । जतासुकै दु:ख । त्यो ठाउँ दुखैदु:खको राजधानी जस्तो । विस्तारैविस्तारै नेत्रज्योति गुमाएर आफ्नै काखमा बसेको बच्चाको अनुहार नदेखेकी आमा । त्यस्ता अबोध छोराछोरीका आमाबाहरूलाई ‘अब के गर्नुहुन्छ त’ भनी प्रश्न गर्दा ‘भगवान्ले हेर्लान् नि’ भन्ने जवाफ आउँछ ।
उनीहरूको सोचाइमा दुई थरी भगवान् छन्— एक थरी निराकार भगवान्, जसलाई आजसम्म कसैले देखेको छैन । छन् भन्ने प्रमाण पनि छैन । तैपनि कतै छन् कि जस्तो लाग्दो रहेछ, उनले हेरिदेलान् जस्तो लाग्दो रहेछ । अर्का भगवान् भनेका नेताहरू । यी दुई थरी भगवान्ले समस्या समाधान गरिदेलान् भन्ने आशा रहेछ ती निरीहहरूमा । निराकार भगवान्, जसलाई कसैले देखेका छैनन् । नेतारूपी भगवान्, जसलाई जिउँदै फाट्टफुट्ट र भित्तामा हात जोडिरहेका फोटाहरूमा देख्तादेख्ता ती दिक्कै भए पनि आशा गुमाएका छैनन् । तर, यी दुवै भगवान्ले उनीहरूलाई कहिल्यै हेरेनन्, सुनेनन्, देखेनन् ।
दुर्गम गाउँहरूमा रोजगारीका अवसरहरू कतै छैनन् । एक–दुई रोपनी जमिनमा कुटोकोदालो गर्‍यो, जीवन चलायो, सरकारले केही गर्नुपरेको छैन । कति ठाउँमा त सरकारको उपस्थितिको आभास पनि हुँदैन । रोजगारीका लागि निर्विकल्प देश भारत भएको छ । त्यहाँका बाबुआमाहरू आफ्ना छोराछोरी जन्मनासाथ भारत काम गर्न गएको सपना देख्न बाध्य छन् । यो नै उनीहरूको सबैभन्दा सुन्दर सपना रहेछ ।
सुन्ने गरिन्छ— नेपालमा पश्चिमबाट घाम उदाउन सक्छ । यसको मतलब हो, प्रकृतिले दिएको अतुलनीय वरदान प्राकृतिक स्रोतलाई उपभोग गर्न सकियो भने नेपालमा राति पनि बिजुली बत्ती बालेर काम गर्न सकिन्छ ।
भारतलाई गाली गरेर आफूलाई राष्ट्रवादी ठान्ने नेताहरूले प्रकृतिले दिएको वरदानको सदुपयोग गरेर नेपालीलाई भारतको गल्लीगल्लीमा ढोका ढकढक्याएर काम खोज्न जानुपर्ने बाध्यताबाट खोइ बचाउन सकेका ? बरु उनीहरू युवाहरूलाई बिदेसिन बाध्य बनाएर बाल र वृद्धवृद्धालाई मात्र शासन गर्न खोज्दै छन् । ती युवाहरूलाई बिदेसिनबाट बचाउनु पो राष्ट्रवाद । तराईंको अपराध जताततै गुइँठा बलेर धुवाँले छोपिएको छ । जंगल फाँडिएर चारकोसे झाडी मरुभूमि जस्तो नांगो हुन लागेको छ ।
देश अन्धकारमा डुबेको देख्दा कर्णाली नदी सुत्केरी आमाले बच्चालाई दूध चुसाउन नपाएर गानिएकी जस्तै भएकी छन् । देश अन्धकार देख्दा कर्णालीको छातीमा असहज पीडा हुन्छ । देशको दु:ख देखेर मसँगै यात्रा गरिरहेकी रमिलाले भनिन्, ‘कस्तो दु:ख रहेछ है’ मैले भनेँ, ‘हामी आफूलाई कति दु:खी ठान्थ्यौँ । यी दु:खका अगाडि हाम्रा दु:ख त कति साधारण रहेछन् है’ अब हामी आफ्नो दु:खमा कहिल्यै दु:खी नहुने है त ।’ दुबोलाई जति कुल्चे पनि अलिअलि हरियोपन बाँकी नै रहन्छ ।
लाग्यो, यी मानिसहरू दुबो हुन् । यिनमा अझै पनि हरियोपन छ । राजनीतिक मौसम राम्रो भए यी मानिसहरूको जीवनको बगैँचामा अवश्य पनि वसन्त आउनेछ । उनीहरूको जीवनको दुबो मौलाउनेछ ।
एकपटक अमेरिकाको कनेक्टिकट राज्यमा हाम्रो कार्यक्रम हेरेर तारानाथ शर्माले गम्लङ्ग अँगालो मारेर भने, ‘भाइ, तिमी यो देशमा जन्मेको भए कहाँ पुग्ने थियौ ।’ मैले भनेँ, ‘होइन दाइ, अमेरिकामा जन्मेको भए ठूलो घाटा पर्ने थियो । म अमेरिकामा जन्मेको भए मलाई तारानाथ शर्मा जस्ता मान्छेले यसरी अँगालो हाल्ने थिएनन् ।’ तारानाथ शर्माले ‘कस्तो कूटनीतिक जवाफ दियौ तिमीले’ भनेर फेरि अँगालो मारे ।
साँच्चिकै म नेपालमा जन्मेर नेपाली हुन पाएँ । नेपालमा जन्मेर होमञ्जय आचार्य र गणेशकुमारीको छोरो हुन पाएँ, मेरा दिदीहरूको भाइ हुन पाएँ, मीरा र रमिलाको श्रीमान् हुन पाएँ । त्रिलोक र मोहितको बाबु बन्न पाएँ, मदनकृष्ण श्रेष्ठको साथी हुन पाएँ । सबै नेपाली दाजुभाइ, दिदीबहिनीको एउटा कलाकार हुन पाएँ, नेपाल देशलाई आमा भन्न पाएँ । म नेपालमा जन्मन पाएकोमा गर्व गर्छु— जय नेपाल †’

(फाइन प्रिन्टबाट प्रकाशोन्मुख आचार्यको किताब ‘चिना हराएको मान्छे’बाट ।)

प्रतिक्रिया