डिफेन्डर सागरलाई अपार्टमेन्टको सुरक्षा

काठमाडौं, ३१ चैत । राष्ट्रिय टिमका डिफेन्डर कप्तान सागर थापालाई मुलुकको फुटबल खेलमा पुर्‍याएको योगदानबापत अखिल नेपाल फुटबल संघ (एन्फा) ले वर्ष फुटबलरका रूपमा अपार्टमेन्ट दिएको छ । एन्फा वर्ष खेलाडी हुने उनी चौथो फुटबलर हुन् । यसअघि उपेन्द्रमान सिंह, हरि खड्का र राकेश श्रेष्ठ एन्फा वर्ष खेलाडी घोषित भएका थिए । संयोग के छ भने यी सबैले राष्ट्रिय टिमको कप्तानी गरिसकेका छन् । तर, कप्तान बहाल रहेकै समयमा यो अवार्ड हात पार्ने उनी पहिलो खेलाडी हुन् ।

sagar_thapa२०४२ सालमा काठमाडौंमा जन्मेका थापाले ०५८ सालमा फ्रेन्ड्स क्लबबाट खेल्दै ए डिभिजन फुटबलमा डेब्यु गरेका थिए । सन् २००२ मा एसियन कप छनोटमा दक्षिण कोरियाविरुद्ध उत्रिएर उनले अन्तर्राष्ट्रिय फुटबलमा डेब्यु गरेका हुन् । सन् २००८ यता उनी राष्ट्रिय टिमका कप्तान छन् । नेपालले विश्वकप छनोटमा ऐतिहासिक दोस्रो चरण यात्रा तय गर्दा उनी कप्तान थिए । उनको कप्तानीमा नेपालले एएफसी च्यालेन्जकपमा फाइनल चरणको यात्रासमेत तय गरेको थियो । सन् २०११ मा भारतमा भएको साफ च्याम्पियनसिपमा उनले समूह चरणमा बंगलादेशविरुद्ध खेल सकिन केही सेकेन्ड मात्र बाँकी छँदा फ्रि–किकमार्फत अविश्वसनीय गोल गर्दै नेपाललाई सेमिफाइनलसम्म पुर्‍याएका थिए । त्योबेला नेपाल करिब एक दशकपछि साफ च्याम्पियनसिपमा अन्तिम चारमा प्रवेश गरेको थियो । ‘नेपाली फुटबल खेलाडी हुन पाएकोमा मलाई गर्व छ,’ घोषणापछि बोल्दै सागरले भने । उनलाई एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहालले प्रमाणपत्र प्रदान गरे ।
विसं २०६० (संकटा) र त्यसको दुई वर्षपछिको (मनाङबाट खेल्दा) सहिद स्मारक ए डिभिजन लिगमा उनी बेस्ट डिफेन्डर घोषित भएका थिए । सेन्टर ब्याक डिफेन्डर थापा पछिल्लो समय फ्रेन्ड्स क्लबमा आवद्ध छन् ।
हरेक वर्ष एन्फाले यो अवार्ड प्रदान गर्ने घोषणा गरे पनि नियमित हुनसकेको छैन । यस अवार्डको शीर्षक नै आफैँमा अमिल्दो देखिन्छ । खेल जीवनभर गरिएको योगदानका आधारमा खेलाडीलाई अपार्टमेन्ट दिने भनिएको छ तर शीर्षक एन्फाको सर्वोत्कृष्ट वर्ष खेलाडी छ ।
‘देशले चाहेसम्म खेल्छु,’ सागरले भावी योजना सुनाए । हात्तीवनस्थित मेरो सिटी अपार्टमेन्टमा उनलाई अपार्टमेन्ट दिइएको छ । ‘अहिले व्यस्त भएकाले एक हप्तापछि अपार्टमेन्ट हेर्न जान्छु,’ निजी प्रयोगमा उक्त अपार्टमेन्ट प्रयोग गर्ने जानकारी दिँदै उनले भने ।

प्रतिक्रिया