“कृषि अर्थतन्त्रको मेरुदण्ड”

स्याङ्जा : स्याङ्जाको तीनदोबाटे ५ पाठेखोलामा अत्याधुनिक दूध प्रशोधन केन्द्र स्थापना गरिएको छ । व्यावसायिक कृषि तथा व्यापार आयोजनाको अनुदान १४ लाख र स्थानीय मिलन दूध उत्पादक सहकारी संस्थाको रु १४ लाख गरी कूल २८ लाख रुपियाको लागतमा स्थापना गरिएको सो दूध प्रशोधन केन्द्रको कृषि मन्त्रालयका सचिब जयमुकुन्द खनालले एक कार्यक्रमका बीच उद्घाटन गरेका हुन ।

कार्यक्रममा सचिब खनालले कृषि क्षेत्र मुलुकको आर्थिक विकासको मेरुदण्ड भएकोले यसको विकासका लागि राज्यले बर्षेनी बजेट वृद्धि गर्दै आएको बताए । ‘मुलुकमा आर्थिक वृद्धिदर बढाउन कृषि क्षेत्रमा लगानी विस्तार गर्न आवश्यक छ’ सचिब खनालले भने, ‘जवसम्म मुलुकमा कृषि क्षेत्रको विकास गरिँदैन, तबसम्म मुलुकको विकास असम्भव छ’
पाठेखोलामा दूध प्रशोधन केन्द्र बनेपछि यहाँका कृषकहरू निक्कै खुसी भएका छन् । मिलन दूध उत्पादक सहकारी संस्थाका अध्यक्ष रुक्माङगत पाठकका अनुसार कृषकहरूले उत्पादन गरेको दूध प्रशोधन केन्द्रमा सङ्कलन गरी दूधबाट बन्ने ध्यू, पनीर, दही, कुराउनी लगाएत दुग्घजन्य पदार्थ बनाउने लक्ष्य केन्द्रले लिएको छ ।
जिल्लाका तीनदोबाटे, थुमपोखरा, वालिङ् नगरपालिका लगाएका कृषकहरूले उत्पादन गरेको दूध सङ्कलन गरेर प्रशोधन केन्द्रमार्फत प्रशोधन गरी बजारमा लगिने संस्थाले जनाएको छ । संस्थाले अहिले दैनिक ३ सय लिटर दूध सङ्कलन गरेर बजारमा विक्री वितरण गर्दै आएको अध्यक्ष पाठकले जानकारी दिए । सो अवसरमा पशुसेवा केन्द्र वालिङ्का प्रमुख देवकुमारी श्रेष्ठ, प्राविधिक सुशील अर्याल लगायत १६ जना उत्कृष्ट दूध उत्पादक कृषकलाई सम्मान गरिएको थियो ।

प्रतिक्रिया